क्रिश्चियन डानियलले गरे हिन्दु संस्कारअनुसार बिहे

क्रिश्चियन डानियलले गरे हिन्दु संस्कारअनुसार बिहे


USA behulo
गोरखाको बुङ्कोटस्थित भूकम्पले ध्वस्त भएको रामेश्वरी माध्यामिक विद्यालय पुनःनिर्माणमा सघाउँदै आएका एक अमेरिकी नागरिकले हिन्दु संस्कारअनुसार विवाह गरेको घटना यतिबेला चर्चाको सन्दर्भ बनेको छ । अमेरिकास्थित क्यालिफोर्निया राज्यका ५५ वर्षीय डानियल र ४९ वर्षीया लीलाबीच नेपाली परम्पराअनुसार विवाह भएको हो । डानियल क्रिश्चियन धर्म मान्छन् भने लीला हिन्दू धर्मावलम्वी हुन् ।

गाउँलेहरु दुलही पक्ष र दुलाह पक्षमा विभाजित हुँदै जन्ती आएका थिए । स्थानीय बाबुराम वाग्लेको घरबाट दुलाह, दुलही बाजागाजासहित मन्दिर पुगेका राससले जनाएको छ । पुरोहितले भनेअनुसार उनीहरु विवाह मण्डपमा बसे र शास्त्रअनुसार विवाह बन्धनमा बाँधिए । बुङ्कोट–९ मैलुङस्थित सरस्वती मन्दिर परिसरमा आजै ध्वजा, पटका टाँगिएको जग्गेमा उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् ।

विवाहमा ५०० जनाभन्दा बढी गाउँले भेला भएका थिए । भोजभतेरको पनि व्यवस्था गरिएको थियो । विदेशीले नेपाली परम्पराअनुसार विवाह गर्न जुटेपछि हेर्नेको घुइँचो लागेको थियो ।

विवाहको चाँजोपाँजो गर्ने व्यवस्था शिवशक्ति भजन समूहले मिलाएको हो । पुनःनिर्माणमा सघाउँदै आएको पार्मोनियर फाउन्डेसन नेपालका गौतम वाग्ले र चेत भट्टको संयोजनमा उनीहरुको विवाह सम्भव भएको हो । वाग्लेका अनुसार डानियल र लीलाले यसअघि नै ‘लभ’ गरेर विवाह गरे पनि भारतीयमूलकी मलेसियन नागरिक लीलाको आग्रहमा हिन्दू धर्म, परम्पराअनुसार पुनःविवाह गरिएको हो ।