मधेशी मोर्चाले किन गर्‍यो आन्दोलनसँग खेलवाड ?

मधेशी मोर्चाले किन गर्‍यो आन्दोलनसँग खेलवाड ?


Upendra Jha
:: उपेन्द्र झा ::

तराई–मधेशमा ६ महिनादेखि चल्दै आएको मधेश आन्दोलन बिना निष्कर्ष २५ गते मोर्चाले फिर्ता लिएको छ । सरकारसँग न कुनै वार्ता, न कुनै अनुबन्ध, पारस्परिक झगडाका कारण मधेश आन्दोलनका बन्द र नाका छेकवारका कार्यक्रम फिर्ता भएको छ । संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सद्भावना पार्टी तथा सद्भावना पार्टी सम्मिलित मधेशी मोर्चाको अगुवाईमा चलि रहेको मधेश बन्द आन्दोलन उत्कर्षमा पुगेर निर्णायक बनेको थियो । राष्ट्रिय अन्तर्राष्ट्रिय समर्थन पाएर आफनो माँग सुनिश्चित हुने बेलामा जहाँ बिहारका तथा भारतका केन्द्रीय नेताहरूको पूर्ण समर्थन प्राप्त रहेको बेला तथा मधेशी मोर्चाले सरकारलाई अन्तिम धक्का दिन महा गठबन्धन बनाउन तयार भएको समयमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई कार्यवाही गर्ने बून्दासहितको बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता लिने मधेशी मोर्चाको निर्णयबाट मधेशी मोर्चा फुटि सकेको स्पष्ट भएको छ ।

चारजना एक ठाउँमा बस्न नसक्ने मधेशी मोर्चाका नेताहरूको चारित्रिक विशेषता रहेकोले महागठबन्धनको कुरा त असम्भव थियो नै । तर भारतले सहयोगको सबल बैशाखी प्रदान गर्दा मधेशलाई एउटा झिनो आशा पालाएको थियो कि महागठबन्धन बनाउन मधेशी मोर्चा सफल होला । तर नेताका आवरणमा मधेशलाई भ्रमित पार्न आएका यी अगुवाहरू त तल्लो श्रेणीका ठेकेदार नै साबित भएका छन् । आफनो क्षेत्रमा एकाधिकार पाएका । मधेशका ठेकेदार । ठेक्का पट्टामा सधैं स्वार्थलाभको गुणन गर्ने चरित्र, अधिकार आन्दोलनमा पनि होमिएका, आफनो राजनीतिक प्रतिष्ठाका लागि मधेशका निर्दोष जनतालाई आन्दोलनको नाममा गाजर, मूला जस्तै कटाउन प्रतिबद्ध देखिएका तर आफनो फायदाका लागि अधिकार आन्दोलनलाई निष्कर्षमा जान नदिने ठेकेदारहरूले अहिले चार दर्जनभन्दा बढि मधेशी सपूतलाई मारेर आन्दोलनलाई बिना निष्कर्ष समाप्त गरेका छन् ।
Madhesi-morcha
परिस्थिति अनुकूल रहँदा रहँदै मधेशी मोर्चाको यस्तो आत्मघाती निर्णय कसरी आयो ? आम जनता तथा कार्यकर्ता पंक्तिमा आशंका, आक्रोश, हीनताबोध, कुण्ठा आदि मिश्रित प्रतिक्रिया व्याप्त छ । सबै पार्टीका कार्यकर्ताहरूले आफनै नेताप्रति आशंका व्यक्त गरि आफनो असन्तुष्टता पोखि रहेका छन् । आफनै आफनै स्तरको सोचको आधारमा प्रतिक्रिया व्यक्त भई रह्ँदा अभिव्यक्ति भने नकारात्मक नै देखिएको छ । के मधेशमा रहेको यस्तो प्रतिक्रिया राजनीतिक क्षेत्रमा कुनै अर्थ राख्दैन ? राख्छ भने मधेशले बडो मुश्किलले उठाएको आन्दोलनसंग मधेशी मोर्चा खेलवाड किन ग¥यो । यी विषय हुन, जसबारेको सत्य तथ्य जान्न मधेशका विद्वतवर्ग पनि आतुर छन् । तर जान्ने कसरी ? मधेश आन्दोलन हाँक्ने दुई प्रतिस्पर्धी नेता उपेन्द्र यादब र राजेन्द्र महतो बीच कार्यगत एकता भएपनि भावनात्मक एकता कहिल्यै भएन । दुई प्रवल महत्वाकाँक्षाबीच सधैं टकराहट रहि रह्यो । विभिन्न विचारबाट प्रभावित यी दुई व्यक्तित्व विगतमा पनि जुट्ने फुट्ने प्रक्रियाबाट नै गुज्रेका हुन् । तर पहिला सामान्य परिस्थिति थियो भने अहिले आन्दोलनको निर्णायक परिस्थितिमा यी दुई नेताको झगडाका कारण आन्दोलनका बन्द कार्यक्रम फिर्ता भएको छ ।

