:: राजेश सिंह, नयाँदिल्ली ::
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हाल भारतको हनिमुन यात्रामा आफ्नी प्रिय धर्मपत्नी राधिकाको साथ रहे पनि उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मोहनीमा फसेका छन् । गत सोमबार आफ्नो ६५औँ जन्मदिन र बिहेको वर्षगाँठ मनाइरहँदा उनी पत्नी राधिकाभन्दा मोदीप्रति बढी वफादार बनेझैँ देखिन्थे । अर्थात्, उनलाई राधिकाभन्दा मोदीले नै बढी मोहित बनाएजस्तो लाग्थ्यो । अब जीवनको उत्तरार्धमा कुर्सीमा टिकिरहन राधिकाको नभई मोदीकै माया चाहिन्छ भन्ने कुराको हेक्का भएकैले होला उनी मोदीको माया पाइन्छ कि पाइँदैन भनी चिन्तित भएजस्ता देखिन्थे । उनी बारम्बार भेटेजति सबैलाई भन्दै थिए, ‘हामीबीचको सबै असमझदारी हट्यो, मेरो भ्रमण सफल भयो ।’ उनको भागभङ्गिमा हेर्दा लाग्थ्यो कि उनी ‘अब हामी एक–अर्कालाई धेरै माया गर्छौं, हाम्रो माया युगौँयुगसम्म चल्ने छ’ भन्ने कल्पना गरिरहेका छन् । ती सबै चर्तीकला देखेर पत्नी राधिका पीडा महसुस गरेर मनमनै भन्दै थिइन् होलिन् कि मलाई त धोका दियौ–दियौ, तर तिम्रो त्यो अन्धो राष्ट्रियतालाई चाहिँ किन तिलाञ्जली दिँदै छौ ? अर्कोतिर मोदीले भने, ‘हेर म त सधैँ समझदार नै थिएँ, तिमी केही असमझादर भएका थियौ । असमझदारी तिम्रो हट्दै छ र हटाउँदै पनि जाऊ । म त सधैँ भन्थेँ कि जाऊ संवाद गर र संविधान समावेशी बनाऊ । आज पनि म यही भन्दै छु, नासमझ त तिमी छौ ।’
हिन्दी सिनेमाको एउटा धेरै प्रख्यात डायलग छ, ‘समझ–समझ के समझ को समझो, समझ समझना भी एक समझ है । समझ–समझ के जो न समझे, मेरे समझ मे वो नासमझ है ।’ वास्तवमा प्रम ओली यस्तै ‘नासमझ’ हुन् जो बुझेर पनि बुझपचाइरहेका छन् । ओलीजी मोदीको मोहनीमा यति मन्त्रमुग्ध भए कि कहाँ–कहाँ धोती खुस्कियो थाहै पाएनन् । वास्तवमा मोदीको यो ‘फकाऊ अनि फसाऊ’को कूटनीति थियो । त्यो कूटनीति ओलीको समझभन्दा बाहिरको रह्यो । त्यसैले मोदीले माया गरेर ओलीलाई उल्लू बनाइदिए । ओलीलाई भ्रमणमा बोलाउन निम्तो दिने बेलादेखि नै कूटनीति सुरु भएको थियो ।
भनिन्छ, कुशल कूटनीतिज्ञले अङ्ग्रेजीको जम्मा २४ अक्षर मात्र पढ्छ, बाँकी दुई ‘एन’ र ‘ओ’ पढ्दैन । त्यसैले असल कूटनीतिज्ञले कहिल्यै पनि ‘नो’ भन्दैन । नेपालको प्रधानमन्त्रीका लागि प्रथम भ्रमण भारत हुनु र नहुनु उसको सफलता र असफलतासँग गाँसिएर हेर्ने गरिन्छ । ओलीका लागि पनि त्यही बाध्यता थियो । उनी प्रधानमन्त्री भएदेखि नै भारत भ्रमण गर्न आतुर थिए, तर भारतले संविधान संशोधनसहितको केही अरू सर्त राखेर ‘पहेँलो बत्ती’को सङ्केत दिइरहेको थियो, ‘नो’ भनिरहेको थिएन । सुरुमा संविधान बनाउने र प्रधानमन्त्री बन्दासम्म जति अनुदार बने पनि भारत भ्रमण गर्नकै लागि उनले एकतर्फी रूपमा भए पनि संविधान संशोधन गरे र सीमाङ्कन मिलाउन राजनीतिक संयन्त्र बनाए । आफ्नो इच्छा नहुँदानहुँदै उनले ती सबै एकतर्फी गरे, किनकि उनलाई मार्चमा चीन जानुपर्ने थियो र त्योभन्दा पहिला भारत ।
