ओलीले खोले नयाँ पार्टी

ओलीले खोले नयाँ पार्टी


Hemanta Oli
एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट पुटेर गएका बादल, किरणहरु पार्टी एकीकरणको कसरतमा लागेको चर्चा चलिरहेकै बेला एमाओवादीले क्रान्तिलाई धोका दिएको भन्दै सो पार्टीका पूर्व पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीले नयाँ पार्टी घोषणा गरेका छन् । निकै समयदेखि पार्टी कामबाट अलग्गिएर असन्तुष्ट रहँदै आएका ओलीले शनिबार घोराहीमा पत्रकार सम्मेलन गरेर नयाँ कम्युनिस्ट पार्टी कम्युनिस्ट न्युक्लियस केन्द्र नेपाल घोषणा गरेका हुन् । कुनैबेला एमाओवादी अध्यक्ष प्रचण्डसँग निकट रहेका ओली पछिल्लो चरणमा प्रचण्डको आलोचक बनेर देखापरेका थिए ।

क्रान्तिलाई पूरा नगरी एमाओवादीले धोका दिएपछि क्रान्तिकारी शक्तिको नेतृत्व गर्न आफूले नयाँ पार्टी घोषणा गर्नुपरेको बताउँदै उनले कम्युनिस्ट क्रान्तिकारीको धुर्वीकरण आवश्यक रहेको तर्क गरे । आफ्नो नेतृत्वको नयाँ पार्टीले क्रान्तिको नेतृत्व गर्न सक्ने दाबी पनि उनले गरे ।

सो क्रममा आफ्नै अध्यक्षतामा दुई सदस्य पछि थप्ने गरी ११ सदस्यीय पार्टीको केन्द्रीय कमिटी गठन गरिएको जानकारी ओलीले दिए । नवगठित पार्टीको केन्द्रीय कमिटीमा विकास शर्मा, डा. ऋषिराज बराल, रमेश पुन, विमर्श शर्मा, शेरकुमार खड्का, मनप्रसाद श्रेष्ठ, तीर्थ वली र धनबहादुर वली रहेका जानकारी दिइएको छ । एमाओवादी नेता, पूर्व जनमुक्ति सेनाका कमाण्डरको हालै दाङमा सम्पन्न भेलाले नयाँ पार्टीको निर्माण गरेको पनि जनाइएको छ ।

यसैबीच नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सिपी गजुरेलले एकीकृत माओवादी तथा अन्य क्रान्तिकारी कम्युनिस्टसँग एकता गर्न प्रयत्न भइरहेको बताएका छन् । सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चको तेस्रो सम्मेलनमा उहाँले क्रान्तिकारी माओवादी पार्टीको नौ दिनदेखि चलिरहेको केन्द्रीय समितिको बैठकमा सहभागी सदस्यले क्रान्तिका निम्ति माओवादी शक्तिबीच एकता हुनुपर्ने कुरामा जोड दिए ।