शिक्षित महिलाको मानसिकतामाथि झाँक्रीको प्रहार !

शिक्षित महिलाको मानसिकतामाथि झाँक्रीको प्रहार !


1 (1)
धरान/ नेकपा एमालेका युवानेतृ रामकुमारी झाँक्रीले तल्लो तहको संरचनालाई सचेत गराई माथिल्लो निकायसम्म पुर्‍याउनु नै आजको आवश्यकता र त्यो नै लोकतन्त्रको सुन्दरता रहेको बताएकी छिन् । १०६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार धरानमा आयोजित खुल्लासभामा प्रमुख अतिथिका रूपमा मन्तव्य दिँदै नेतृ झाँक्रीले यतिबेला महिलाहरूले सभामुखदेखि राष्ट्रपतिसम्मकै भूमिका निर्वाह गरिसके पनि उनीहरूले हुनेखाने महिलाको रूपमा हुँदा खाने महिलाको तस्बिर बदल्ने काम गर्न सक्छन् कि सक्दैनन्, प्रतीक्षाको विषय भएको बताइन् ।

दाइजोको नाममा मधेशमा ज्युँदै बुहारीलाई जलाइने र शहरमा पढेलेखेकै महिलाबाट छोरीको भ्रुण हत्या गर्ने काम हुनेगरेको उल्लेख गर्दै झाँक्रीले पैतृक सम्पत्ति छोराछोरीमा नसर्ने कानून बनेमा मात्र महिलाहिंसाको अन्त्य हुने तर्क गरिन् ।

कार्यक्रममा महिलानेतृ तथा समाजसेवीहरू श्रीमती सरला कायस्थ, श्रीमती श्यामा रेग्मीलगायतले हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व नभएसम्म महिलाहरु पछिपरिरहने दाबी गरे । समारोहबीच राजमिस्त्री काम गर्दै आएका धरान–११ निवासी सीता रोक्का राईलाई दोसल्ला ओढाई नगद र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । साथै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्त्रीरोग विशेषज्ञ डाक्टर मोहनचन्द्र रेग्मीलाई साथी अवार्डद्वारा सम्मान प्रदान गरिएको थियो भने कार्यक्रममा फुलबारी आमा समूह धरान–१५ का महिलाहरूले ‘सुधारिएका त्रुटीहरू’ नामक नाटकसमेत प्रदर्शन गरेका थिए ।

– मनिता चाम्लिङ