हरुवाचरुवाको सवाल :: बबिता बस्नेत

हरुवाचरुवाको सवाल :: बबिता बस्नेत


Babita Basnet 1
विश्वका धेरै मुलुकको इतिहासमा रहेको दास कुप्रथा नेपालमा चन्द्रशमशेरको पालामा अन्त्य भएको हो । सन् १९२० मा सती कुप्रथाको उन्मूलनसँगै चन्द्रशशमशेरले दास कुप्रथाको पनि उन्मूलन गरेका थिए । विश्वका सभ्य मानिने युरोप, अमेरिकालगायतका मुलुकहरूमा पनि दास कुप्रथाको अभ्यास थियो । अमेरिकाको इतिहासमा त झन् यसले निकै माने राख्छ । नेपालको इतिहासमा पनि घोषित दास कुप्रथा थियो । यस्तो प्रचलनको अन्त्य भएको करिब सय वर्ष पुग्न लाग्दा दास कुप्रथाका अनेक अवशेषहरू अहिले पनि हाम्रो समाजमा भेटिन्छन् । पश्चिम र सुदूरपश्चिमका कतिपय जिल्लामा कमैया र कमलरी यस्तै कुराको अवशेष थियो । सुदूरपश्चिममा हलियाहरू अहिले पनि मुक्तिको प्रयासमै छन् । पूर्वमा अर्को कुप्रथा छ, हरुवाचरुवा । प्रजातन्त्र, लोकतन्त्र हँुदै गणतन्त्रको अभ्यास गरिरहेको नेपालमा हरुवाचरुवाका नाममा मानिसहरू वर्षौंदेखि कुनै जमिनदारको घरमा काम गरिरहेका छन् भन्ने कुरा कति नेपालीलाई त थाहा पनि छैन । काम गरेर खानु नराम्रो होइन, तर अन्य कामदार र हरुवाचरुवाबीचको भिन्नता ठूलो छ ।

हरुवाचरुवा विशेष गरेर हाम्रो पूर्वीतराईमा कायम छ । जमिनदारको हलो जोत्ने र खेतको काम गर्नेलाई हरुवा भन्ने गरिएको छ भने उनीहरूका वस्तुभाउ चराउनेहरूलाई चरुवा भन्ने गरिन्छ । तराईका विभिन्न जिल्लामा रहेका हरुवाचरुवाहरूको आफ्नै खेतबारी छैन । बस्नलाई घर छ, तर पानी पर्दा डुबानमा पर्ने, हावा चल्दा हावाले उडाएर लान सक्ने । डगरका ससाना झुपडीमा धेरै हरुवाचरुवाको पुस्ता बित्यो, तर उनीहरूको स्थितिमा सुधार आउन सकेन । विगतमा हरुवाका छोराछोरी पढ्न पाउँदैनथे, अहिले पनि कतिले पढाउन पाएका छैनन् । उनीहरू सानामा खेल्दाखेल्दै बाबुआमासँग काममा पुग्थे । बाबु अर्काको हलो जोत्ने या खेतको काम गर्ने र आमा घर र खेतबारीको काम गर्ने देख्दै हुर्किएका ती छोराछोरीको दिनचर्या पनि पछि बाबुआमाकै जस्तो बन्थ्यो । अलिकति काम गर्न सक्ने भएपछि उनीहरू गाईबाख्रा चराउन थाल्थे । चरुवाको काम गर्दागर्दै हरुवा हुन पुग्थे । हरुवाचरुवाको इतिहास दु:खदायी छ । कतिपय हरुवाचरुवाहरू आफ्ना हजुरबुबाले लिएको ऋण चुक्ता गर्दागर्दै आफ्नो जिन्दगी बिताउँथे । हजुरबाउले कति ऋण लिएका थिए, बाबुले कति तिरे र आफूले कति तिरेँ भन्ने थाहै नपाई यो संसार छोडेर जाने हरुवाहरूको सङ्ख्याको गणना कसैले गरेन । अहिले पनि हाम्रो देशमा यसप्रकारका हरुवाचरुवा कुन जिल्लामा कति छन् भन्ने निश्चित तथ्याङ्क छैन ।

