सुनसरीमा आगलागीले यसरी अत्यायो

सुनसरीमा आगलागीले यसरी अत्यायो


Inruwa Fire
सुनसरी जिल्लाको तीन छुट्टाछुट्टै स्थानमा आज दिउँसो भीषण आगलागी हुँदा करोडौँको नोक्सानी भएको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ । सदरमुकाम इनरुवासँगै जोडिएको भोक्राहा–२ मा लागेको आगो वडा नं ४ सम्म फैलिइसकेको छ । फैलिएको र मुस्लिम समुदायको सघन बसोबास रहेको भोक्राहामा लागेको आगो नियन्त्रण गर्न निकै कठिन परेको बताइएको छ ।

पश्चिमी तातो वायुसँगै सुरु भएको आगोले भोक्राहा–२ देखि वडा नं ४ सम्म फैलिँदा दुईवटा पक्की घरसँगै कम्तीमा ४० घर जलेर नष्ट भएको हो । आगो नियन्त्रणका लागि इटहरी धरान इनरुवालगायतका क्षेत्रका चारवटा दमकलका साथै नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसँगै स्थानीयवासीले समेत निकै परिश्रम गरेका थिए ।

त्यस्तै, सुनसरीकै घुस्की–४ मा लागेको आगो पनि नियन्त्रणबाहिर रहेको भन्दै प्रहरीले चिन्ता व्यक्त गरेको थियो । धेरैतिर एकसाथ आगो लागेको र दमकल भोक्राहामा केन्द्रित भएकाले घुस्कीमा लागेको ओगो सुरक्षाकर्मी र स्थानीयवासीले निभाउने प्रयास गर्दा हुरी चलिरहेकाले सघन बस्ती रहेको मुस्लिम समुदायको बसोबास रहेका ती बस्तीमा आगो फैलिएर हाहाकार मच्चिएको थियो ।

यसैगरी शनिबार दिउँसो नै नरसिंक गाविस–४ मा भएको आगलागीमा परेर दुई घर नष्ट भएको छ । त्यहाँ लागेको आगो भने स्थानीयवासीले नियन्त्रणमा लिन सफल भएको प्रहरीले बताएको छ । धेरैतिर एकसाथ आगलागी भएकाले सुरक्षाकर्मी र दमकललाई भ्याइनभ्याई परेकाले भोक्राहा र घुस्कीको आगो नियन्त्रणमा कठिनाइ भएको र आगलागीमा कति नोक्सानी भयो भन्ने कुरा अझै यकिन गर्न कठिन रहेको पनि बताइएको छ ।