प्याराग्लाइडिङ गर्दै सदस्यसचिवले गरे यस्तो बाचा

प्याराग्लाइडिङ गर्दै सदस्यसचिवले गरे यस्तो बाचा


pyara (1)

– मनिता चाम्लिङ

धरान/ राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टले धरानमा प्याराग्लाइडिङ प्रतियोगिता गर्न आर्थिक सहयोगका लागि रातो किताबमा उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चौथो माउण्टेन स्पोर्टस फेष्टिवलअन्तर्गत शनिबार धरानमा आयोजित राष्ट्रियस्तरको प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसीप–२०१६ को समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्यको क्रममा उनले सो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रमस्थलमा प्याराग्लाइडिङबाट उडेर आएका विष्टले यसपटकको सातौं राष्ट्रिय खेलकुदमा प्याराग्लाईडिङलाई पनि समावेश गर्न सकिने बताए । उनले पर्यटन व्यवसायमा आधारित साहसिक खेल प्याराग्लाइडिङले आयआर्जनको राम्रो माध्यम हुने उल्लेख गर्दै बुढासुब्बा, पिण्डेश्वर, दन्तकाली लगायतका धार्मिक पर्यटनका नामले चिनिँदै आएको धरान अब साहसिक खेल प्याराग्लाइडिङको नामले समेत चिनिने बताए ।

यसैगरी कार्यक्रम संयोजक तथा एक्सट्रीम धरानका अध्यक्ष लेखमणि जिमीले धरानमा आफुहरूले खेल पर्यटनको रुपमा विकास गर्न यस प्रतियोगिताको आयोजना गरेको बताए भने प्याराग्लाइडिङ संघका केन्द्रीय सदस्य तथा स्काई एडभेञ्चर प्रा.लि. धरानका सञ्चालक रोशन अधिकारीले प्रतियोगिताले धरानलाई एडभेञ्चर धरानको रूपमा चिनाउन मद्दत पुर्‍याएको दाबी गरे ।

राष्ट्रिय खेलकुद परिषद तथा नेपाल ह्याण्डग्लाइडिङ एण्ड प्याराग्लाइडिङ संघको संयुक्त आयोजना, एक्सट्रिम धरान, बुढासुब्बा प्याराग्लाइडिङ प्रा.लि. र स्काई एडभेञ्चर प्रा.लि.को स्थानीय संयोजनमा सम्पन्न भएको सो प्रतियोगितामा ४० जना सोलो पाइलट र २० जना टेण्डम पाइलटले २ दिनमा २ सय उडान भरेका थिए भने टेण्डम पाइलटसँग धरान उप–महानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राई, वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडा, बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का धरान शाखा प्रमुख मानबहादुर विश्वकर्मा एवं घटना र विचार साप्ताहिककी धरान संवाददाता मनिता चाम्लिङलगायतले उडान भरेका थिए ।

सोलो प्रतियोगितामा पोखराका विजय गौतमले ४.५ अंकका साथ प्रथम उपाधि जित्न सफल भए । उनले सो उपाधिसँगै नगद २५ हजारका साथमा ट्रफी र प्रमाणपत्र समेत हात पारे । त्यस्तै पोखराकै सागर जलवारी ५.७ अंकका साथ दोस्रो तथा ५.९ अंकका साथ गौरव कट्टेल तेश्रो भए । उनिहरूले क्रमश: नगद १५ र १० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे । विजेता तथा प्रतियोगिताका टप टेनमा आउन सफल प्रतियोगीहरूलाई कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल ह्याण्डग्लाइडिङ एण्ड प्याराग्लाईडिङ संघका केन्द्रीय अध्यक्ष रुपनारायण श्रेष्ठले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए भने कार्यक्रममा नेपाल पाइलट एशोसिएसनका अध्यक्ष खुम गुरुङ, धरानमा पहिलोपटक परिक्षण उडान भर्ने सुरेन गुरुङ र विदेशी चाइनिज पाईलट लिहुलाई समेत सम्मान गरिएको थियो ।

धरान–२४ स्थित चिण्डेडाँडा (रमिते डाँडा) बाट टेकअफ गरिएको उक्त प्याराग्लाइडिङको अवतरण धरान–१७ स्थित प्रस्तावित एयरपोर्ट क्षेत्रमा गरिएको थियो । जसमा नेपाल लगायत चीन, रसियनका प्रतियोगीहरूले भाग लिएका थिए भने उनीहरूले निश्चित क्षेत्रभित्र राखिएको अण्डालाई फुटाएपछि विजयीहरूको छनोट गरिएको थियो । यसअघि प्रतियोगिताको उद्घाटन धरान उप–महानगरपालिका कार्यकारी अधिकृत टीकादत्त राईले पाइलट सुरेन गुरुङलाई टेण्डम ग्लाइडर प्रदान गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । पहिलोपटक धरानमा आयोजना भएको सो प्रतियोगिताको उद्घाटन कार्यक्रममा धरान–२४ का तामाङ घेदुङ संघका पदाधिकारी हरूले सेलो गाउँदै डम्फु बजाएर अतिथिहरूलाई खादा र अबिर लगाई स्वागत गर्दा रौनकता थपिएको थियो ।