सैंजु वृद्धाश्रम भवन उद्घाटन

सैंजु वृद्धाश्रम भवन उद्घाटन


2o ck pic
रूपन्देही/ बुटवल–४ पाखापानीमा रहेको सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु वृद्धाश्रम भवनको एक समारोहबीच विधिवत् उद्घाटन गरिएको छ । संस्थापक सभापति समाजसेवी गणेशमान सैंजुको अध्यक्षतामा सोमबार सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुक्तिनाथ धाम पीठाधीश ब्रह्मनिष्ट श्री १००८ स्वामी लोकानन्द महाराजजीले पाका पुस्ताले देखाएको मार्गदर्शन गर्दै आजका युवापुस्ताले भविष्यमा सकारात्मक काम गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् पूर्वराजदूत डा. मोहनमान सैंजुले समाज रूपान्तरणमा वृद्धाहरूको पनि अहम् भूमिका रहेको बताउँदै आफ्ना लागि मात्र नभई समाज र राष्ट्रका लागि पनि केही उदाहरणीय काम गर्नुपर्ने प्रस्ट्याउनुभयो ।

भवन उद्घाटन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले अबको आवश्यकता भनेको हरेक क्षेत्रहरूमा सुविधासम्पन्न वृद्धाश्रम खोलिनुपर्ने बताउँदै वृद्धाहरूको अनुभव, ज्ञानसीपको राज्यले उपयोग गर्दै हरेक क्षेत्रमा उनीहरूको सम्मान हुनुपर्ने बताउनुभएको थियो ।

सो कार्यक्रममा स्थानीय विकास अधिकारी युवराज सुवेदी, २२ नं. बाहिनी अड्डाका बाहिनीपति कर्मजंग लिम्बू, संरक्षक पूर्णबहादुर थापा, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमलगायतले मन्तव्य दिएका थिए ।

सुविधासम्पन्न नवनिर्मित उक्त १२ कट्ठा क्षेत्रफलमा रहेको भवनमा अहिले २० जना वृद्धा राख्ने क्षमता रहेको छ । उक्त भवन करिब ५१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । समितिले भवन निर्माणमा सहयोग गर्ने विभिन्न चन्दादाता, आजीवन सदस्य, विभिन्न सङ्घसंस्थाहरूलाई दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरेको थियो । उक्त नवनिर्मित १३ कोठे दुुईतले भवनमा अहिले १० जना वृद्धा रहेका छन् ।

– चन्द्रकान्त खनाल