आँशु चुहिएको कार्यक्रम -निर्भीक राई

आँशु चुहिएको कार्यक्रम -निर्भीक राई


(पारिजात पुरस्कारवितरण २०६४)
गैरवामपन्थी गणतान्त्रिक नेता नरहरि आचार्यको मञ्चासनले म व्यग्रताको साथ उनको मन्तव्यको पर्खाइमा थिएँ । उनले बताए, “पारिजातको साहित्य आफूले पढेकोछु । तिनीसँगको सामीप्य नभए पनि लक्ष्मीप्रसादजस्तै तिनी प्रतिभाशाली थिईन् । लक्ष्मीप्रसादले मुना-मदनबाहेक सबै कृति जलाए हुन्छ भने र पारिजातले चाहिँ ‘शिरीषको फूल’ च्यातिदिए हुन्छ भनिन् तर कुनै पनि कृति छापिएर सार्वजनिक भएपछि त्यसलाई राख्ने वा मास्ने भन्ने अधिकार स्वतः पाठकमा रहने रहेछ अर्थात् न ‘मुनामदन’ बाहेक देवकोटाको अन्य कृति जलाइए न पारिजातको ‘शिरीषको फूल’ नै च्यातिए ।”

पारिजातको ‘शिरीषको फूल’ को शून्यवाद वा निराशामा पाठकले आशा पाए भन्दै उनले भनिरहँदा केही थपडी पड्कियो । मेरो घैँटोमा घाम लागेकोले स्वःस्फूर्त रुपमा मैले पनि रमाउँदै ताली ठोकेँ ।

पारिजात स्मृति प्रतिष्ठानको अध्यक्ष सुकन्याले बोलिन्, “तिनी जिद्धीवाल, कुनै बेला अराजक पाराकी । एकचोटि अर्काको घरमा अरुलाई भरेको तोङ्बा तनतनी पिएर लम्पसार सुतिन् । मलाई तनावले सताउँदा तिनको फोटो हेर्दा मात्र पनि तनाव कम भएको महशुस हुन्छ, शक्ति मिलेको अनुभव हुन्छ । तिनले अन्तिम क्षणहरुमा भनेकी थिईन् कि जस्तै सङ्कटमा पनि तैँले हरेस चैँ नखानू ।”

यी भनाइहरुको अन्तिमतिर मेरो आँखा निरन्तर रसाएर रुमालले सोस्नु पर्ने भइसकेको थियो । अनावश्यक भावुकता ठान्दै सम्हाल्ने मेरो प्रयास विफल हुँदै थियो । म एक्लै भए निःसङ्कोच, धीतमर्दो म आँशु बगाउँथे । पातलो अँध्यारोमा भए पनि आँशु चुहुँदा लाजले सताउँछ । तिनीले त्यसरी संस्मरण कहिरहँदा श्रोता दीर्घाबाट चुक्चुकाएको आवाजले झन् मेरो आँशु चुहाउन सघाइरहेको थियो ।

तिनले बोल्ने क्रममा अझै भन्दै थिइन्, “पारिजात कल्पनाशील थिईन् । अनेक योजना बनाउँथिईन् ।” यी भनाइले साहित्यकार कल्पनाशील हुनुपर्छ वा आफू पनि त्यस्तै छु भन्ने लागेर मेरो खुब चित्त बुझदा आँशु उमार्न थप मद्दत गर्दै थियो । तिनले पारिजातसँगको संस्मरण भनिरहँदा पारिजातको संस्मरण पढ्दाको घतलाग्दो कुराहरु बल्झिएकोले ममा भावुकताको बाढी उर्लिरहेको थियो ।

पारिजातको ‘शिरीषको फूल’ को कला पक्षको मूल्याङ्कन गर्न नसकी पूर्वाग्रही ढङ्गले त्यसलाई लिने र त्यसको शून्यवादी दर्शनसँग असहमत हुने कथित प्रगतिवाद समालोचकले जे सुकै भने पनि म आफू भने तिनको उपमा नै उपमाले भरिएको र सूक्ष्म ढङ्गको विश्लेषणात्मक शैलीसँग अति लोभिएको र आफू निराशामा भासिएको बेला उक्सिन त्यसको शून्यवादी दर्शनलाई प्रयोग गर्दै आएको मान्छे परेँ । मैले सबभन्दा बढी दोहोर्‍याएर पढेको र किनेको पुस्तक ‘शिरीषको फूल’ हो ।

कार्यक्रम सिद्धिएर मञ्च खाली हुँदै गरेकोमा मञ्जुल नरहरितिर लम्कँदै बोले, “राम्रो बोल्नुभयो ।” मैले पनि थपेँ, “पाठकले निराशामा नै आशा पाए भन्ने तपाईँको भनाइ मलाई सार्‍है चित्त बुझदो लाग्यो । मैले उनको राम्रो लागेको भनाइ उद्धृत गरी सुर्क्याएँ न कि मञ्जुलले जस्तो राम्रो त राम्रो कुन राम्रो । उनले हाँस्दै मतिर हात बढाए ।

गोविन्द भट्ट, भद्रकुमारी घले, निनु चापागाईँ र रुद्र खरेललाई पनि त्यहाँ मैले देखें ।

जन्मथलो : नेपालेडाँडा, भोजपुर, हाल : मनमैजु, काठमाण्डू ।