पूर्वयुवराज्ञीद्वारा धर्मशालाको शिलान्यास

पूर्वयुवराज्ञीद्वारा धर्मशालाको शिलान्यास


Himani-In-Parasi
परासी/ पूर्वयुवराज्ञी हिमानी शाहले नवलपरासीका विभिन्न शक्तिपीठहरूको अवलोकन र पूजापाठ गर्दै धार्मिक व्यक्तिहरूसँग भेटघाट गर्नुभएको छ । गत सोमबार बिहान र्‍यालीसहित नवलपरासी आइपुग्नुभएकी पूर्वयुवराज्ञी शाहले कुडिया गाविस–१ मा पर्ने जोगियाभार मन्दिरमा पूजा गरी त्यहाँ निर्माण गर्ने योजना बनाइएको चारकोठे धर्मशाला भवनको शिलान्यास गर्नुभयो । शिलान्यासलगत्तै मन्दिर व्यवस्थापन समितिका सचिव कमलेश गुप्ताले समितिको तर्फबाट पूर्वयुवराज्ञी हिमानीलाई नागरिक अभिनन्दन–पत्र बुझाउनुभएको थियो ।

सोही दिउँसो प्रतापपुरको बेलाटारीमा पूर्वयुवराज्ञी शाहलाई एक औपचारिक कार्यक्रमबीच स्वाभिमानी एकता नेपाली नागरिक समाज प्रतापपुर–४, बेलाटारीका संयोजक अजयबहादुर शाहीले सम्पूर्ण नागरिकको तर्फबाट देशमा बिग्रँदो अवस्था भएको उल्लेख गर्दै आमनागरिक मर्माहत भएको जानकारी गराएका थिए । यसपूर्व पूर्वयुवराज्ञी हिमानी शाहले नेपालको प्रमुख धार्मिक धरोहरमध्ये एक रहेको त्रिवेणीको शिवालयघाटमा स्नान तथा मन्दिर दर्शन गर्दै गजेन्द्रमोक्ष धाममा पुगी पूजाआजा र मन्दिरको अवलोकन गर्नुभयो । सो अवसरमा गजेन्द्रमोक्ष धामका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्यले धामको धार्मिक अध्यायबारे जानकारी गराउँदै पूर्वयुवराज्ञी शाहको स्वागत गर्नुभएको थियो । सो अवसरमा त्रिवेणी क्षेत्रका ठूलो सङ्ख्यामा नरनारी र आश्रमका विद्यार्थीको उपस्थिति रहेको थियो ।

– आरपी उपाध्याय