ओलीसंगको दुव्र्यवहार सहेर आन्दोलनलाई शिखरमा पु¥याउन राजेन्द्र महतोको अथक प्रयासलाई सबैले राम्ररी हेरि रहेको थियो । नाकाबन्द हुन नसकेको ठाउँमा राजेन्द्र महतो पुगी हाल्ने र नाका बन्द गरि फेरि अर्को ठाउँको यात्रा गर्ने आन्दोलनमा यसरी नै सक्रिय थिए राजेन्द्र महतो । सरकारमा उग्र स्वभावका केपी शर्मा ओलीको व्यवहारबाट अपमानित भएका राजेन्द्र महतो आन्दोलनमा उग्र रूपमा सक्रियता बढाएका थिए । सबै ठाउँमा समान किसिमका आन्दोलन होस् भन्ने हेतुले प्रयासरत राजेन्द्र महतो सफलता पाउँदै आन्दोलनलाई उँचाईमा पु¥याउन अथक सहयोग गरि रह्ँदा जोगबनी नाकामा प्रहरीको शर्मनाक दमनमा परि घाईते भएपछि सारा मधेश यो घटनाबाट आहत भएको थियो । मधेश आनदोलनसंगै आफनो उँचाई पनि बढि रहेको थियो ।

भारतमा उपचाररत राजेन्द्र महतोलाई भारतका राष्ट्रपति, विदेशमन्त्री लगायत सरकारका मन्त्रीहरू तथा अन्य ठूल्ठुला नेताहरू शीघ्र स्वास्थ्य लाभका कामना गर्न सहानुभूतिपूर्वक भेंटघाटमा आए । नेपालको मधेश आन्दोलनको औचित्य र सरकारको दुव्र्यवहारबारे राजेन्द्र महतोले आद्योपान्त जानकारी दिएपछि भारतपक्षलाई सबै कुराको जानकारी भयो । भारतलाई मधेश कित्तामा ल्याउन राजेन्द्र महतोको प्रयासलाई साधारण मान्न सकिन्न । त्यसपछिका दिनमा नेपाल सरकारमाथि मधेश आन्दोलनलाई सम्बोधन गर्न दबाव बढ्दै गयो । ओलीको भारत भ्रमणको नाटक असफल गर्न राजेन्द्र महतोको हाथ थियो । भारतमा राजेन्द्र महतोको बलियो पकड बनेकोले ओलीले राजेन्द्र महतोसंग भारतमै टेलिफोन वार्ता गरि तनावलाई तोड्ने प्रयास गरेका थिए । राष्ट्रलाई तपाईंको खाँचो छ भनेर ओलीको चापलुसी भाषा टेलिफोनमार्फत पाएपछि राजेन्द्र महतोलाई आन्तरिक खुशी हुनु स्वाभाविक थियो । भारतबाट स्वदेश फर्केपछिको स्वागत र मधेशको न्यानो सहानुभूति पाएर महतोको आसन उच्च रहेको जनमानसमा व्याप्त थियो ।

मुजफ्फरपुरमा नेपाल भारत मैत्री संघको सभामा महन्थ ठाकुरबाहेकका मधेशी मोर्चाका नेताहरू आमंत्रित थिए । सोही कार्यक्रममा नेपालको राजनीतिको बिहारका नेताहरूद्वारा ज्यूज्यान दिएर मधेश आन्दोलनलाई परिणाममुखी बनाउने प्रतिबद्धता जाहेर भई रहेको थियो । बिहारको जस्तै मधेशमा पनि महागठबन्धन बनाएर सरकारलाई दबाव दिने सुझाव आई रहँदा उपेन्द्र यादब र राजेन्द्र महतो हर्षित नै देखिएका थिए । लालू यादब र नितिशलाई भेट्न रघुवंश सिंहले (आरजेडीका उपाध्यक्ष) मोर्चाका नेताहरूलाई पटना आउन निम्तो दिएपछि उनी पटना गएर सहयोगको राम्रो आश्वासन पाएका थिए । दिल्ली र बिहारको भ्रमणमा नेताहरूको ध्यान रहेकोले आन्दोलनमा शिथिलता आउनु स्वाभाविकै थियो । बीरगंज नाकाबाहेक सबै नाका खुल्ला रहेकोले बन्दको औचित्य नै समाप्त भएको अनुमान गर्न सकिन्थ्यो ।

आन्दोलनमा महतोको राजनीतिक उँचाई बढ्दै गएको र संघीय समाजवादीमा फोरम नेपालमा असन्तुष्ट कार्यकर्ताहरूको पलायन, केन्द्रस्तरका नेताहरूमा नेतृत्वको आलोचना विषय लिएर चरम असन्तुष्टिका कारण पार्टी आन्दोलनभन्दा आन्तरिक कलहमा फँसेको अवस्थाले राजेन्द्र महतोलाई हर्षित नै पारि रहेको वातावरणमा उच्च मनोवल र हीनताबोधको शिकार भएका नेताहरूबीच एक अर्कालाई डोमिनेट गर्ने व्यवहार शुरू भयो ।