यता, भारत पनि नेपाललाई चीनको कोर्टमा जान दिन चाहँदैन थियो । किनभने चीनले नेपालसँग गर्ने सबै सम्झौता पूरा गरिदिन्छ । त्यसकारण, ओलीलाई भ्रमणमा बोलाउन राजी हुनुको मुख्य कारण थियो पहिला चीन जानबाट रोक्नु । चीनसँग कुनै ठूलो सम्झौता हुनबाट रोक्नु र अर्को संसद्को आउँदो सत्रमा विपक्षीले विदेश नीतिमाथि उठाउन सक्ने विरोधबाट बच्नु । यी सबै कारणले गर्दा भारतले ओलीलाई रुष्ट बनाउनुभन्दा माया गरेरै उल्लू बनाउने नीति लियो । अर्को कुरा, ओलीभित्र पलाएको अन्धराष्ट्रवादलाई पतन गराउन चाहन्थ्यो कि हेर तिमी जति भारतविरोधी कुरा गरे पनि आखिर आउने त भारत नै हो– ‘तुम तो मेरे हो सनम ।’ घरमा बोलाउने तर ढोकामा मान्छे राखेर तिमी किन आयौ फिर्ता जाऊ भनी विरोध जनाउने नीति लिइदियो भारतले ।
भारतलाई राम्रोसँग थाहा थियो कि ओलीजी हँसियाले घाँटी रेटेर बनेका ‘कसाई’ कम्युनिस्ट हुन् । मोदीलाई यो पनि राम्रोसँग थाहा थियो कि कम्युनिस्टहरूको जातीय धर्म हो– रातो रङ मन पराउनु । तर, उनले ठीक उल्टो–उल्टो गराएर थाहा नपाउने गरी अपमान गर्न लगाए । उनले स्वागत गर्न विमानस्थलमा उच्चस्तरको मन्त्री पठाए पनि ढोकाबाट निस्किनेबित्तिकै कालो रङको झन्डा देखाउन लगाइदिए । सधैँ लालसलामको अभिवादन थाप्न मन पराउनेलाई मुर्दावादको अभिवादन गर्न लगाइदिए । सधैँ ‘कमरेड’ भनेको सुन्न चाहनेलाई हत्यारा भन्न लगाइदिए र निम्तो दिएर घरमा बोलाएको पाहुनालाई ‘गो ब्याक’ भन्न लगाइदिए । मोदीले कम्युनिस्टको जातीय धर्मबाट खेलवाड गर्दासमेत नासमझ ओलीले त्यसलाई भव्य स्वागत ठान्न पुगे ।
यदि कुनै ज्ञानी व्यक्तिलाई कसैले उसको पूर्वजले पाएको सम्मानभन्दा बढी दिन खोज्छ भने उसले बुझ्छ कि ‘दालमे कुछ काला है’ । तर, प्रकाण्ड विद्वान् सम्मानार्थ पीएचडी डिग्री प्राप्त डा. केपी शर्मा ओलीले दिल्लीको जाडोमा ‘खेसरी’को दाललाई जिम्बुले झानेको कालो दाल सम्झेर खुब मीठो मानी खाए । अहिलेसम्म नेपालको सायदै कोही प्रधानमन्त्री होला जसले राष्ट्रपति निवासमा वास पाएको होस्, जो ओलीले पाए र आफ्नो सान–शौकत सम्झे । उनले सोच्न सकेनन् कि दाल त पूरै कालो छ भनेर । उनले सोचे– मैले मोदीको विशेष दूतलाई गरेको अपमान मोदीले सबै बिर्सेछन् । उनले सम्झे संविधानमा भएको सबै विभेदकारी व्यवस्थालाई मोदीले स्वीकार