तरुण दलको महाधिवेशन भदौमा

तरुण दलको महाधिवेशन भदौमा


Tarun Dal

नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलको चौथो केन्द्रीय महाधिवेशन आगामी भदौ २४, २५ र २६ गते हुने भएको छ । आठ वर्षपछि हुन लागेको महाधिवेशन हुने स्थान भने तोकिएको छैन । महाधिवेशन तयारीका लागि तरुण दलले हालसम्म करिब ३० जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ भने कार्यतालिकाअनुसार आगामी जेठ १० गते गाउँ र वडा, १२ गते नगर, २० गते क्षेत्रीय तथा २५ गते बाँकी रहेका जिल्लामा जिल्ला अधिवेशन हुने जानकारी दिइएको छ ।

महाधिवेशनलाई सफल बनाउन तरुण दलले विभिन्न समिति गठन गरेको छ, जसअनुसार अर्थ समिति संयोजकमा राधा घले, व्यवस्थापन समिति संयोजकमा कृष्णदत्त पनेरू, नीति, दृष्टिकोण कार्यक्रम निर्माण समिति संयोजकमा नारायणप्रसाद भट्टराई, प्रचारप्रसार समिति संयोजकमा मेदनीप्रसाद सिटौला, अतिथि सत्कार समिति संयोजक टेकराज पौडेल तथा स्वयम्सेवक समिति संयोजकमा विनोद पन्तलाई तोकेको छ ।

यसै क्रममा तरुण दल अध्यक्ष उदयशमशेर राणाले भूकम्पपछिको पुनर्निर्माणमा ढिलासुस्ती भएको तथा सरकार स्वयम् लागेर कालोबजारी गरेको आरोप लगाउँदै आफ्नो सङ्गठन अब चुप लागेर नबस्ने, त्यसविरुद्ध आफूहरू आन्दोलनमा उत्रने बताए ।