केपीसँग प्रचण्डको बार्गेनिङ

केपीसँग प्रचण्डको बार्गेनिङ


prachanda-oli 2
निर्धारित नयाँदिल्ली भ्रमणको कार्यक्रम रद्द गरेपछि एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री खड्गप्रसादसँग ‘बार्गेनिङ’ बैठकमा जुट्नुभएको छ । यसै साताको आइतबार र सोमबार (चैत २१ र २२ गते) एमाओवादी र एमालेको शीर्ष नेतृत्व समूहबीच सरकारको काम तथा निरन्तरताको विषयलाई लिएर घनीभूत छलफल भएको बुझिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री खड्गप्रसादसहित उहाँनिकटका केही एमाले नेताहरू सहभागी भएको र उता एमाओवादीका तर्फबाट पनि पदाधिकारीहरूले भाग लिएको समाचारमा जनाइएको छ ।

बैठकमा एमाओवादीले सरकार जनताको दैनिक जीवन सहज र सरल बनाउन असफल रहेको, कालोबजारी नियन्त्रण गर्न असमर्थ रहेको, मन्त्रीहरूको काम प्रभावकारी नभएको, सर्वोच्च अदालतका न्यायाधीश सिफारिस गर्दा एमालेले एकलौटि ढङ्गले गरेको, पुनरावेदन अदालतका न्यायाधीश नियुक्तिमा पनि एकलौटि गर्न खोजेको, सरकारद्वारा गरिने राजनीतिक नियुक्तिहरूमा एमाओवादीलाई कुनै स्थान नदिएको, महत्त्वपूर्ण पदमा बढुवा र सरुवा गर्दा एमाओवादीसँग परामर्श गर्ने नगरेको, चीनसँग भएको गुप्त सहमतिबारे जानकारी नगराइएकोलगायतका विषयलाई गम्भीर ढङ्गले अघि सार्दै आफूहरू सरकारमा रहनुको औचित्य के छ भनी प्रश्न उठाएको बुझिएको छ ।

एमाओवादी नेतृत्व यसरी अलिक गम्भीर ढङ्गले आएको महसुस गरेपछि प्रधानमन्त्री ओलीले विगतका गल्ती–कमजोरी दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन् । सम्भव भएसम्म विगतका त्रुटि सच्याएर सत्ता गठबन्धनलाई अझै बलियो तुल्याउनुपर्ने पनि ओलीले बताएका छन् । आगामी आमनिर्वाचनसम्म यही गठबन्धनको सरकारलाई निरन्तरता दिने र आवश्यक परे गठबन्धनभित्रैबाट अरू कसैले सरकारको नेतृत्व लिनुपर्ने भनी खड्गप्रसादले प्रचण्डलगायतलाई ‘चक्मा’ दिएका छन् । एक सूत्रले जनाएअनुसार प्रधानमन्त्री खड्गप्रसादले आफूपछि प्रचण्डलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने वचन दिएका छन् ।

छिमेकी र अन्य मित्रराष्ट्रहरूलाई छक्याउँदै अघि बढ्न पनि हालको गठबन्धन कायम राख्ने र आवश्यक पर्दा यही गठबन्धनभित्रबाट सरकारको नेतृत्व खोज्ने सोच ओलीले बनाएको बताइन्छ । आफूले झलनाथ खनाललाई समर्थन गरेर प्रधानमन्त्री बनाइदिएझैँ ओलीले पनि छोड्नुपर्दा आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने आशा प्रचण्डले गरेको बुझिन्छ । त्यसैले प्रधानमन्त्रीसँग बार्गेनिङ गर्दै जाने चालबाजी प्रचण्डले गरेका छन् । कांग्रेस र मित्रराष्ट्रलाई देखाएर सरकार छोड्न नसकिने भन्दै ओलीसँग बार्गेनिङ गरेका प्रचण्डले कांग्रेस र अन्य शक्तिकेन्द्रसँग ‘ओलीलाई हटाउने हो भने आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने’ भनी बार्गेनिङ गर्दै छन् । अहिलेसम्म प्रचण्डको बार्गेनिङको परिणाममुखी प्रभाव परिसकेको छैन । तर, कालान्तरमा कुनै पनि निहुँमा जो कसैलाई धोखा दिएर आफू प्रधानमन्त्री बन्न प्रचण्ड अघि सर्ने सम्भावनाचाहिँ प्रबल हुँदै गएको छ ।