ओलीले धरानमा दिए यस्ता आश्वासन

ओलीले धरानमा दिए यस्ता आश्वासन


Oli Dharan

(धरान) । नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ५१ वर्षे राजनीतिक दौरानमा धरानलाई राम्ररी बुझेको र धरानको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताएका छन् । नेकपा एमाले धरान विशेष ईलाका कमिटीको सातौं नगर अधिवेशन उद्घाटनको सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

धरानको मुख्य सडकलाई फराकिलो बनाउन अप्ठ्यारो भएको हुँदा धराने जनताको चाहनाबमोजिम सेउती खोलाको छेउबाट बाइपास रोड बनाइनेमा प्रधानमन्त्री ओलीले जोड दिए । साथै उनले धराने जनताको साथ र सहयोग भएमा यसैवर्षको बजेटदेखि काम थाल्ने समेत बताए ।

धरानको विकास गर्न आफु लालायित भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले धरान–१४ विजयपुरस्थित निर्माणाधीन बहुजातिय संग्रहालयका लागि सरकारले सक्दो सहयोग गर्ने बताउँदै भने– ‘संग्रहालयको लागि आवश्यक जमिन कमी भएको छ, त्यतातिर ध्यान दिन संग्रहालय निर्माणकर्तालाई आग्रह गर्दछु ।’

सोही क्रममा प्रधानमन्त्री ओलीले धरान–चतरा, कटारी उदयपुरहुँदै काठमाडौंसम्म पुग्ने बाटो र किमाथांका–विराटनगरमा दुइलेनको पक्की बाटो केही वर्षभित्रमा पुरा गर्ने आश्वासन पनि दिए । धरानको विकास निर्माणका लागि अधिकांश समय खर्चिएका प्राधानमन्त्री ओलीले नेपाली जनताको लगानीमा अरुण आयोजना सञ्चालनमा ल्याई लोडसेडिङको मार खेपिरहेका जनतालाई राहत दिने समेत बताए ।

फरक प्रसङगमा प्रम ओलीले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको दाबी गर्दै यसलार्ई संस्थागत गरेर लानुपर्ने बताए । अमेरिका, भारत जस्ता देशहरुभन्दा उत्कृष्ट संविधान रहेको दाबी गर्दै यो संविधानमा केही कमी–कमजोरी भए अझै पनि छलफल र वार्ताका माध्यमबाट संशोधन गर्न सकिने उनको कथन थियो । उनले असन्तुष्ट दलहरुलाई कसरी मिलाएर लैजाने भन्ने विषयमा सर्वदलिय छलफल हुने भएकोले छलफलमा सहभागी भई संविधानमा असन्तुष्ट रहेका विषयमा छलफल गर्न समेत सबै असन्तुष्ट पक्षलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले पटक–पटक भुकम्पको पीडामा परेको नेपाल २०७२ को भुकम्पमा विद्यालय, कलेज र पुरातात्विक सम्पदाहरु भग्नावशेषमा परिणत भएकाले ती भत्किएका संरचनाहरुको पुनःनिर्माणको लागि प्रत्येक नेपालीेलाई स्वयंसेवकको रुपमा खटिन आग्रह गरे । साथै उनले भुकम्पबाट भत्किएका नेपाली जनताका घरको पुनःनिर्माणका लागि आफुले प्रत्येक पार्टीका नेतालाई आफ्ना स्वयंसेवक पठाइदिन आग्रह गरेको खुलासा पनि गरे ।

नेकपा एमाले धरान नगर अध्यक्ष तारा सुब्बाको सभापतित्वमा सम्पन्न सो कार्यक्रमबीच धरानको विकासमा योगदान पुर्याउन महत्वपूर्ण भुमिका खेल्नुहुने सात जना व्यक्तित्वलाई प्रधानमन्त्री ओलिले सम्मान गरेका थिए । सम्मानित हुनेमा नेकपा एमाले पार्टीमा सक्रिय राधा गुरुङ, शिक्षामा योगदान पुर्याएका टेकबहादुर राई, साहित्य क्षेत्रमा टेवा पुर्याउने पुर्णबहादुर गुरुङ, फरक क्षमता भएकी साहित्यकार लक्ष्मी राई, फुटबल क्षेत्रमा योगदान पुर्याएका राष्ट्रिय मुख्य प्रशिक्षक राजुकाजी शाक्य, कलाकार प्रेम सुब्बा र जनगायक सुरेश गन्धर्व छन् ।

– मनिता चाम्लिङ