गरिसकेकाले मलाई राष्ट्रपति भवनमा आतिथ्य दिएर सम्मान गरे । तर, यहाँनेर पनि मोदीले ओलीलाई मूर्खहरूको सरदार बनाइदिए । उनले भेटघाटपछि प्रस्ट शब्दमा भनिदिए तिमीले बनाएको संविधानलाई स्वागत गरेका छैनौँ र तिम्रो संविधानको सफलता संवाद र समावेशिताबाट मात्र सम्भव छ र तिम्रो देशको समृद्धि समावेशिताबाट मात्र हुन सक्छ । मेरो मान्यता यही हो र तिमले यसलाई अनुशरण गरेमा मात्र समझदारी पुनर्जीवित हुनेछ । तर, ओलीले यसलाई बडो अनर्थ भावले अथ्र्याए र लाज पचाएरै भने हाम्रो असमझदारी ४० मिनेटको संसर्गबाट हट्यो । हामी दुवै मिल्यौँ, अब डिभोर्सको सम्भावना टर्यो । ओलीले यसरी आफ्नो धोती खुस्केको थाहै पाएनन् र संसर्गबाट पाएको आनन्दमै भुलिरहे ।
अपमानलाई सम्मान सम्झेर रमाइरहेका ओलीले भनिरहेका थिए कि म सपिङ लिस्ट लिएर आएको छैन भनेर तर सपिङ लामै गरे । सपिङ गर्न त गरे, तर सबै ‘हरेक माल’को खरिदारी मात्र भयो, न्यू एराइभल एउटा पनि किन्न पाएनन् । नौवटा सम्झौता भएको भए पनि भारत सरकारको विदेश मन्त्रालयको वेबसाइटमा सातवटाको मात्र उल्लेख भएको छ । अब, सम्पूर्ण स्वाभिमानी राष्ट्रवादी नेपालीले प्रश्न सोध्नुपर्छ कि बाँकी दुईवटा सम्झौता के–के थिए र ती किन सार्वजनिक गरिएन ? कतै आफ्नो कुर्सी टिकाउनका लागि राष्ट्रियता खतरामा पर्ने सम्झौता त गरेको छैन ? सम्पूर्ण राष्ट्रभक्त नेपालीले शङ्का गर्नुपर्ने बेला भएको छ ।
जति पनि सातवटा सम्झौता भएको भनी बाहिर आएको छ । त्यसमा एक–दुई महत्त्वहीन सम्झौताबाहेक सबै पहिले नै भइसकेको सम्झौता हुन् । जसको कार्यान्वयन कुनै न कुनै तरिकाले भई नै रहेको थियो । दुई सय ५० मिलियन अमेरिकन डलर दिने भनेको नयाँ सम्झौता होइन । यो मोदी पहिलोपटक नेपाल जाँदा दिएको सहयोग र सुष्मा स्वराजले दाता सम्मेलनमा दिएको सहयोगराशि हो । यो सम्झौता गरिरहनुको कुनै औचित्य थिएन । यसमा कसरी कुन क्षेत्रमा खर्च गर्ने भनेर सम्झौता गरिएको भन्ने छ जुन औचित्यहीन कुरा हो । अर्को सम्झौता हुलाकी राजमार्ग बनाउने हो । यो विषय धेरै सुनिरहने भएकाले यहाँ तर्क गरिरहनुपर्दैन कि नयाँ परियोजना होइन भनेर । त्यस्तै, विद्युत् प्रसारण लाइन त्यो पनि पुरानो परियोजना नै हो । जसमा तीनवटामध्ये एकको उद्घाटनसमेत गरेका थिए मोदी–ओलीले । त्यस्तै गरी विशाकापटनम बन्दरगाह सम्झौता, त्यसबारे यो पङ्क्तिकारले भनिरहनुपर्दैन कि यो आकाशको फल हो भनेर । किनभने यस सम्बन्धमा धेरै समाचार छापिइसकिएको छ नेपाली पत्रपत्रिकाहरूमा ।
