नेपालमा भारत र चीनको सामरिक स्वार्थ रहेको बाबुरामको कथन

नेपालमा भारत र चीनको सामरिक स्वार्थ रहेको बाबुरामको कथन


Baburam-Bhattarai
नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले राजनीतिलाई व्यवसाय बनाउन नहुने बताएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनले नारायणगढमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले राजनीतिलाई व्यवसाय नबनाई व्यवसाय गरेर राजनीति गर्नुपर्ने सुझाव दिए । राजनीतिलाई व्यवसाय बनाएका कारण नै भ्रष्टाचार बढेको उनको जिकिर थियो । हरेक दलले आफ्ना कार्यकर्तालाई विभिन्न ढङ्गले उत्पादन र व्यवसायमा जोड्नुपर्ने धारणा राख्दै उनले राजनीतिलाई नितान्त स्वयम्सेवी सेवा तुल्याउनुपर्ने उल्लेख गरे ।

आफ्नो पार्टी नयाँशक्तिमा यसलाई नै कार्यनीति नै बनाएर अभियान अघि बढाइएको जानकारी दिँदै भट्टराईले कुनै राजनीतिक नेता दोषी ठहर भए पार्टीले निष्कासित हुने व्यवस्था गर्नसके प्रभावकारी हुने तर्क अघि सारे ।

तराईको समस्याका बारेमा गरिएको एक प्रश्नको जवाफमा उनले विविधतालाई सम्बोधन गर्ने गरी आधुनिक युगको मूल्यमान्यतालाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै वञ्चितीकरणमा परेका समुदायलाई अधिकार दिनसके मत नबाझिने धारणा राखे । नेपालमा भारत र चीनले सामरिक स्वार्थ राख्ने गरेको प्रष्ट्याउँदै डा. भट्टराईले आन्तरिक झगडा हुँदा छिमेकी देशले फाइदा खोज्ने भएकाले आफ्नो समस्या आफैँले हल गर्नुपर्ने बताए । नेपालले दुईवटै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने उनको भनाई थियो ।