भारतको केन्द्रीय नेताहरूमा उपेन्द्र यादबभन्दा राजेन्द महतोको बढि पकड रहेको यथार्थ सबैलाई अनुभव भई रहेको थियो । त्यसकारण नै ओली पनि राजेद्र महतोलाई फकाउन दिल्लीमा फोन गरेका थिए । नेपाल र भारतमा राजेन्द्र महतोको बढ्दो प्रभावले एकतिर मोर्चाको अरू नेतामा हीनताबोधको भावना बढि रहेको थियो भने राजेन्द्र महतोको दिमाग सातौं आसमानमा विचरण गरि रहेको थियो । परिस्थितिले राजेन्द्र महतोको वैलूनमा खुशीको हावा भर्दै गई रहेको थियो । सहनशीलताको विन्दुलाई पार गर्दै विस्फोटको आशंकाबाट सजग रह्न मोर्चाका नेताहरूलाई मैले २२ गते शुक्रवार फेसबुक मार्फत यसरी सुझाएको थिएँ–“सम्हलो….सम्हालो….मधेशी मोर्चा ? आन्दोलनका कोई विकल्प नहिं है…. आन्दोलन की श्रृँखला जहाँ से टूट गई है….जोडो…और बढो……प्रगतिपथ पर । क्योंकि मोर्चा के एक घटकका और ओली की नाका खुल्ने की अभिव्यक्ति को जोडकर मसालेदार समाचार अनलाईन मिडिया पर भरमार छाया हुआ है….सम्हलो ।”

सबै नाका खुल्ला छ भने बीरगंज नाकापनि खोल्दिनु पर्छ भन्ने राजेन्द्र महतोले दिएको अभिव्यक्तिको आशय के ? आन्दोलनको प्रमुख घटकको रूपमा रहेका सद्भावना अध्यक्ष राजेन्द्र महतोले यो प्रश्न कसलाई सोधेका होलान् । आन्दोलनको हीरोको रूपमा विकसित राजेन्द्र महतोले आन्दोलनको शिथिलताबारे मोर्चाको बैठक डाकी समीक्षा गर्नु पर्दथ्यो । राजेन्द्र महतोको हिटलरी अभिव्यक्तिले मोर्चालाई मात्र तोडेन, मधेश आन्दोलनलाई नै तहस नहस बनाई सरकारलाई फायदा पु¥याउनुको अर्थ के ? दुई नम्बरमा उपेन्द्र यादवले राजेन्द्र महतोमा पलाएको अहंकारलाई बडो नरम ढंगले मोर्चाको निर्णयमा उपयोग गर्नु पर्दथ्यो । राजेन्द्र महतोको डोमिनेशनलाई सहजै स्वीकार गरेर कसलाई फायदा भयो ? यति विश्लेषण गर्न नसक्ने खोपडीको के काम ?

आफूसंग जेजस्तो छ त्यसैलाई काम लाग्ने बनाउने उद्देश्यले मधेशले नेतृत्वको प्रखरता विकिसित गरि रहेको बेला नेताहरू प्रयोगशालामै टूटेर नष्ट भएका छन् । राजेन्द्र महतोको उच्च महत्वाकाँक्षाले उँचाईमा रहेको महतो छविलाई धूल धुरसित पारि दिएको छ । महतो आसमानबाट धरतीमा पछारिनु कुनै चिन्ताको विषय होईन, मधेश आन्दोलनको उँचाईलाई राजेन्द्र महतो र उपेन्द्र यादबले धूलमा मिलाए त्यो भने ठूलो चिन्ताको विषय हो ।
मधेश आन्दोलनलाई आफनो आफ्नो नाममा रजिस्ट्रेशन पास गराउने उपेन्द्र यादब र राजेन्द्र महतो अहिले गद्दारको रूपमा मधेशमा परिभाषित भई रहेको छ । मधेश आन्दोलनलाई सशक्त बनाउने र यसको उँचाई दिलाउने मधेशका निमुखा वीर सपूत नै हुन् । आ–आफ्नो स्वार्थका कारण मधेश आन्दोलनलाई धूलमा मिलाउने गद्दार नै मधेशको शत्रुको रूपमा अहिले चित्रित भएका छन् । यस्ता गुणस्तरहीन जन्तुमा नेतृत्व विकासको प्रयोग मधेशले अब बन्द गर्नु पर्छ, होइन भने यस्ता गद्दारहरू निस्कि रहन्छ र मधेश पछाडि धकेलिंदै पुनश्च: गुलामको अवस्थामा पुग्छ ।