बल देखाउँदै इसाईहरू

बल देखाउँदै इसाईहरू


nepal bible
क्रिश्चियन धर्मावलम्बीले ‘क्रिसमस डे’मा सार्वजनिक बिदाको माग गर्दै आन्दोलन सुरु गरेका छन् । संविधानमा धर्मनिरपेक्षता लागू गरेपछि नेपालका क्रिश्चियन सङ्घ–संस्थाले सरकारलाई दबाब दिन केही दिनदेखि आन्दोलन गर्दै क्रिसमस डेलाई राष्ट्रिय पर्वको रूपमा मनाउन जबर्जस्ती माग तेस्र्याएका हुन् । सरकारले हालै मन्त्रिपरिषद्को निर्णयबाट क्रिसमस डेमा क्रिश्चियनहरूलाई मात्र बिदा दिने निर्णय गरेपछि नेपालमा क्रियाशील इसाईहरू आक्रोशित बनेर आन्दोलनमा लागेका हुन् ।

यसैगरी, चितवनलगायत विभिन्न जिल्लामा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई क्रिश्चियन धर्मको प्रचार गर्न क्रिश्चियन शिक्षा दिएको पाइएको छ । हालै जिल्ला प्रशासन र महिला विकास कार्यालयले गरेको अनुगमनमा बालबालिकालाई पढाउने नाममा ‘क्रिश्चियन शिक्षा’ दिने गरेको भेटिएको हो । चितवनमा मात्रै ३२ वटा बालगृहमा रहेका करिब एक हजार बालबालिकालाई क्रिश्चियन धर्म प्रचारका लागि ‘पढाउने’ गरेको पाइएपछि प्रशासन कार्यालयले त्यस्ता बालगृहलाई सचेत गराएको छ ।

गरिबी र अशिक्षाको फाइदा उठाउँदै जबर्जस्ती क्रिश्चियन धर्म लाद्ने प्रयास पछिल्ला दिनमा निकै बढेको छ । गणतन्त्र आएपछि राजनीतिक स्वतन्त्रताको फाइदा उठाउँदै केही पश्चिमा राष्ट्रका सङ्घ–संस्था क्रिश्चियन धर्म प्रचारका लागि डलरको खोलो बगाइरहेका छन् । सरकारको दुर्नियत एवम् निरीहताकै कारण ०६३ पछि पचासौँ गुणा चर्चको सङ्ख्या थपिए । धर्मनिरपेक्षताको आडमा चर्चहरू खुल्ने र सोझा विपन्न नेपालीलाई यसमा आबद्ध गर्ने प्रवृत्ति पछिल्ला दिनमा ह्वात्तै बढ्यो ।

एक तथ्याङ्कअनुसार तेस्रो जनआन्दोलनपछि मात्र देशभरिमा थप आठ हजार चर्च स्थापना गरिएका छन् । यसमा हजारौँ सोझासाधा नेपाली नागरिकलाई अनेक प्रलोभन र आश्वासन दिएर आबद्ध गरिएको बुझिन्छ । यसको लागि ठूलो धनराशि खर्च गरिएको छ ।
क्रिश्चियनीकरणकै खातिर वर्तमान संविधानले बाटो खुला गरिदिएपछि हिन्दूराष्ट्रको पहिचान समाप्त पार्न विभिन्न देशका ‘मिसनरी’ नेपाल भित्रिएका छन् । विभिन्न सामाजिक काम गर्ने नाममा क्रिश्चियन धर्म फैलाउन अनेकौँ प्रलोभन देखाउने र आर्थिक लोभ देखाउने गतिविधि निकै बढेको छ । सरकारको मन्त्री ओहोदामा रहेका व्यक्तिसमेत एनजीओ खोलेर त्यसको आवरणमा खुल्लमखुला क्रिश्चियानिटी प्रवद्र्धनमा संलग्न रहँदा पनि प्रधानमन्त्री चुपचाप बसेबाट नेपालमा जबर्जस्ती क्रिश्चियन बढाउने पश्चिमा मुलुकहरूका गतिविधिप्रति सरकार तथा शीर्ष राजनीतिक तहमा रहेका दलका नेताहरू कतिसम्म निरीह बन्न पुगेका छन् भन्ने अनुमान लगाउन सकिन्छ ।
Eknath Dhakal
क्रिश्चियन धर्म प्रचारका लागि अहिले विभिन्न रेडियो र टीभीमार्फत अनेक कार्यक्रम सञ्चालन गरी भ्रम फैलाउने प्रयास भइरहेको छ । नेपालमा रहेका अधिकांश एफएम रेडियो, टीभीलगायतका मिडियाबाट यशु ख्रिष्टबारे प्रवचन दिने, अन्य धर्मभन्दा क्रिश्चियन धर्म नै उत्कृष्ट भएको भ्रमपूर्ण प्रचार गर्ने गरिएको छ । सरकारले जबर्जस्ती धर्म परिवर्तन गर्न लगाउनेलाई कारबाही गर्न नसक्दा क्रिश्चियनहरूले अवान्छित चलखेल गर्ने मौका पाएका हुन् । सरकारका मन्त्री एकनाथ ढकालमाथि त धर्म प्रचारका लागि आफ्नो एनजीओमार्फत विदेशबाट डलर ल्याई विभिन्न चर्च र यससम्बन्धी अभियानमा खर्च गर्ने गरेको आरोप पहिलेदेखि नै लाग्दै आएको छ । ढकालले क्रिश्चियन धर्म प्रचारका लागि आएको पैसा पोसेरै मन्त्री पद हत्याएको चर्चा पनि चल्दै आएको छ ।