त्यस्तै दुवै देशबाट चार–चारजनाको प्रख्यात व्यक्तिहरूको समूह बनाउने सम्झौता भएको छ त्यो पनि सन् २०१४ मै निर्णय भइसकेको विषय हो । यसरी हेर्ने हो भने ओलीलाई मोदीले केही पनि नयाँ दिएका छैनन् । सबै कुनै न कुनै बेला भइसकेको निर्णय हुन् । यसबाट पनि ओलीले आफ्नो भ्रमणको औचित्य पुष्टि कसरी गर्ने भनी सोच्नुपर्छ । यसलाई यसरी बुझ्नुपर्ने हुन्छ, बोलाउन मन नहुँदा नहुँदै बोलाएको पाहुनाको हालत यस्तै हुन्छ । खुवाउन त मोदीले ओलीलाई बासी भात नै खुवाए, तर पाहुनाले थाहा पाए पनि मीठो मानी खाओस् भनेर रामदेव बाबाको पतञ्जली शुद्ध घ्यूमा फ्राइड राइस बनाएर खुवाए । पहिले दिइसकेको परियोजनालाई चिल्लोचाप्लो घसेर दिए ।
जहाँ गए पनि एकातिर स्वागत गरे भने अर्कोतिर कालो झन्डा देखाउन लगाइदिए । तेहरी बाँध निरीक्षण गर्न देहरादुन जाँदा त्यहीँ कालो झन्डा देखाउन लगाइदिए । सोमबार नेपाली राजदूतावासको सय मिटर पर भारतीय विश्व मामिला परिषद्मा सम्बोधन गर्न बोलाउँदा छेउमै रहेको नेपाली राजदूतावासमा भारतीय नेता तथा कार्यकर्ताबाट मधेसको समर्थनमा नाराजुलुस गर्न लगाइदिए ।
ओलीले आफ्नो कुर्सीको आयु बढाउन नेपालीको भावनासँग समेत खेलवाड गरे । उनले दाबी गरे कि चार महिनाभन्दा बढी तथाकथित नाकाबन्दीले त्राहीमाम भएको नेपालीले अब बिर्सिसके । मोदी र इण्डिया नेपालीको मनमा फेरि बसिसके । नेपालीको हृदयमा मोदीप्रति त्यही सम्मान पलाइसक्यो जुन मोदी पहिलोचोटि नेपाल जाँदा पाएका थिए । अब फेरि नेपालमा ‘हरहर मोदी घर–घर मोदी’को नारा लाग्ने छ भनी चिप्लो घसे । यस पङ्क्तिकारलाई नेपाली जनतासँग सोध्न मन लाग्यो– के ओलीले दाबी गरेजस्तै साँच्चै नेपाली जनतामा मोदीप्रति सम्मानको भावना जागिसकेकै हो त ? नेपाली जनतालाई मोदीप्रति माया–प्रेम पलाएको पक्कै हो त ? कि ओलीले आफ्नो सत्ता लम्ब्याउने मोदीसँग झुटो बोलेको हो ?
समग्रमा ओलीको भ्रमणको विश्लेषण गर्ने हो भने के स्पष्ट हुन्छ भने मोदीले ओलीलाई फकाउ र फसाउको नीति अवलम्बन गरेका थिए, तर ओलीले यसलाई गुमेको प्रेममा पुनर्मिलन भएको अथ्र्याउन पुगे । मोदीले बोलाएर ढोकामा रातो रङले स्वागत गर्नुको सट्टा कालो रङ देखाइदिए । नयाँ कुनै सम्झौता गर्नुको सट्टा पुरानैलाई रङरोगन गरेर टारिदिए । मधेसी समुदायको सट्टामा भारतीयलाई नै नेपाली राजदूतावास घेर्न लगाए । यी सब घटनाक्रमलाई हेर्ने हो भने मोदीले के सन्देश दिन खोजेको हो भने हेर मेरो स्टेन्ड अझ त्यही हो जुन संविधान बनाउने क्रममा थियो । तिमीलाई बोलाएर सम्मान गरेर सम्झाउँदै छु, यतिबाट पनि बुझेनौ भने भारतीय जनता त अहिले तिम्रो राजदूतावास घेर्दै छन्, पछि के–के घेर्छन् आफैँ बुझ । यसरी ओली मोदीजीको मोहनीमा परेर केही दिन सम्मोहित बने पनि यथार्थमा चाहिँ ‘उल्लू’ बनेका पक्कै हुन् ।
प्रतिक्रिया