ऋणका नाममा जिन्दगी बिताउनेहरूले त बिताएकै छन् । ऋण नलिएका हरुवाचरुवाहरूले पनि आफूहरूले गरिरहेको कडा परिश्रमका अगाडि उचित ज्याला पाउन सकेका छैनन् । बाल्यकालदेखि नै अर्काको काम गरेर हुर्किएका हरुवाचरुवाको जीवन कामको चपेटामा बिते पनि बुढेसकालका लागि कुनै सुरक्षा हँुदैन । काम गरुन्जेल पेट पाल्न सक्ने उनीहरूको काम गर्न नसकेपछिको जीवन निकै कहालीलाग्दो बन्ने गरेको छ । पौष्टिक आहारको कमीले क्षयरोग लाग्ने कुरा केही समय अघिसम्म सामान्य थियो । अहिले क्षयरोगीको सङ्ख्या त घटिरहेको छ, तर अन्य स्वास्थ समस्या भने देखिने गर्छ । पुरुषहरूमा हाडजोर्नीको समस्या धेरै छ भने अर्काको खेतबारी र घरको काममा खट्ने महिलाहरू धेरैजसो पाठेघर खस्ने रोगको सिकार हुने गरेका छन् ।
haruwa charuwa
केही वर्षयता हरुवाचरुवाको जीवनमा खासै परिवर्तन नआए पनि उनीहरूका छोराछोरीहरू भने स्कुल जान थालेका छन् । छोराछोरीको शिक्षासँगै रोजगारीको खोजी अन्य धेरै नेपालीको झैँ चुनौती बनेको छ । मुलुकमा काम नपाएपछि हरुवाचरुवाका छोराहरू (छोरीहरू गएको पाइएको छैन) वैदेशिक रोजगारमा जान थालेका छन् । वैदेशिक रोजगारमा आफ्ना सन्तान पठाउनलाई उनीहरूलाई त्यति सजिलो छैन । आफूहरूले काम गरेकै जमिनदार या साहु–महाजनहरूबाट ऋण लिनुपर्‍यो । वैदेशिक रोजगारमा जानका लागि केही धितो राखेर ऋण लिउँ भने उनीहरूसँग न त जग्गाजमिन छ न त घर नै । त्यसैले विभिन्न मुलुकमा पुगेर छोराहरूले कमाइको पैसा ऋण र त्यसको ब्याज तिर्दातिर्दै कम मात्र बचत हुने गरेको छ । तर, सन्तानहरू वैदेशिक रोजगारमा जान थालेपछि तिनका बाबुआमाको आत्मसम्मानमा भने फरक परेको छ । दुई हप्ताअघि सप्तरीको मधुपट्टी गाविसका देवलाल रामले यस पङ्क्तिकारसँग कुरा गर्दै भनेका थिए, ‘पहिला–पहिला मालिकका छोराछोरीहरू ए…रे… भन्दै बोलाउँथे, अहिले अङ्कल भन्न थालेका छन् । मालिकहरूले गर्ने व्यवहार र बोलीचालीमा पनि फरक आएको छ । दुकानमा उधारो सामान लिन पनि सजिलो भएको छ, यसको छोरो विदेशमा छ, तिर्छ भन्ने गर्छन् ।’ छोराछोरी पढ्दै बढ्दै जाँदा बाहिरी संसारमा पुगेर काम गर्न सक्ने भएका छन् ।

तर, त्यहाँसम्म पुर्‍याउन भने गाह्रो छ । कतिपय हरुवाचरुवाले भने आफूले जोत्दै आएको जमिनदारले गाउँ छोडेपछि उनीहरूको जमिन जोत्न पाएका छन् । जमिनबाट आएको निश्चित बाली उनीहरूलाई दिएर अधियाँ या ठेक्कामा काम गर्नेहरूको सङ्ख्या पनि बढ्दै छ । यसको कारण आन्तरिक बसाइँसराइ हो । कति जमिनदारहरू छोराछोरीको पढाइ र जागिरसँगै काठमाडौंतिर लागे, कति सदरमुकामतिर त कति विदेश । उनीहरूको बसाइँसराइसँगै खेतबारी बाँझो रहने हुँदा कतिले बाँझै राख्नुभन्दा बरु उनीहरूले गरुन् भनेर छोडिदिएका छन । तर, यस्ता जमिनदारहरूको सङ्ख्या थोरै छ ।

हरुवाचरुवाको सीप भने पनि विज्ञता भने पनि आफूले जानेको कुरा खेतबारीको काम हो । वर्षौंदेखि तराईका खेतबारीहरू हरियाली बनाएर अन्न फलाएका उनीहरूको मुक्तिसँगै आफ्नै करेसाबारी र गरिखाने ठाउँ उनीहरूको आवश्यकता हो । सरकारले हरुवाचरुवाका विषयमा उपयुक्त नीति बनाएर उनीहरूका लागि विशेष कार्यक्रमहरू अघि सार्नुपर्ने देखिन्छ । हरुवाचरुवालाई मुक्ति दिलाउँदा कमैया मुक्तिको झैँ गल्ती दोहोर्‍याउनुहुँदैन । गिरिजाप्रसाद कोइरालाको कार्यकालमा कमैयालाई मुक्त घोषणा त गरियो, तर विकल्पको व्यवस्था गरिएन । जसका कारण मुक्ति पछि उनीहरूको अवस्था झन् नाजुक हुन पुग्यो । त्यसैले विगतबाट यो पाठ सिकेर हरुवाचरुवालाई विकल्पसहितको मुक्ति आवश्यक छ । त्यो विकल्प भनेको उनीहरूको आफ्नै नाममा जग्गाजमिन, वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा, युवाका लागि रोजगारीको व्यवस्था र बालबालिकाका लागि उचित शिक्षा हो ।