सभापतिमाथि ब्ल्याकमेलिङ !

सभापतिमाथि ब्ल्याकमेलिङ !


mahendra pandey

:: महेन्द्र पाण्डे ::

नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनले तत्कालीन वरिष्ठ नेता शेरबहादुर देउवालाई कांग्रेसको सिङ्गो सङ्गठन हाँक्ने ‘ड्राइभर’ बनाइदिएको छ । पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशतका लागि जम्मा एघार मत कमी भई दोस्रो निर्वाचन गर्नुपरेको सर्वविदित नै छ । दोस्रो निर्वाचन हुनुअघि तत्कालीन कार्यबाहक सभापति रामचन्द्र पौडेललाई सर्वसम्मत बनाएर देउलाई छाडे संसदीय दलको नेता बनाउने छलफल भएको पनि सुन्नमा आएको विषय हो । तर, नेता पौडेललाई घेरेर बसेका केही व्यक्तिले कथित संस्थापनबाट बाहिर जान नहुने तर्क गर्दै गलत अङ्कगणित प्रस्तुत गरी सभापतिमा लड्न बाध्य पारेका थिए । जसले पौडेलदाइलाई उक्साउने काम गरे तिनीहरूले रामचन्द्र नामका पछाडि ‘पौडेल’ भए पनि उनी कोइरालाकै बिँडो थाम्ने उत्तराधिकारी हुन् भने जसरी प्रचार गरे–गराएको पनि देखियो । पौडेललाई उकास्ने त्यो एउटा झुन्डले सभापति पद कोइराला परिवारबाहिर जानु भनेको लोकतन्त्रकै अपमान र अवसान हो भन्ने भ्रामक र गलत प्रचार महाधिवेशनमा सरिक भएका आमप्रतिनिधिसँग गरेका थिए । बोहोराटारदेखि मन्डिखाटार हुँदै महाराजगन्जको दुई किलोमिटर माथि–तल यस्ता भ्रामक र गलत सूचनाहरू प्रवाहित भइरहे, तर महाधिवेशनको बहुमत प्रतिनिधि त्यो कुराप्रति सहमत भएनन् । रामचन्द्र दाइलाई गलत हिसाब बुझाउने र शेरबहादुर देउवाको उच्च व्यक्तित्वबाट झस्किरहने झुन्डका कारण रामचन्द्रदाइले देउवासँग अत्यधिक मतले पराजित हुनुपर्‍यो ।

देउवाको पक्षमा स्पष्ट बहुमत देख्दादेख्दै पार्टीभित्र सहमति गर्ने र रामचन्द्र पौडेललाई संसदीय दलको नेता सर्वसम्मत बनाउने कार्यलाई पछि धकेलिदिएको त्यो समूहले फेरि दलको नेता बन्नुपर्ने भन्दै पौडेललाई उकासेका छन् । कम्युनिस्टसँग प्रधानमन्त्री बन्नका लागि झन्डै डेढ दर्जनपटक पराजित भएपछि निर्वाचित हुने बेलामा पछि धकेलिएका रामचन्द्रदाइ पार्टीभित्र इमानदार, विचारवान् व्यक्तित्व हुँदाहुँदै पनि बेलाबेलामा निर्णय गर्ने क्षमतामा कमजोर नेता भनेर पार्टीका कार्यकर्ताले नै आरोप लगाउने गरेका छन् । बेलाबेलाका उहाँको क्रियाकलापले कता–कता त्यो आरोपलाई पुष्टि गरेको महसुस पनि हुन्छ । शेरबहादुर देउवासँग अत्यधिक बहुमतले पराजित भएपछि पौडेलजस्तो व्यक्तित्वले खुला दिलले सहयोग गरी पार्टीलाई एकढिक्का बनाएर लैजान अग्रसर हुनुको सट्टा अर्को एउटा गुट बनाएर अघि बढ्न खोज्नु स्वयम् नेता पौडेल र पार्टीका लागि पनि दुर्भाग्यको कुरा हो ।
deuwa-paudel
गत शुक्रबार एक रेडियो–कुराकानीमा रामचन्द्र पौडेलले संसदीय दलको निर्वाचनमा आफू नेता नभए त्यसबाट हुने परिणामको सामना गर्न सभापति देउवालाई चुनौती दिएको सुनियो । एकप्रकारले नेता पौडेलले सभापति देउवालाई धम्की दिएको या ‘इमोसनल बार्गेनिङ’ या प्रकारान्तरले ‘ब्ल्याकमेलिङ’ नै गर्न खोजेको महसुस गरियो । लामो समयदेखि वंशवादबाट गरिबको छोराको पोल्टामा आएको नेतृत्वबाट छटपटाएका केही सीमित व्यक्तिले पौडेललाई भर्‍याङ बनाएर आफ्नो स्वार्थपूर्ति गर्नेे अभिलाषा राखेका छन् । त्यसलाई बुझ्न जरुरी छ । जसरी सभापति पदमा परिणामले त्यो समूहलाई गलत साबित गरिदिएको थियो त्यसैगरी संसदीय दलमा पनि त्यही परिणाम निस्कने निश्चितप्राय: छ । सभापतिमा रामचन्द्र पौडेललाई मतदान गरेका जिम्मेवार बहुमत नेताले सर्वसम्मत नभए हार्ने चुनाव नलड्न सुझाव दिइरहेका छन् । वंशको चिरालाई सजिलैसँग चिर्दै सभापति बनेका देउवा नेपाली राजनीतिमा खारिएर परीक्षण भइसकेका नेता हुन् । तीन–तीनपटक देशको सर्वोच्च कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसकेको देउवाको विषयमा जे–जस्ता भ्रामक प्रचार गरिए पनि नैतिकताको धरातलमा उभिएर पशुपतिनाथलाई साक्षी राखी भन्ने हो भने उनी सबैभन्दा पीडित र निष्कलङ्क नेता हुन् ।

