बेलायती राष्ट्रिय महोत्सव-शाही विवाह

बेलायती राष्ट्रिय महोत्सव-शाही विवाह


लण्डन । यही २९ तारिख, विलियम र केटबीच हुन गइरहेको शाही विवाह, यूकेको राष्ट्रिय महोत्सवजसरी सम्पन्न हुँदैछ । सेन्टर लण्डनस्थित रेजेन्ट स्ट्रिटलगायत अन्य वैवाहिक रुटका स्ट्रिटहरुमा युनियनको झण्डाहरु क्तमवद्ध रुपमा झुड्याइसकिएको छ । स्वर्गीय डायनाकै तुलनामा लोकप्रिय बन्दै गएकी केटको जीवनमा अचानकै आउने व्यापक अनि आमूल परिवर्तनको प्रत्यक्षदर्शी हुन लाखौ लाख मानिसहरु ती सडकहरुमा लामवद्ध हुने पक्का गरिएको छ । एक मध्यम वर्गीय परिवारकी युवतीको जीवनको सोही मोडलाई आफ्ना मिडियाहरुमार्फत प्रत्यक्ष दर्शाउन संसारभरका मिडियाहरुले यही हप्ताको आखिरीदेखि लण्डनमा थुप्रिँदैछन् ।
बेलायतको इतिहासको तीस वर्षपछि राष्ट्रिय महत्वको साथ एकताको सन्दर्भ देखिन थालेको यस विवाहसम्वन्धी केही जानकारीहरु निम्न छन् –
० यूगोभ पोलका अनुसार, ठूलो प्रतिशतका ब्रिटिशहरुले केट मिडलटनको भाग्यसँग इर्ष्या गर्दैनन् ।
० आयरल्याण्डको रोमन क्याथोलिक चर्चका हेड कार्डिनल सिन ब्रेडी विलियम र केटको विवाहमा सहभागिता राख्दैछन् । यो पहिलो अवसर हो, यसलाई शान्ति प्रयासमा आइरिस चर्चबाट गरिएको एक सुझबुझ मानिएको छ र सर्वत्र स्वागत गरिएको छ ।
० शाही विवाहलाई प्रत्यक्षदर्शी बन्नका लागि मल र वरपरको सडकमा उभिने लगभग छ लाख दर्शकहरुलाई कोल्डस्ट्रिम गार्डस् ब्याण्डले विविध पप गीतहरुद्वारा मनोरञ्जन दिइने भएको छ । बकिम्घाम प्यालेसदेखि वेस्टमिन्स्टर एब्बीसम्मको रुटमा पाँचवटा शाही सेनाका ब्याण्डहरु तैनाथ हुनेछन् ।
० शाही विवाहकै खुशियालीमा यूकेका विभिन्न शहरहरुका विभिन्न व्यस्त सडकहरुमा स्ट्रिट पार्टीको आयोजना गरिने भएको छ । स्कटल्याण्डको इडिनबर्घमा १२ स्ट्रिट पार्टीको आयोजना गरिने भएको छ भने ग्लासगोमा आयोजना गरिन लागिएको एउटै पार्टी पनि सहभागीहरुको उदासीनताले गर्दा रद्द गरिएको छ । न्यू क्यासलमा सातवटा, मन्चेस्टरमा दशवटा, लिभरपुलमा पन्ध्रवटा र वर्मिंघाममा सोह्रवटा सडकहरु स्ट्रिट पार्टीका लागि बन्द गर्नका लागि अनुमति लिइसकिएको छ । त्रिपन्नवटा ब्रिस्टलमा, पैंतीसवटा ब्राइटनमा, तीसवटा कार्डिफमा र पाँचसयवटा लण्डनमा स्ट्रिट पार्टीहरु हुने भएका छन् । माथिको फिगरले उत्तर र दक्षिणबीचमा शाही सन्दर्भहरुउपर भिन्नता स्पष्ट रुपमा देखाएको छ ।
० अफगानिस्तानको हेलमण्ड प्रान्तमा मुख्य रुपले तैनाथ हुने आइरिस गार्डसकाहरुले रोयल वेडिङलाई सुरक्षित बनाउने भएका छन् ।-नीर, मेस