देउवाको विजयले दिएको सन्देश

देउवाको विजयले दिएको सन्देश


:: लक्ष्मीकान्त पौडेल ::Laxmikanta Paudel

नेपाली कांग्रेसको १३औँ महाधिवेशन सिङ्गो कांग्रेसमा उत्साह र ऊर्जा थप्दै पूरा भएको छ । सभापतिमा कांग्रेसका जुझारू र क्षमतावान् नेता शेरबहादुर देउवाको विजयले कांग्रेस मात्र होइन सम्पूर्ण लोकतन्त्रवादीहरूमा नयाँ उमङ्ग र जाँगर थपिएको छ । वरिष्ठ नेता देउवाले प्राप्त गर्नुभएको मतले कांग्रेसमा दुई गुटको अन्त्यको चाहना पूरा हुने प्रस्ट देखिएको छ । सबैलाई मिलाएर मुलुकको राजनीतिलाई जनताको पक्षमा लैजान सक्ने उहाँको क्षमता कांग्रेसको नेतृत्व तहमा देखिनेछ र त्यसको सकारात्मक प्रभाव स्थानीय तहसम्म पनि पुग्ने अपेक्षा गरिएको छ । कांग्रेसका पूर्वकार्यवाहक सभापति रामचन्द्र पौडेल छोटै समय भए पनि कांग्रेसको सर्वोच्च पदमा रहनुभएको तथ्यलाई ध्यान दिँदै उहाँसमेतको भूमिकाको उचित कदरबाटै शेरबहादुर देउवाको राजनीतिक सुझबुझको उचाइ अझ थपिने विश्वास पनि छ । यसका लागि सबै नेता तथा कांग्रेसजन पूर्वाग्रहबिना एक हुन पनि तयार हुनैपर्छ । आखिर विचार र जनताको हितमा लाग्नको निम्ति कांग्रेसका लागि कांग्रेस र लोकतन्त्र तथा बहुलवादीभन्दा अर्को नजिकको साथी कोही छैन भन्ने यहाँनेर मनन गर्नैपर्छ ।

अब कांग्रेसभित्र भागबन्डाको विवाद रहेन । योग्यता र जनप्रियताको आधारमा सबैलाई समेट्ने निर्विवाद प्रक्रियाले उच्च स्थान पाउने वातावरण सुरु हुनसक्ने भयो । यो कांग्रेसको विगतको सोचलाई परिवर्तन गर्ने मतदाताले दिएकोले ठूलो आदेश नै हो । प्रस्ट भन्नुपर्दा हिजो कतिपय स्थानमा पूर्वाग्रह र गैरराजनीतिक सोचको आधारमा क्षमतावान्लाई पछार्न कांग्रेसमा असक्षमहरूले अरूलाई यो वा त्यो आरोपमा कांग्रेसभित्रै दोस्रो दर्जाको जस्तो एकाध व्यवहार हुने गरेकोमा त्यो अवस्थाको पूर्ण अन्त्य भएको छ या हुने माहोल खडा भएको छ । क्षमतावान्, असल र क्रियाशीलताको आधारमा नै कांग्रेसमा हैसियत रहने प्रस्ट खाका आएको छ । त्यसलाई जोगाउने काम भने नवनिर्वाचित सभापतिको हो ।

मुलुकको दुर्गम तथा अविकसित स्थानको एक मध्यमवर्गीय परिवारमा जन्मनुभएका शेरबहादुर देउवाका लागि देशका गरिब र पिछडिएका क्षेत्रका समस्या र आवश्यकता आफ्नै आवश्यकता हुन् भन्ने तथ्य त उहाँको पूर्णसमावेशीकण र समानुपातिक आधारमा राज्यको मूलप्रवाहबाट बाहिरिएकालाई समेट्ने योजनाबाटै प्रस्ट हुन्छ । अर्कोतर्फ उहाँको पूर्वअनुभव, विदेशमा बसेर अन्तर्राष्ट्रिय राजनीतिको गहन अध्यायन गरी देशमा प्रयोग गरेको पक्ष आगामी दिनका लागि अझ उपयोगी हुने नै छन् ।

