बाबुरामका ज्वाइँले यसरी पोखे गुनासो

बाबुरामका ज्वाइँले यसरी पोखे गुनासो


Jakendra-shrestha
नयाँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्य जेकेन्द्र श्रेष्ठले नयाँ शक्ति विद्यार्थी यूनियन, केन्द्रीय सम्मेलन आयोजक समितिको बैठकको विषयलाई लिएर आफ्नो नाम जोड्दै केही सञ्चार माध्यमले आफूबारे अफवाहपूर्ण प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । बाबुराम भट्टराईका ज्वाइँसमेत रहेका जेकेन्द्रले एक विज्ञप्ति प्रकाशित गरी नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र वहाँको परिवारसँग जोडेर निरन्तर रुपमा अभियानात्मक ढंगले भ्रमपूर्ण प्रचार गरिनुले आmूलाई दुःखीत तुल्याएको बताएका छन् ।

अनर्गल प्रचारले सर्वसाधारणमा भ्रम पर्न सक्ने भएकोले विज्ञप्ति जारी गर्नुपरेको प्रस्ट्याउँदै उनले भनेका छन्– ‘पछिल्लोपटक नयाँ शक्ति निकट विद्यार्थीको बैठकमा ‘जेकेन्द्रले हातपात गरेको’ भन्ने आशयको समाचार आफैंमा कपोलकल्पित, भ्रामक र बदनियतपूर्ण छ । पत्रकारिताको न्यूनतम मूल्य, मान्यता र आचारसंहितालाई समेत ठाडो उल्लंघन गर्ने यस्तो अभ्यासले न त स्वतन्त्र पत्रकारिताप्रतिको सम्मान बढ्छ न त लोकतन्त्रलाई नै बलियो बनाउँछ । नियोजितरुपमा सिर्जना गरिने अतिरञ्जना र समाचार फरक–फरक कुरा हुन् भन्ने सामान्य ज्ञानको पनि ख्याल नगर्नु पत्रकारिताप्रतिको जनविश्वासलाई कमजोर बनाउनु हो । कसैको विषयमा समाचार बनाउँदा सम्बन्धित व्यक्ति वा निकायसँग प्रतिक्रिया लिने पत्रकारिताको सामान्य अभ्यासलाई पनि लत्याएर चरित्र हत्या गरिनुले प्रेस जगतलाई नै बदनाम गराउने काम गर्दछ । म यस्ता भ्रमपूर्ण समाचारको खेती गर्दै सर्वसाधारणलाई भ्रमित नतुल्याउन अनुरोध गर्दछु र आम जनसमुदायलाई यस्ता अफवाहपूर्ण प्रचारप्रसारबाट भ्रमित नहुन विनम्र अनुरोध गर्दछु ।’

यसैबीच नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले शान्ति सम्झौताबाट पछि हटेर गरिने कुनै पनि गतिविधि नयाँ शक्तिलाई मान्य नहुने बताएका छन् । मंगलबार बुढानीलकण्ठ नगरपालिकामा नयाँ शक्ति नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘द्वन्द्वकालीन मुद्दाहरुलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगले निष्पक्ष छानबिन गर्नुपर्छ ।’

नेता पौडेलले द्वन्द्वकालीन घटनाहरुप्रति पूर्वाग्रह राखियो भने मुलुक अगाडि बढ्न नसक्ने उहाँको तर्क थियो । उहाँले नयाँ शक्तिले वैशाख ३० गतेभित्र देशभरीका सबै नगरपालिकामा पार्टीको अन्तरिम संचरना बनिसक्ने बताए ।