धर्म–संस्कृतिलाई बन्धकी राख्दै नैतिकतालाई बिर्सनेहरूको आरोपलाई तेह्रौँ महाधिवेशनले झापट लगाइदिएको छ । आफूले हारेर पनि अग्रजको सम्मान र पीडितको सहयोग गर्नुपर्छ भन्ने मन्त्रलाई सर्वस्वीकार्य गर्ने देउवाले सर्वमान्य नेता गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईलाई पार्टीमा टिक्नै नसक्ने गरी लखेटिएकोजस्तो आफूले कहिल्यै नगर्ने शपथ नै खाएका छन् । जीवनभर प्रजातन्त्र र पार्टीका लागि लडेका ती महान् नेताले मृत्युवरण गर्ने समयमा रगतको आँसु चुहाएर कांग्रेस छाडेको कुरालाई सभापति देउवाले राम्रोसँग देखेका छन्, बुझेका पनि छन् । पोखरामा सम्पन्न कांग्रेसको महाधिवेशनमा कोइरालापक्षीयबाट को–को बर्खास्तीमा परेका थिए र तीमध्येका ऐतिहासिक परिवारका सदस्यलाई आफूले हारेर पनि त्यहाँ लडेर केन्द्रीय सदस्य बनाएको कुरा स्वयम्ले बुझ्नुपर्ने विषय हो । हास्य कलाकार मनोज गजुरेलले देउ ‘वा’ भनेर घोचपेच गरे पनि वास्तवमा देउवा अत्यन्तै लोकतन्त्रवादी छन् र दिन्छन् भन्ने कुरा तेह्राँै महाधिवेशनमा पदाधिकारी पराजित सबैलाई मनोनीत गरेर छर्लङ्ग पारिदिएका छन् । त्यति मात्र नभएर अस्वस्थका कारण उम्मेदवारी दिन नसकेका नेता नरहरि आचार्यलाई समेत केन्द्रीय सदस्य बनाएर देउवाले पार्टीभित्र एक किसिमको राम्रो कार्यको सुरुवात गरेका छन् । सभापति देउवाका अगाडि चट्टानजस्तै गरी थुप्रै चुनौती छन् ती चुनौतीलाई चिर्न सभापति र संसदीय दलको नेता एउटै भए मात्र सम्भव छ ।

पार्टीभित्रको झिनो–मसिनो विवादलाई देउवाले आँखा चिम्लिएर मुलुकको निकासका लागि लाग्नुपर्छ । देश र जनताको अधिकारका लागि लड्दै जाँदा आइपर्ने टुक्रे विवादलाई पैतालाले च्यापेर अघि बढ्नुपर्छ । कसैको छत्रछहारीमा हुर्केबढेका मान्छेहरू निर्णय गर्ने क्षमतामा कमजोर हुन्छन् भन्ने सत्यतालाई राम्रोसँग बुझेका देउवा स्वयम् आफू सङ्घर्ष र बलिदानबाट आएका नेता भएकाले चुनौतीसँग सहजै खेल्न सक्छन् भन्ने ठम्याइ छ । देश रहे पार्टी रहन्छ र पार्टी रहे पद रहन्छ भन्ने कुरासँग पनि पूर्ण जानकार रहेका सभापति देउवाले निर्वाचित भएसँगै खोलो तरेर लौरो बिर्सने काम गर्नुहुँदैन । देउवाका हरेक काम–कदममा साथ दिएका मित्रजन तथा शुभचिन्तकको साथ र काख लिएर देउवा अघि बढे भने पहाडै खडा भए पनि उनलाई रोक्न सक्नेछैन । विगतमा देउवाले धेरै घटनामा साथीभाइ भन्दै दया–माया खन्याएका कतिपय व्यक्ति यतिबेला उनी स्वयम्लाई घाँडो भएकोसमेत बुझिन्छ । त्यसैले अब सभापति देउवाले कसैले ‘देउ वा…’ भनी तर्साउँदैमा तर्सिएर निर्णय गर्ने होइन कि शेर बनेर देश र पार्टीलाई अघि बढाउने हिम्मत दर्शाउनुपर्छ । महाधिवेशन प्रतिनिधिहरूको अभिमतको प्रयोग नै लोकतन्त्रको सुन्दरता हो भन्ने मान्यतालाई मनन गरी व्यवहारमा उत्रिए मात्र सभापति देउवाले सफलताको सिँढी चढ्न सक्ने निश्चितप्राय: छ ।
(लेखक नेविसङ्घ गुल्मीका पूर्वसभापति हुन् ।)