बुद्धिचालमा एकलालले बाजी मारे

बुद्धिचालमा एकलालले बाजी मारे


sport buddhichal
हेटौँडामा सम्पन्न नेपाल बुद्धिचाल सङ्घको पाँचौँ साधारणसभाले मकवानपुरका एकलाल श्रेष्ठलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ । यसअघि श्रेष्ठ बुद्धिचाल सङ्घका महासचिव थिए । त्यस्तै उक्त साधारणसभाले वरिष्ठ उपाध्यक्षमा इलामका विदुर गौतम र महासचिवमा ललितपुरका हेराकाजी महर्जनलाई चयन गरेको छ । त्यस्तै सचिवमा मकवानपुरका धरमबहादुर लामा, कोषाध्यक्षमा काठमाडौंका ज्ञानेन्द्र महर्जन र सहकोपाध्यक्षमा मोरङका ज्ञानेन्द्र पराजुली निर्विरोध निर्वाचन भएका छन् । उक्त निर्वाचनमा चार उपाध्यक्षका लागि आठजनाले उम्मेदवारी दिएका थिए । जसमा भोटिङ हुँदा रूपन्देहीका माधवप्रसाद प्रधान, मोरङका राजेन्द्रप्रसाद रिजाल, काठमाडौंका सुजेन्द्रप्रसाद श्रेष्ठ र नारायणदास गमाल विजयी भएका थिए ।

त्यस्तै नौ सदस्यहरूका लागि भएको चुनावमा दोलखाका गोविन्द श्रेष्ठ, उमेश केसी, झापाका नीरज निरौला, कैलालीका धनबहादुर बोगटी, इलामका दीपेन राई, ललितपुरका श्याम व्यञ्जनकार, जुम्लाका रतन नाथ, पर्साका रामकिशोर सिंह र कञ्चनपुरका टीकादत्त दाहाल विजयी भएका थिए । यसैगरी नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले उपाध्यक्षमा ज्ञानेन्द्र खाइजु भक्तपुर र सदस्यमा बाबुराम पन्त कास्की, मोनालिसा खम्बु खोटाङ र रजुला जोशी काठमाडौंलाई मनोनीत गरेको थियो ।

उडबलमा मीनभवनको वर्चस्व
sport woodball
प्रथम विश्वविद्यालय तथा राष्ट्रिय खुला उडबल प्रतियोगिताको टिमतर्फ मीनभवन क्याम्पसले वर्चस्व कायम गरेको छ । नेपाल उडबल सङ्घ र विश्वविद्यालय खेलकुद सङ्घ नेपालद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगितामा मीनभवनको ‘ए’, ‘बी’ र ‘सी’ टिम क्रमश: पहिलो, दोस्रो र तेस्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार हात पारेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको व्यक्तिगततर्फ समान ५२ अङ्क जोडेका थमसन भुसाल र अशोक श्रेष्ठ पहिलो भए । समान ५८–५८ अङ्कसाथ सुमन हुमागाईं र शमशेर खड्का दोस्रो तथा ५९ अङ्कसाथ अर्बिन कोइराला तेस्रो भए । सुमनले ‘बेस्ट हिट’को उपाधिसँगै १० हजार नगद पुरस्कार जिते । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवम् नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा र एसियाली उडबल महासङ्घका अध्यक्ष थोमस कोकले पुरस्कृत गरेका थिए । सो अवसरमा उडबल सङ्घका अध्यक्ष पूर्णसिंह बोहराले भियतनाममा हुने एसियाली बिचगेममा उडबललाई सहभागिताका लागि पहल गरिदिन महासचिव शेर्पालाई आग्रह गरे ।