पहिलो महिला प्रधानन्यायाधीश बन्दै सुशीला कार्की

पहिलो महिला प्रधानन्यायाधीश बन्दै सुशीला कार्की


CJ Susila Karki
नेपालको सर्वोच्च अदालतकोे इतिहासमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायधीश सुशीला कार्की पहिलो महिला प्रधानन्यायाधीश बन्दै हुनुहुन्छ । आइतबार साँझ संवैधानिक परिषद्को बालुवाटारमा बसेको बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गरेको हो । संसदीय सुनुवाईपछि प्रधानसेनापतिमा बहाल हुनुहुने उहाँले संसदीय सुनुवाइ समिति गठन भइनसकेकालेकामु प्रधानन्यायाधीशको रुपमा वैशाख १ गतेबाट काम सुरु गर्नुहुनेछ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ यही चैत मसान्तबाट उमेद हद (६५ वर्ष)का कारण अवकाश हुनुहुने भएपछि क्षमता र योग्यताको आधारमा कार्की प्रधानन्यायाधीश बन्न सफल हुनुभएको हो ।

वि.सं. २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा सुशीला कार्कीको जन्म भएको हो । उहाँले महेन्द्र मोरङ कलेज बिराटनगरबाट २०२८ बिए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गर्नुभएको हो भने त्यतिबेलासम्म उहाँले कानुनलाई कर्म क्षेत्र बनाउने विषयमा केही सोच्नुभएको थिएन । उहाँले २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरी कानुनी यात्रा सुरु गर्नुभयो । अधिवक्ता भएर कानुनलाई कर्मकै रुपमा चाहिँ कार्कीले २०३५ साल चैत्र १६ गतेदेखि सुरु गर्नुभएको हो । उहाँले तीन वर्ष ९२०४२–२०४६० महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गर्नुभयो । २०४५ सालदेखि २०४७ सालसम्म कार्कीले कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै २०५९ सालदेखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बन्नुभयो ।

त्यस्तै, २०६१ पुस ५ गते कार्की वरिष्ठ अधिवक्ता बन्नुभयो । त्यस्तै, २०६५ माघ ९ गते उहाँ सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त हुनुभयो । २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बन्नुभयो । वरिष्ठतम न्यायाधीश हुँदै उहाँ प्रधानन्यायाधीश बन्न सफल हुनुभएको हो ।

प्रधानन्यायाधीशका रुपमा १४ महिना काम गर्नुहुने कार्की नेपाली, अङ्ग्रेजी र हिन्दीमा भाषामा निपुण हुनुहुन्छ भने संयुक्त राज्य अमेरिका, बेलायत, श्रीलङ्का, जापान, चीन, भारत, तान्जिनिया र नेदरल्याण्डलगायत देशको उहाँले भ्रमण गरिसक्नुभएको छ ।