‘सुनुवाइ नभए सबै नाका बन्द’

‘सुनुवाइ नभए सबै नाका बन्द’


:: राजेन्द्र महतो ::
Mahato

० देशकै लागि चिन्ता र टाउकोदुखाइको विषय बनिरहेको बन्द सीमानाका खोल्न तपाईं अस्वाभाविक रूपले तत्पर देखिनुभयो नि, किन होला ?
– वीरगञ्जको सीमानाका त्यहाँका स्थानीय जनताले खोलेका हुन्, खोल्न सहयोग गरेका हुन् । यसका लागि त्यहाँका स्थानीय जनतालाई धन्यवाद छ ।

० स्थानीय जनताले खोले भन्नुभयो, तर तपाईं बिहार गई त्यहाँका नेताहरूसँग भेट गरी आएपछि नाका खोल्नुपर्ने धारणा राख्नुभयो र नाका खुलेको होइन र ?
– यसमा कुरा के छ भने आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्छ भन्ने सोच मोर्चाभित्र हामीले केही अघिदेखि नै बनाएका थियौँ । किनकि, हाम्रो माग पूरा गराउनका लागि नेपाल सरकारलाई दबाब दिन सबै नाका बन्द गराउनुपर्ने सोचका साथ हामीले आन्दोलनको एउटा स्वरूप ‘नाकाबन्दी’ सुरु गरेका थियौँ । तर, विभिन्न कारणवश सबै नाका बन्द गराउन सकिएन । यसरी सबै नाका बन्द गर्न नसक्दा सरकारलाई हामीले सोचेको र चाहेजस्तो दबाब पुग्नै नसकेको अनुभूति हामीले गर्‍यौँ । जसलाई अप्ठ्यारो पार्न खोजिएको हो– उसले अप्ठ्यारो फिल नगर्ने, फगत आमनागरिक र खासगरी तराई–मधेसका जनताले मात्र विविध किसिमका कठिनाइ व्यहोर्नुपर्ने परिस्थिति सिर्जना हुन पुग्यो । यति मात्र नभई तस्करी र कालोबजारीमा संलग्नहरू मालामाल बन्ने र जनताले चाहिँ अभाव र महँगीमा दिन गुजारा गर्नुपर्ने अवस्था देखियो । हाम्रो चाहना जनतालाई दु:ख दिने नभई समानता र सम्मानको हक प्राप्त गर्नु रहेको भन्ने त प्रस्टै छ । यस्तोमा सके सबै नाका बन्द गर्नुपर्छ, होइन भने एउटा नाका मात्र रोकेर कुनै उपलब्धि हासिल हुँदैन भन्ने बोध गरियो । यस सोचका साथ मैले कि सबै नाका बन्द गरौँ होइन भने वीरगञ्ज नाका पनि खोलौँ, यसरी त पुग्नुपर्ने तहमा दबाब पुगेन भन्ने धारणा सार्वजनिक गरेको हुँ । यसअघि नै मोर्चाको बैठक बसेर आन्दोलनको स्वरूप परिवर्तन गर्ने सोच त हामीले बनाइसकेकै थियौँ ।

० तर, बैठक बसेर औपचारिक निर्णय नै हुन नपाई नाका खुल्यो, यसबाट हामीले के बुझ्ने ?
– ठीकै छ नि, के भयो त ? त्यो दिन हाम्रो बैठक बस्नुपर्ने थियो, कारणवश बस्न सकेन । बैठकले निर्णय गरेपछि औपचारिक प्रक्रियाबाट नाका खुलेको सन्देश प्रवाहित हुन सकेको भए राम्रो हुन्थ्यो । त्यही दिनबाट खोल्ने भन्ने हाम्रो मानसिकता त छँदै थियो, तर विराटनगरबाट आउँदाआउँदै म पनि ढिलो भएँ, स्थानीय जनता अलिक हतारिएर अघि सरे, उहाँहरूलाई साधुवाद नै छ ।

