शासकमाथि पूर्वराजाको प्रहार

शासकमाथि पूर्वराजाको प्रहार


Gyenendra
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले नयाँ वर्षको शुभकामना दिनुहुँदै ‘स्वदेशको माटोमा दह्रोसँग खुट्टा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालको आफ्नो स्वाधीन रहोस् भन्ने भावनाबाट प्रेरित सबै देशभक्तहरूलाई समेटेर अगाडि बढ्न आवश्यक भइसकेको’ बताउनुभएको छ ।

शुभकामना वक्तव्यमा पूर्व श्री ५ ले भन्नुभएको छ, ‘हाम्रा राष्ट्रिय मान्यता (धर्म, संस्कृति, भाषा, इतिहास र सभ्यता) विपरीत प्रहार भइरहेको वर्तमान अवस्थामा हाम्रा पुर्खाले सुम्पिएका धरोहरहरू आफ्ना सन्ततीलाई कसरी हस्तान्तरण गर्न सक्छौँ भन्ने प्रश्न अहिले अझ पेचिलो बन्दै छ ।’ राज्य संयन्त्रलाई व्यक्तिगत लाभका निम्ति दुरुपयोग गर्ने शासकीय शैलीले नेपाललाई कमजोर बनाएको भन्दै उहाँले शुभकामना वक्तव्यमा भन्नुभएको छ, ‘हामी के थियौँ, को थियौँ, अहिले कुन स्थितिमा छौँ, देश कता जाँदै छ, समाजको मनोदशा के छ, हाम्रो साझा र सही मार्गचित्र के हुनुपर्छ, कसको के–कस्तो त्याग र योगदान छ, कसको के–कस्तो महत्त्व र मान्यता छ, अनि क–कसको कस्तो अर्घेल्याइँ छ भन्ने विषयलाई वर्तमान अवस्थामा सबैले बुझिसकेका छन् ।’

श्री पशुपतिनाथले हामी सबैको कल्याण गर्ने अपेक्षासहित जारी शुभकामना वक्तव्यको अन्त्यमा पूर्व श्री ५ ले भन्नुभएको छ, ‘आफ्नो भाषा, इतिहास र धर्म–संस्कृतिहरू देशका आधार हुन् भन्ने विषयलाई मनन गर्दै स्वदेश हेरेर मात्र विदेश हेरौँ, स्वदेश चिनेर मात्र विदेश चिनौँ, स्वदेश मानेर मात्र विदेश मानौँ र स्वधर्म बुझेर मात्र परधर्म बुझौँ, यही मेरो शुभकामना ।’

यसरी शुभकामना वक्तव्यमार्फत पूर्व श्री ५ ले राष्ट्रियता र राष्ट्रिय एकतामा क्षति पुगेकोप्रति चिन्ता प्रकट गर्दै शासन गर्ने शक्तिमाथि दह्रिलो प्रहार गर्नुभएको छ । गत विजयादशमीयता पुस २७ गते राष्ट्रिय एकता दिवस र फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पनि उहाँले निकै कडा वक्तव्य जारी गर्नुभएको थियो । नयाँ वर्षको शुभकामना प्रकट गर्न जारी वक्तव्यमा पनि उहाँले शासक पक्षमाथि कठोर प्रहार गर्नुभएको छ ।