शेरबहादुर देउवाको विजयले अब कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना मात्र बढेको होइन, गिरिजाप्रसाद कोइरालाको पहिलो सरकारले देशको विकासमा दिएको योगदानजस्तै समयानुकूल थप योगदान दिएर महामानव बीपीले भन्नुभए जसरी नै विकासलाई गरिब र दुर्गम क्षेत्रका तथा पिछडिएका वर्गको हितमा प्रयोग गर्ने क्षमता र साहस कांग्रेसमा छ भन्ने सन्देश पनि जाने निश्चित छ । देशलाई लोकतन्त्र र समाजवादको माध्यमबाट विकास र त्यसको प्रतिफल गरिब जनतालाई दिलाउँंदै स्थायी शान्ति समाजको चाहना भएको तथ्य कसैबाट छिपेको छैन । त्यो पूरा गर्ने प्रतिबद्धता कांग्रेस सभापतिबाट पालना हुने र यसले देशको अग्रगामी रूपमा कायपलट गर्नेछ भन्ने विश्वास स्वत: थपिएको छ ।

बेरोजगारीको अन्त्य, सीप र स्वरोजगारी तथा रोजगारीको आवश्यकतालाई पूरा गर्न स्थानीय रूपामा नै जनतालाई सबल बनाउने कार्य कांग्रेसले जहिले पनि प्राथमिकतामा राख्नुपर्ने हो र त्यसमा अबको नेतृत्व सजग भएको सङ्केत आएका पनि छन् । अबको कांग्रेसको लक्ष्य भनेको विकास र समानताको पूर्ण फ्युजनबाट शान्तिको स्थापना र विगतका कम्युनिस्टहरूले जनतामा दिएका पीडाको अन्त्य गरी सपनामा होइन पौरखका साथ विपनामा बाँच्न सिकाउनु पनि हो ।

स्थानीय स्तरका कांग्रेसहरूको मूल्याङ्कन नेताको अघिपछि लागेको आधारमा होइन जनताको सुख–दु:खमा भिजेको आधारमा हुने परिपाटीको व्यवस्थित सुरुवात आवश्यक छ । कांग्रेसको शक्ति लामो समयसम्म गुटको आधारमा जनताको पक्षभन्दा आपसी विवादमा नै प्रयोग भएको त होइन भन्ने आशङ्काको अन्त्य पनि अब हुने पूर्ण विश्वास सबैले लिएका छन् र मतको प्याटर्नले पनि त्यो देखाएको छ । सभापतिलाई त्यसमा बढ्न बल पुग्ने अवस्थामा पुर्‍याएको छ । महाअधिवेशन सकिए पनि सिर्जनाका नयाँ चरण थालनीको सुरुवात गर्ने अवसर सुरु भएको छ ।

देशमा प्रशासनिक खर्चभन्दा विकास र अझ स्थानीय तहसम्मको विकास र त्यसको फाइदा स्थानीय रूपमा नै प्राप्त हुने अवस्थाको सिर्जना हुन पर्दछ । त्यसका लागि केही सूत्रहरूको प्रयोगसमेत अनिवार्य छ । यो पूरा गर्न दलाई पूर्ण रूपामा अझ एक बनाउनुपर्दछ र दल पूर्ण रूपमा सभापतिको नेतृत्वमा एक भएको अवस्थालाई आत्मसात् गरेर सबैलाई बिनासङ्कोच समेट्ने कार्यबाटै अब कांग्रेसको यात्रा सुरु हुनुपर्छ । जनताले र कांग्रेसहरूले अब कांग्रेसबाट नयाँ भविष्य र देशको सुनौलो अवसरलाई समाल्ने आशा गरेकामा अब कांग्रेस आफँै अझ बढी जीवन्त बन्न आवश्यक छ । क्रियाशीलता, युवाहरूको जाँगर र जोसको सदुपयोग तथा अग्रजहरूको अनुभवको सदुपयोग, उहाँहरूको उचित सम्मान र कांग्रेसको माध्यमबाट देश र जनताप्रति समर्पित हुने सबैको उचित सम्मान र कदर पनि महत्वपूर्ण छ । कांग्रेसलाई सही दिशा दिने भिजनका साथ कांग्रेसलाई अझ जनप्रिय कसरी बनाउने भन्नेमा सभापतिको भावना रहनु आफैँमा सकारात्मक हो ।

