धन हुनेले लगानी गरौँ, नहुनेले काम

धन हुनेले लगानी गरौँ, नहुनेले काम


Birendramani-Paudel

– वीरेन्द्रमणि पैडेल

नेपालमा देखियो कि कुनै पनि काम गरेर खानेहरूसँग मात्रै होइन, लुटी खाने र चन्दा माग्नेहरूसँग पनि चल–अचल धन जम्मा भएको देखियो । तर, धनको सही तरिकाले सदुपयोग भएको देखिएन । आज मान्छेसँग धन छ । ठूलो घर, आँगनमा गाडी, परिवारका सबै सदस्यका नाक, कान, घाँटीमा सुन, प्रशस्त बंैक ब्यालेन्स छ । खानेकुरामा कुनचाहिँ मिठो खाने भन्ने कुरा त बेग्लै भयो, घरमा पालेको कुकुरले समेत तीन हजार रुपैयाँको हड्डी चपाएको छ । कुल मिलाएर सबै भौतिक सुविधा जम्मा भएको छ । तर, मनमा शान्ति छैन, तनमा आराम छैन । गोजीमा रक्तचाप र मधुमेहको चक्की छ । यस्तो अवस्था किन ? सही जवाफ हो– धनको गलत प्रयोग । ठीक प्रयोगचाहिँ कसरी हुन्छ र एकबारको जुनीमा सुख वा आनन्द पाइन्छ ? छलफल र बहसका लागि धन प्रयोगको तरिकाबारे केही शब्दहरू निर्माण गर्ने प्रयत्न गरिएको छ ता कि हिजोसम्म उल्लु बनिरहेकाहरूको मोतियाबिन्दु फाट्न सकोस् ।

पुराना शास्त्र निर्माणकर्ताहरूमा यतिबेलाका मान्छेहरूमा जस्तो स्वार्थ थिएन । तिनले निस्वार्थ भावनाले लेखेका शास्त्रहरूमा लेखेअनुसार धनको प्रयोग तीन शीर्षकमा बाँडेर गरिन्छ । कमाइको चालीस प्रतिशत आफ्नो भौतिक सुविधाका लागि खर्च गर्ने । तीस प्रतिशत कमजोर आर्थिक अवस्थाका मानवलाई सहयोग गर्ने र तीस प्रतिशत आफ्नै भविष्यका लागि जम्मा गरेर राख्ने । यो तरिका अपनाउँदा भैपरी आउँदा धन खाँचो नहुने, आफ्नो खाँचो सधैँभरि टर्ने र कमजोरलाई सहयोग गर्दा आत्मा खुसी हुने । यो तरिकाले धन प्रयोग गर्दा धनबाट मानव लाभान्वित हुने अवस्था हुन्थ्यो र पहिलेपहिले त्यसै गरिन्थ्यो । पछिपछि जब राज्य संरचना बन्यो, देश बन्यो । देश चलाउनका लागि कमजोर आर्थिक अवस्थाका मानिसलाई सहयोगस्वरूप दिने गरिएको दान सरकारलाई कर र राजस्वको नाममा दिने गरियो ता कि सरकारले सबै कमजोर आर्थिक अवस्थाका मानिसलाई न्यायोचित वितरण प्रणालीका आधारमा रकम खर्च वा वितरण गरोस् ।

तर दुर्भाय † मान्छेको मनभित्र पलाएको कालो विचारका कारण आम्दानीको पूरा हिस्सा आफैँ खर्च गर्नतर्फ लालायित हुन पुग्यो । आम्दानी गर्नेले आम्दानी लुकाउने, कर र राजस्व नतिर्ने अवस्था बन्दै गयो भने तिरिएको रकम सरकारमा जानेहरूले हिनामिना गर्ने अवस्था बन्दै गयो । धन सहयोगबाट मानव मनमा आनन्द सिर्जना हुने अवस्थाको अन्त्य हुँदै गयो । धन सहयोगबाट सहयोग लिनेले गर्ने सम्मान पनि हराउने अवस्था बन्दै गयो । अब कोही धनी भएर कसलाई के फरक पर्ने भयो ? देवी–देवताका पालामा तिनका मेनेजर कुवेरले जो–कोही गरिबलाई माग्न आउनेबित्तिकै खाँचो टर्ने किसिमले धन दिएर मद्दत गर्थे, तर यतिबेला त्यो अवस्था रहेन । नेपालका धनीहरूले गरिबहरूलाई आफ्नो आम्दानीको ३० प्रतिशत दिएनन् लौ भइगो, सरकारलाई कर त तिर्नुपथ्र्यो त्यो पनि गरेनन् । हरेक शीर्षकमा पाए र भेटेसम्म कर छले । यो तरिकाले धन त जम्मा गरे, तर सदुपयोग भएन । सदुपयोग नहुँदा धन भएर पनि मनमा शान्ति छाएन । आज देशमा लाखौँ युवायुवती बेरोजगार भए । धन हुनेले उद्योग कलकारखानामा लगानी गरिदिएको भए ती ताँती लागेर विदेश जाने थिएनन् । कसैकसैले मजदुरहरूले नै हडताल गरेर उद्योग कलकारखाना चल्न दिएनन् पनि भन्लान् । कुरामा सत्यता पनि होला, तर सरकारलाई तिनले भन्न सक्छन् ‘ट्रेड युनियन खारेज गर हामीलाई उद्योग चलाउन देऊ’ । मुलुकभरिका खेतीयोग्य जमिन बाँझा छन् । धन हुनेहरूले अब भारतबाट ल्याएको चामल, तरकारी र दाल खाने होइन, मुलुकभित्र कृषि उत्पादनमा लगाउनुपर्छ ।

