राजधानीको सुरक्षा रणनीति तय गर्न गोष्ठी आयोजना

राजधानीको सुरक्षा रणनीति तय गर्न गोष्ठी आयोजना


Surakshya Baithak
राजधानी उपत्यकाको सुरक्षाको निम्ति विशेष रणनीति बनाउने उद्देश्यले शुक्रबार ‘उपत्यका विशेष सुरक्षा गोष्ठी’ सुरु भएको छ । गोष्ठीमा तराई केन्द्रित दलले जनजाति समेतको सहभागितामा गर्ने भनेको राजधानीकेन्द्रित आन्दोलन, पेट्रोलियम पदार्थको सहज आपूर्ति, सुरक्षा योजना लगायतका विषयमा छलफल भइरहेको प्रहरी स्रोतले जनाएको छ । गोष्ठीमा गृहमन्त्री शक्तिबहादुर बस्नेत, गृह मन्त्रालयका सचिव नारायण गोपाल मलेगो, मन्त्रालयका सहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सहभागिता रहेको छ ।

गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री शक्ति बस्नेतले राजधानीको सुरक्षा योजनाबारे साझा धारणा बनाउन गोष्ठी सफल हुने विश्वास व्यक्त गरे । सुरक्षा निकायबीचको आपसी समन्वय, उनीहरूको आन्तरिक जीवन सुदृढ र सबल बनाउने विषयमासमेत गोष्ठीमा छलफल आवश्यक रहेको धारणा राख्दै उनले अहिले मुलुक सामान्यभन्दा अलि विशिष्ट अवस्थामा रहेको भन्दै सुरक्षा निकायले नियमितभन्दा अझ बढी सक्रिय हुन आवश्यक रहेकोमा जोड दिए ।

मन्त्री बस्नेतले संविधान कार्यान्वयन गर्ने र नगर्ने भनी मुलुकलाई धु्रवीकृत गर्ने प्रयास भइरहेको बताउँदै राज्यका सबै निकाय संविधान कार्यान्वयनमा लाग्नुपर्ने भनाइ अघि सारे । संविधान कार्यान्वयनमा देखिने जटिलता, आपूर्ति व्यवस्थामा देखिएको असहजता, विधिको शासन, नियमित सुरक्षा व्यवस्था र अपराधको नयाँ स्वरुप लगायतका चुनौतीको कसरी सामना गर्ने विषयमा योजना बनाउन उनले सुरक्षा निकायलाई निर्देशन पनि दिएका छन् ।

यस्तै, गृह मन्त्रालयका शान्तिसुरक्षा महाशाखाका प्रमुख तथा सहसचिव यादव कोइरालाले राजधानीको सुरक्षाको भावी कार्ययोजना बनाउन नियमित कार्यक्रमअन्तर्गत नै सुरु भएको गोष्ठी शुक्रबार नै सकिने जानकारी दिएका छन् ।