हत्या गरिएका कृष्णप्रसादको मुद्दामा सुनुवाई सुरु

हत्या गरिएका कृष्णप्रसादको मुद्दामा सुनुवाई सुरु


कृष्णप्रसाद अधिकारीको हत्या 2

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको साक्षी बकपत्र आइतबारदेखि जिल्ला अदालत चितवनमा सुरु भएको छ । सशस्त्र द्वन्द्वको समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको बकुलहर आएका बेला कृष्णप्रसादलाई अपहरण गरेर हत्या गरिएको थियो । फुजेल–७ का अधिकारीमाथि जिल्ला अदालत चितवनमा कर्तव्यज्यान मुद्दा चलिरहेको छ ।

विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको र त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।

जिल्ला अदालत चितवनले गत साल वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये सात जनालाई धरौटीमा र चार जनालाई साधारण तारेखमा छाडेको थियो । दुई जना अदालतको सम्पर्कमा आएका थिएनन् । तीमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको थियो । सरकारी वकिलका तर्फबाट थुनछेक मुद्दालाई पुनरावेदन अदालतमा पेस भएकामा २०७१ साल असार महिनामा पुनरावेदन अदालत हेटौँडाले जिल्ला अदालत चितवनको आदेशलाई सदर गरेको थियो ।

त्यसपछि सर्वोच्च अदालतमा थुनछेक बहसपछि गत पुस ६ गते अभियुक्त १३ जनामध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारबाही किनारा गर्नू भन्ने आदेश दिइएको थियो । पौडेल फरार छन् । जिल्ला अदालत चितवनले सर्वोच्च अदालतको आदेशअनुरुप आजदेखि साक्षीको बकपत्र सुरु गरेको राससले जनाएको छ ।

किटानी जाहेरी परेकामा छविलाल सहित जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी (क र ख), मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी छन् । हत्या गरिएका कृष्णप्रसादका बुबा नन्दप्रसादको आमरण अनसनको क्रममा मृत्यु भइसकेको छ ।
कृष्णप्रसाद अधिकारीको हत्या