मुलुक लोडसेडिङबाट थलिएको छ । अपार जलसम्पदाको धनी मुलुक नेपालमा सधैंभरि विदेशीले लगानी गर्लान् र विद्युत् उत्पादन होला, त्यसैका कारण उज्यालो देख्न पाइएला भन्ने आशामा यो देशको सरकार छ र यो देशका धनीहरू छन् । उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, विनोद चौधरी, भूतपूर्व राजा ज्ञानेन्द्र, पशुपतिशमशेर, गजानन्द वैद्यका छोरा सुरजहरूलाई अरू नेपाली नागरिकभन्दा धनी भनिएको छ । यदि यिनीहरू साँच्चैका धनी हुन् भने यिनले सबैभन्दा पहिला अरू शीर्षकमा नभई जलविद्युत् उत्पादनमा धन प्रयोग गर्नुपथ्र्यो । कसैले लगाएका पनि होलान्, तर यस्ता धनीहरूको धन बेफ्वाँकमा बैंकमा थुप्रिएको छ, अचल सम्पत्तिको रूपमा थन्किएको छ । यदि यिनले जलविद्युत् उत्पादनमा लगानी गरिदिएका भए मुलुक अन्धकारमय हुने थिएन, उत्पादनसमेत बढ्थ्यो, मुलुक स्वावलम्बी हुन्थ्यो । तर, आजसम्म ठीक तरिकाले यिनले धन प्रयोग गर्न सकेनन् र भएको धनबाट यिनीहरू स्वयम् पनि खुसी हुन सकेनन् ।

यीबाहेक पनि नेपालमा धनीहरू छन् जसको आम्दानी दैनिक ५० हजारभन्दा माथि छ । यिनीहरूले समेत संयुक्त रूपमा दश–बीस मेगावाट जलविद्युत् उत्पादनमा लगानी गर्न सक्थे, पर्यटन उद्योग सञ्चालन गर्न सक्थे, स्वदेशीले नपुगे विदेशी प्रविधि भित्र्याएरसमेत उत्पादन र आम्दानी हुने क्षेत्रमा लगानी गर्न सक्थे । वार्षिक खर्ब रुपैयाँको चामल, अर्बौं रुपैयाँको खसीबोका, राँगाको कुरै छाडौँ करोडौँ रुपैयाँको कागती छिमेकी मुलुक भारतबाट आयात गरिएको छ, तर नेपालका धन भएका, सक्कली र वंशजका आधारमा समेत नागरिकता लिएकाहरू धन बैंकमा थुपारेर टुलुटुलु हेरेर बसिरहेका छन् । स्थिति छर्लङ्ग छ– यो देशका प्राय: सबै मानिसले धेरथोर धन जम्मा गरे, तर ठीक तरिकाले ठीक ठाउँमा लगानी गर्न सकेनन् । त्यसको परिणाम आज मुलुक हेर्दा लङ्गडोजस्तो देखिए पनि पूरै हलचल गर्न नसक्ने अवस्थामा पुगिसकेको छ । यदि यो देशका धनीहरूले आउने दिनमा उत्पादनका क्षेत्रमा लगानी गरे भने तिनले कुनै पनि तरिकाले कमाएका धनलाई धन भन्न मिल्ला, होइन, बैंकमै थुपारिरहने र टोलाइरहने हो भने प्रकृतिको नियमलाई कसले पो जित्न सकेको छ र यी नेपाली धनीहरूले जित्न सकून् ?! बेवारिसे धन छाडेर यिनीहरू बिलाउनेछन् । यिनको मिहिनेत फोकटमा खेर जानेछ । समय पूरै घर्किसकेको छैन, बाँकी छ । धन हुनेले लगानी गरौँ, नहुनेले काम गरौँ । यही प्रक्रियाबाट मात्रै धन ‘सच्चा धन’ हुन सक्छ ।