कस्सिए सिटौला !

कस्सिए सिटौला !


sitaula
हालको संस्थापन पक्षबाट सभापतिको उम्मेद्वार बन्ने तयारीमा रहनुभएका महामन्त्री कृष्णप्रसाद सिटौलाले ‘रामचन्द्रजीले प्रधानमन्त्री बन्नका लागि पर्खिदिए उचित हुन्थ्यो’ भन्नुभएको छ । बेग्लै टिम बनाएर प्रतिष्पर्धामा होमिने गृहकार्य गरिरहनुभएका सिटौलामा पहिलो चरणको निर्वाचनमा कसैले पनि पचास प्रतिशत नघाउन नसक्ने विश्वास रहेको बुझिन्छ । त्यसैले पहिलो चरणको निर्वाचनमा जसरी भए पनि रामचन्द्र पौडेलभन्दा बढी मत आर्जन गर्ने र दोस्रो चरणमा देउवासँग भिड्ने कसरत सिटौलाले गरिरहनुभएको छ ।

प्रधानमन्त्री बन्नका लागि उपयुक्त नेता रामचन्द्र पौडेल भएको बताउँदै सिटौलाले घटना र विचारसँग भन्नुभयो– ‘देशहित र पार्टीहितसँग जोडिएका त्यस्ता अनेक कारणले गर्दा मैले सभापतिमा उम्मेद्वारी दिनुपर्ने अवस्था आएको हो । सिटौलाले भन्नुभयो– ‘संविधानको कार्यान्वयन अहिलेको मूख्य चुनौती हो, नेपाली काङ्ग्रेसको अगुवाइमा राष्ट्रिय एकताको खोजि पनि गर्नुपर्नेछ । पार्टीभित्र वृहत एकताको वातावरण निर्माण गर्नैपर्ने अवस्था छ ।’
त्यसोभए सभापतिमा उम्मेदवारी दिने निश्चित छ होइन त भन्ने हाम्रो जिज्ञाशामा उहाँले भन्नुभयो– ‘त्यो त निश्चित छ, कस्तो टिम बनाउने भन्नेबारेमा भने साथीहरूसँग छलफल चलिरहेको छ ।’

प्राप्त जानकारीअनुसार कृष्णप्रसाद सिटौला सुजाता कोइराला, गगन थापा, डा. मीनेन्द्र रिजाललगायतलाई समेटेर टिम बनाउने कसरत गर्दै हुनुहुन्छ । काङ्ग्रेसलाई निकटबाट अवलोकन गर्नेहरूले सुजाता र सिटौला एकजुट हुँदा उहाँहरूलाई करिव चार सय मत प्राप्त हुने अनुमान गरेका छन् ।