कांग्रेस नेतृत्वको लागि मतदान जारी

कांग्रेस नेतृत्वको लागि मतदान जारी


NC election (12)
नेपाली कांग्रेसको १३औँ महाधिवेशनको आज अन्तिम एवम् महत्वपूर्ण दिन हो । नयाँ नेतृत्वका लागि पार्टीका तीनै सभापतिका उम्मेदवार शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला आफ्नो समूहसहित निर्वाचनमा होमिएका छन् । आइतबार विहान ८ः०० बजेदेखि सुरु गर्ने भनिए पनि करिव ९ बजेदेखि सुरु भएको निर्वाचनमा पदाधिकारीसहित ६४ पदमा ३११ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । सभापतिका उम्मेदवारको तीनवटै समूहमा रहेका व्यक्तिको नाम सहितको सूची गोप्य रुपमा महाधिवेशन प्रतिनिधिलाई वितरण गरिएको पाइएको छ ।

सभापतिका उम्मेदवार पौडेल र देउवा समूहले पूरै ६४ जनाको नामसहितको सूची आफ्ना पक्षका मतदातालाई तथा सिटौला समूहले केही नाम खाली राखेर सूची वितरण गरेको महाधिवेशन प्रतिनिधिले जानकारी दिएका छन् । तीनै सूचीमा सभापति, महामन्त्री, कोषाध्यक्ष, खुला सदस्य, आरक्षण सदस्य र प्रदेश सदस्य सहितका नाम उल्लेख रहेको बताइन्छ । गोप्य रुपमा वितरण गरेको भनिएका ती सूची सार्वजनिक भएपछि सम्बन्धित समूहका तर सूचीमा नपरेका उम्मेदवार भने आक्रोशित देखिएका छन् । कतिपय उम्मेदवारले ती सूची भ्रामक भएको भन्दै आत्मसन्तुष्टि लिने प्रयास पनि गरेका छन् ।
NC election (14)
मतदान प्रक्रियालाई सहज र छिटो बनाउन नौ किसिमका मतदानपत्र, पाँच ब्लक र १३५ कक्षको व्यवस्था गरिएको छ । मतपत्र लामो र विभिन्न किसिमका भएकाले मतदान गर्न १५ देखि २० मिनेटसम्म लाग्ने गरेको मतदाताले बताएका छन् । केही मतदाताले नेताहरुलाई विश्वासमा लिने उद्दे्श्यले मोबाइलबाट आफ्नो मतपत्रको फोटो खिंचेको भेटिएपछि प्रहरीले अहिले त्यसमा कडाइ गरेको छ ।

मतदानका लागि राष्ट्रियसभा गृहको द्वारबाट प्रवेश गर्ने र महेन्द्र पुलिस क्लबबाट बाहिरिने व्यवस्था मिलाइएको छ । आइतबार नै प्रदेश नं ५ बाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राजनप्रसाद पन्तले उम्मेदवारी फिर्ता लिने समय गुज्रिसकेपछि फिर्ता लिएका छन्। यसअघि निर्वाचन कार्यतालिकाको समयभित्र शनिबार केन्द्रीय सदस्य का ६३ जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।