० मधेसकै जनता पनि तपाईंहरूको आन्दोलनको समर्थनमा रहेनछन् भन्ने सन्देश दिएन र यस घटनाले ?
– त्यस्तो होइन । मधेसी जनता आन्दोलनको पक्षमा नभएका भए यति लामो समय कसरी आन्दोलनले उचाइ लिइरहन सक्थ्यो ? त्यत्तिका मधेसी जनताले के लहडमा सहादत दिएका हुन् ? मधेसी जनता यसपटकको मधेस आन्दोलनका कारण आफ्नो अधिकारबारे अझै सचेत भएका छन् । सदियौँदेखि हेपिएर, अपमानित भएर रहेका मधेसी जनता अब आफ्नो पूरा हक हासिल नगरी नछोड्ने मानसिकतामा पुगेका छन् । हाम्रो आन्दोलन जारी नै छ, वीरगञ्ज नाका खुल्नुको मतलब यो होइन कि हामीले आफ्नो अधिकारप्राप्तिको लडाइँ नै छाड्यौँ ।

० वीरगञ्ज नाका भारतले खुलाएको भन्ने टिप्पणी पनि सुनिन्छ नि, यो सही नै हो भनेर बुझ्न सकिन्छ ?
– नाका बन्द गरेको मधेसी मोर्चाले हो । मधेसी मोर्चाको निर्णयअनुसार बन्द भएको नाका कसरी भारतले खोल्ने ? त्यो त मधेसी मोर्चाकै इच्छाअनुसार खुलेको हो नि । जनताको भावनाअनुसार आन्दोलनको स्वरूप परिवर्तन गर्ने त हामीले भनेकै थियौँ । मधेसी जनताले एक–डेढ महिनाअघिदेखि नै सुझाव दिएका थिए कि यसरी भएन, आन्दोलनको स्वरूप फेर्नुपर्छ, शक्ति सञ्चय गर्नुपर्छ । जनभावनाअनुसार नै नाका खुलेको हो । शक्ति सञ्चय गर्नकै लागि पनि यस्तो कदम चाल्नु आवश्यक थियो । यसमा भारत र अमूक–अमूक मुलुक या शक्तिलाई जोड्नु आवश्यक नै छैन ।

० आफूखुसी नाका खोल्ने निर्णय सार्वजनिक गरेर तपाईंले मधेस आन्दोलनमाथि नै कुठाराघात गरेको आरोप मोर्चाकै नेताहरूले लगाएका छन्, यसलाई चाहिँ कसरी लिनुभएको छ नि ?
– मधेस आन्दोलनप्रति म कति निष्ठाभावले समर्पित भएको छु भन्ने आममधेसी जनताले राम्ररी बुझेका छन् । आन्दोलनको मैदानमा अनेक शारीरिक कष्ट झेलेर म होमिएको साराले देखे–बुझेको कुरा हो । जहाँसम्म नाका खोल्ने आफूखुसी निर्णय गरेको आरोपको सवाल छ, आन्दोलनको स्वरूप फेर्नुपर्छ भन्ने कुरा निकै अघि नै मोर्चाको बैठकमा उठेको हो र मोर्चामा भएको छलफलअनुसार मोर्चाका अन्य नेताहरूले पनि यो कुरा विभिन्न फोरमहरूमार्फत सार्वजनिक गर्दै आएकै हुन् । हामीले नाका खोल्ने औपचारिक निर्णय लिने दिन नै जनताले नाका खोल्न सघाए त मेरो के दोष ? राजनीतिक मैदानमा ओर्लिसकेपछि यस्ता आरोप वा लाञ्छना त अनेक लाग्न सक्छ, यसप्रति धेरै टाउको दुखाउनु आवश्यक छैन जस्तो लाग्छ ।

० पटनामा तपाईंले भाजपाका एक प्रभावशाली नेता सुशील मोदीसँग भेट गर्नुभएको, मोदीजीकै सुझावअनुसार नाका खोल्न तयार भएको र नाका खुलाइएको जस लिन पनि तपाईं व्यक्तिगत रूपमा हतारिएको चर्चा यत्तिकै चलेको होला त ?
– म पटना जानुभन्दा निकै अघि नै आन्दोलनको स्वरूप परिवर्तन गर्ने सहमति भएको हो र मैलेभन्दा अघि नै अन्य नेताहरूले यसबारे सार्वजनिक अभिव्यक्ति दिनुभएको हो । यो कुरा त घामजत्तिकै छर्लङ्ग छ नि । यहाँ त जे कुरा पनि भारतसँग जोडिदिने रोग नै लागेको छ । नाकाबन्दी पनि भारतले गरेको भनेर दुष्प्रचार गरिएकै थियो ।