सिद्धान्तहीन गुट–उपगुटको पुरानो चक्करबाट कांग्रेस मुक्त पनि भएको छ । अब त्यसलाई सधैँका लागि अन्त्य गर्न व्यवस्थित काम भने गर्नुपर्ने हुन्छ । महाधिवेशन मानसिक एकताको महाधिवेशन बन्न सफल भएकोमा सबै कांग्रेसको यसमा उचित योगदान रहेको तथ्य भुल्न हुँदैन । वास्तवमा एकताले क्षमतावान्लाई माथि ल्याउँछ । नेताहरूले सबैका लागि निष्पक्षताका साथ औचित्यको आधारमा काम गर्ने वातावरण बन्दछ । त्यसैले अब क्षमतावान्मध्ये पनि अझ क्षमतावान्, इमानदारमध्ये पनि अझ इमानदार, क्रियाशील अग्रजहरू र युवा साथीहरूबाट नै देश र कांग्रेसको भविष्य सुरक्षित हुन्छ ।

कांग्रेसको अजय सिद्धान्तलाई व्यवहारमा उतार्न रणनीति बनाउँदै हाम्रो लक्ष्य, काम, देश र जनताको पक्षमा गर्नुपर्ने दायित्व, समाजको विकास समानता तथा रोजगारीसमेतको सम्बन्धमा के गर्ने भन्र्ने सवालमा अब पनि छलफल हुन आवश्यक छ । दलले लिनुपर्ने क्रियाशीलता, भ्रातृ सङ्गठनहरूको क्रियाशीलताजस्ता अहम् सवालहरूको समयमा सम्बोधन अबका चुनौती र सफलताका प्रमुख आधारमध्येमा पर्छन् । सहिद र उहाँहरूका परिवार, पीडित कांग्रेससमेतका भावनाहरूलाई समेट्नु कांग्रेसको पहिलो प्राथमिकतामा पर्नुपर्दछ ।

निरन्तर काम गरेका, कांग्रेसले आन्दोलन गरेका सबै मोर्चामा सक्रिय भएका, जेल–नेल खाएर आफ्नो कांग्रेसप्रतिको आस्थालाई उचो बनाएका, देशका लागि आफ्नो क्षमताको उच्चतम् उपयोग गरेका, इमानदार र क्षमतावान् तथा जनतासँग भिज्न सक्नेहरूको हातबाटै दलको उचाइ बढ्दछ । त्यस्तै विचारअनुसार दिनुपर्ने डेलिभरीमा निरन्तर छलफल र अन्तरक्रियाले कांग्रेस नीति र जनताप्रधान दल हो भन्ने तथ्य अरू प्रस्ट हुनेछ । काङ्ग्रेस सबै कांग्रेसको उत्तिकै अधिकार र माया भएको साझा घर हो भन्ने अब अझ राम्रोसँग स्थापित हुनेमा सभापति सजग हुनु सबैभन्दा सकारात्मक पक्ष हो । कांग्रेसमा देशको पूर्ण अनुहार सबै किसिमले देखिने अवस्थाको सिर्जनाबाटै देशलाई विकास, समानता तथा शान्तिको बाटोमा लग्न सकिनेछ ।

देशमा स्रोतहरू हुँदाहुँदै पनि अशान्ति र जनतालाई भ्रम बाँडेको कारण जनतालाई र जनतामा लोकतन्त्रविरोधीहरूले राम्रोसँग काम गर्न दिएनन् । अब जनतालाई सचेत गर्दै अवसरहरूको सिर्जना गर्ने बेला आएको छ । त्यो अवस्थालाई सबैको संलग्नता तथा विश्वासका आधारमा र क्रमश: काममा बदल्ने प्रण अहिलेको आवश्यकता हो । त्यसका लागि नवनिर्वाचित सभापति र सबै विजयी नेताहरूलाई बधाई छ ।