छोरी–ज्वाइँलाई बधाई दिँदै यसो भने विप्लवले

छोरी–ज्वाइँलाई बधाई दिँदै यसो भने विप्लवले


Biplov daughter 1
गत माघको पहिलो साता प्रेम विवाह गरेर घर छोडेकी छोरीलाई नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले फागुनको अन्तिम साता शुभकामनाका साथ बधाई दिएका छन् । छोरी सञ्जु चन्द र ज्वाइँ विनोद लुइँटेललाई बधाई तथा शुभकामना दिन उनले राजधानीमा एक विशेष कार्यक्रम नै आयोजना गरे । नेकपा माओवादीको सम्पर्क कार्यालय वानेश्वरमा आयोजित कार्यक्रममा वैवाहिक जीवनमा बाँधिएका दुई परिवारले भेटघाट तथा शुभकामना आदान प्रदान गरे भने उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले छोरी र ज्वाइँलाई सफल दामपत्य जीवनको शुभकामना र बधाई मात्र दिएनन्, राज्य पक्षबाट आफुहरूलाई जबर्जस्ती युद्धमा धकेल्ने षडयन्त्र भइरहेको खुलासा समेत गरे ।

आफ्ना छोरी–ज्वाइँको दाम्पत्य जीवनले सामाजिक परिवर्तनको अभियानमा भूमिका निभाउने दाबी गर्दै विप्लवले आफ्नो सिङ्गो परिवार परिवर्तनकारी आन्दोलनमा होमिएको बताए र विवाहपछि पनिे छोरी र ज्वाइँलाई अभियानमा संलग्न रहन आग्रह गरे ।
पार्टीका प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’, स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, पोलिटब्युरो सदस्य असारे काका, चर्चित माओवादी नेतृ उमा भुजेललगायत नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा उनले भने, ‘हामी युद्धमा जान चाहिरहेका छैनौँ, तर राज्य पक्षले एकतर्फी षडयन्त्र गरिहेको छ । देशमा यही स्थिति रहिरहे आजका युवाले विद्रोहबाट राज्यको षडयन्त्रलाई चिर्ने छन् ।’ उनले ‘हामी नेपाली जनताले गर्ने विद्रोहको नेतृत्व गर्न बाध्य हुनेछौँ’ भन्दै देश बनाउन युवापङ्क्तिलाई आग्रहसमेत गरे ।