० प्रधानमन्त्री केपी ओलीलाई छिटो गरी भारत भ्रमण गराउन भारतले नै नाका सुचारु गराएको दाबी गर्नेहरू त प्रशस्तै छन्, तपाईं यसलाई पनि झुटो मान्नुहुन्छ ?
– हो, यस्तै मानसिकताको विरुद्ध हामीले लडाइँ लड्नुपरेको हो । मधेसी देख्नेबित्तिकै भारतीय भनिहाल्ने, मधेसको आन्दोलनलाई भारतीय आन्दोलन भन्दिने, मधेसको नाकाबन्दीलाई भारतको नाकाबन्दी भनिदिने † यो दुर्भाग्यपूर्ण अवस्थाबाटै मुक्ति चाहेको हो क्या नेपालले । मधेसी जनता आफ्नै देशका नागरिक हुन्, यिनको समस्याको समुचित सम्बोधन गर्नु नेपाल सरकारको दायित्व हो भन्ने भाव नै पैदा नभएपछि मधेस र मधेसी आक्रोशित नभइरहन कसरी सक्छ ? मधेसका मुद्दालाई अरूसँग जोडेर मधेसका समस्या कार्पेटमुनि दबाउन खोज्नु कहाँसम्मको बुद्धिमानी हो ? समस्यालाई ढाकछोप गरेर होइन सम्बोधन गरेर मात्र हल गर्न सकिन्छ र समाजमा शान्ति स्थापना हुन्छ भनी यहाँका शासकहरूले किन बुझ्न नसकेका ? हाम्रो प्रश्न नै यही हो । मैले त प्रधानमन्त्री ओलीजीलाई अस्ति पनि भनेँ कि ओलीजी, मानसिकता बदल्नुस् । मानसिकता नबदलेसम्म मुलुकको समस्या समाधान हुँदैन । यो पनि मैले प्रस्ट्याइदिएँ कि हामी सबै नाका बन्द गरिदिन सक्छौँ, यसका लागि केही शक्ति सञ्चयको आवश्यकता छ । अब हामीलाई शक्ति सञ्चय गरी सबै नाका बन्द गराउन उक्साउने कि समस्या हल गरेर अघि बढ्ने ? फैसला सरकार या शासकहरूकै हातमा छ । तत्काल नसकौँला, तर यही रवैया कायम रहे पूरा तयारी गरेर हामी चारैतिरको नाका बन्द गर्न विवश हुनेछौँ । हामी आफ्नो आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन कटिबद्ध छौँ ।

० तपाईं वीरगञ्ज नाका खोल्ने सोचकै कारण खुलेको दाबी गरिरहनुभएको छ, तर स्थानीय जनताले नाका खोलेपछि फेरि मोर्चाका कतिपय नेता–कार्यकर्ता सीमा बन्द गर्न पुगेका थिए नि ?
– मोर्चाको केन्द्रीय निर्णयको प्रतीक्षामा रहेका स्थानीय साथीहरू त्यसरी जानुभएको होला । यसमा के अन्यथा भयो र ?

० दोहोर्‍याएर धर्ना दिन खोज्ने मोर्चाका नेता–कार्यकर्तालाई वीरगञ्जवासी एवम् भारतीय नागरिकले लखेटेको सन्दर्भलाई पनि अन्यथा नठान्ने कि कसो हो ?
– कुनै पनि घटनालाई अतिरञ्जना गरेर कसैले आत्मतुष्टि लिन खोज्छ भने भन्नु केही छैन । म प्रस्ट गर्न चाहन्छु कि हामी आन्दोलनमै छौँ, मधेसी जनता पनि अधिकार नपाएसम्म आन्दोलनबाट पछि हट्ने मूडमा छैनन् । एक–दुई महिना लाग्ला, तर यसबीच माग सम्बोधन हुँदैन भने हामी पूरा तयारी गरी सबै नाका बन्द गर्नेलगायत थप आन्दोलनको कार्यक्रम अघि सारेर अघि बढ्न बाध्य हुनेछौँ, हामी रोकिने छैनौँ ।