देउवाले भने- ‘मलाई नेता पौडेलको साथ चाहिन्छ’

देउवाले भने- ‘मलाई नेता पौडेलको साथ चाहिन्छ’


Deuwa-NC leaderपार्टीको संसदीय दलको नेतामा निर्वाचित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले कसैमाथि जित हासिल गरेको भन्दा पनि आफ्नो काँधमा थप जिम्मेवारी आएको अभिव्यक्ति दिएका छन्। बुधबार भएको पार्टीको व्यवस्थापिका–संसद्, संसदीय दलको नेताको निर्वाचनमा सभापति देउवालाई १३९ मत हासिल भएको थियो भने प्रतिष्पर्धी रामचन्द्र पौडेलले ६७ मत पाएका थिए। कांग्रेसमा २०७ सांसद् छन्, बुधबारको निर्वाचनमा २०६ सांसद्ले मतदान गरेका थिए ।

विजयी भएको आधिकारिक घोषणा गरेलगत्तै सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभापति देउवाले कांग्रेसले जहाँनियाँ राणाशासन र निरङ्कुश पञ्चायती व्यवस्था हटाएर मुलुकमा प्रजातन्त्रको स्थापना गरेको बताउँदै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पनि आफ्नो पार्टीको अहम् भूमिका भएको उल्लेख गरे । हालसम्मका सबै ठूला राजनीतिक आन्दोलनको नेतृत्व कांग्रेसले नै गरेको दृष्टान्त दिँदै उनले यस कार्यमा वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायत नेताको ठूलो त्याग र योगदान रहेको स्मरण समेत गरेका थिए ।

उनले अब प्रजातन्त्रको खिलाफमा जो आए पनि टिक्न नदिने दाबी गर्दै भने, ‘मुलुकलाई समृद्ध बनाउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्ने काममा लाग्नु छ । म यस काममा आफ्नो क्षमताले भ्याएसम्म लाग्ने छु ।’ आफ्ना प्रतिस्पर्धी नेता पौडेलको बारेमा सभापति देउवाले आफूलाई नेता पौडेलको सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै नेता पौडेललाई विश्वासमा लिएर पार्टीलाई अझ बलियो बनाएर अघि बढ्ने बताए । मधेसका जायज मुद्दा सहमतिका साथ समाधान गरी संविधानको प्रभावकारी कार्यान्वयन गर्न पार्टी लाग्ने प्रतिबद्धता पनि देउवाले जनाए ।

Sher bahadur Dauba