पोखरा विमानस्थल निर्धारित समयमै निर्माण सम्पन्न हुने दाबी

पोखरा विमानस्थल निर्धारित समयमै निर्माण सम्पन्न हुने दाबी


Pokhara

पोखरा उपमहानगरपालिका– १४, १५ र १८ वडास्थित छिनेडाँडामा निर्माण हुन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सिलान्यास गरिएको छ । नयाँ वर्ष ०७३ को अवसरमा प्रधानमन्त्री केपी ओली, एमालेका वरिष्ठ नेता झलनाथ खनाल, एमाओवादी अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, मजफो लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, राप्रपा नेपाल अध्यक्ष कमल थापा, पर्यटनमन्त्री आनन्द पोखरेलले संयुक्त रुपमा विमानस्थल सिलान्यास गरेका हुन् । तीन हजार सात सय पैँतीस रोपनी जग्गा ओगट्ने उक्त विमानस्थल चीन सरकारको सहयोगमा बन्न लागेको हो । चार वर्षभित्र निर्माण गरिने उक्त विमानस्थललाई राष्ट्रिय गौरवको आयोजना मानिएको छ ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले विमानस्थल निर्माण भएपछि पोखराको मात्र नभई समग्र नेपालको आर्थिक समृद्धिको ढोका खोलिने बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्याससँगै यस क्षेत्रको विकासमा भरपर्दो आधार तयार भएको दाबी गरे । यसले पोखरेलीमा उत्साह थपिएको र सन् २०२० जुलाईसम्ममा निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आउने विश्वास पनि उनले व्यक्त गरे । ‘पोखरा प्राकृतिक सौन्दर्यले भरिपूर्ण र विदेशी पर्यटकलाई आकर्षण गर्ने सुन्दर ठाउँ हो,’ प्रम ओलीले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखरा मात्रै होइन समग्र ४ नं प्रदेशमा नै नयाँ सम्भावना र विकास सुरु हुन्छन् ।’ देशका सबै राजनीतिक पार्टी राष्ट्रिय विकासका लागि एक ठाउँमा भएको र सबै नेपालीको संयुक्त लगानीमा ठूला जलविद्युत् आयोजना सुरु गर्ने तयारीमा सरकार लागि परेको दाबी पनि उनले गरे ।

यस्तै, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ वर्षको सुरुवातसँगै भएको विमानस्थलको शिलान्यासबाट विकास अभियान सुरु भएको उल्लेख गर्दै विकासको गति नयाँ प्रक्रियाबाट अघि बढाउन प्रमुख राजनीतिक दलहरुबीच नयाँ समझदारी बनेको धारणा अघि सारे । उनले संविधान कार्यान्वयन, पुनःनिर्माणमा राष्ट्रिय एकताको खाँचो औंल्याए ।

एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिङ्गो पोखरा नयाँ युगमा प्रवेश गरेको बताउँदै विमानस्थल निर्माणपछि पोखरामा आउने विदेशी पर्यटकको सङ्ख्या १० औँ गुणा बढ्ने दाबी गरे । उपप्रधान, भौतिक पुर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले विमानस्थल निर्माणको थालनीले हिमाल, पहाड र तराई सबै क्षेत्रका विकासका सम्भावनालाई उजागर गरेको बताए । पार्टी र व्यक्तिगत स्वार्थ त्यागेर राष्ट्रिय हितमा लाग्नु देशको आवश्यकता भएको औंल्याउँदै उनले हिमाल पहाड र तराईबीचको एकता अपरिहार्य भएको तर्क गरे ।

यस्तै, उपप्रधान, परराष्ट्र एवम् स्थानीय विकासमन्त्री कमल थापाले सबै राजनीतिक दलको एकताले विमानस्थल तोकिएकै समयमा पूरा हुने बताए भने नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले नेपाली जनताले राजनीतिक स्थिरता र विकासको अपेक्षा गरेको बताउँदै विकास निर्माणमा कोही कसैले राजनीति गर्न नहुने धारणा राखे । देशलाई गरिबीको कुचक्रमा फसाउन नहुनेमा जोड दिँदै उनले विकासको गतिलाई तीव्र रुपमाअघि बढाउन कांग्रेस सधैँ तयार रहेको उल्लेख गरे ।

अर्थमन्त्री विष्णु पौडेलले विमानस्थल निर्माण प्रक्रिया बढेसँगै पोखरा र यस आसपासको विकास अघि बढेको बताए भने देश विकासमा सबै राजनीतिक दलको सामूहिक प्रयास आवश्यक रहेकामा जोड दिँदै उनले यो वर्ष आर्थिक समृद्धि र विकासको आधार वर्ष हुने बताए । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले आगामी पाँच वर्षभित्रमा २६ लाख पर्यटक ल्याउने लक्ष्य लिइएको जानकारी दिए ।

पोखरा विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक एवम् व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले विमानस्थल निर्माण कार्यलाई अघि बढाउन सयौँ दिन अनसन बस्नुपरेको स्मरण गर्दै शिलान्याससँगै निर्माण कार्य अघि बढाउन सम्पूर्ण पोखरेली जनता तथा राजनीतिक दलले सहयोग गर्ने बताए ।

निर्माणाधीन विमानस्थलबारे थप जानकारी दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले चीन सरकारको एकजिम बैंकको २२ अर्ब ऋण सहयोगमा विमानस्थल निर्माण कार्य अघि बढाउन लागिएको बताए भने चिनियाँ कम्पनी सिएमसी इन्जिनियरिङ कम्पनीका अध्यक्ष लउ युनले सबैको सहयोगमा तोकिएको समयमा नै निर्माण सम्पन्न गरिने विश्वास व्यक्त गरे ।
Pokhara airport Foundation