मिहिनेत नगर्नेलाई अमेरिका उपयुक्त थलो होइन

मिहिनेत नगर्नेलाई अमेरिका उपयुक्त थलो होइन


Harish Chandra Hamal

– हरिशचन्द्र हमाल

सन् १९९६ मा यूएनको एक कार्यक्रम (वल्र्ड एनजीओ फेडेरेसनको सम्मेलन)मा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका हरिशचन्द्र हमालका दुई दशक त्यहीँ बितिसकेका छन् । ‘ल्यान्ड अफ अपर्चुनिटी’का रूपमा समेत चिनिने मुलुक अमेरिकामा बगाएको पसिनाले हरिशचन्द्रलाई आज चाहिँदो सम्पत्ति र सुख–सन्तोष दिलाएको छ । विभिन्न गैरसरकारी सङ्घ–संस्थामा संलग्न रही सामाजिक कार्यकर्ताको रूपमा सक्रिय रहँदा सन् १९९६ मा यूएनले ‘वल्र्ड एनजीओ फेडेरेसन’को कार्यक्रममा सहभागी हुन निम्ता दियो र न्युयोर्कस्थित यूएन मुख्यालयमा आयोजित कार्यक्रममा भाग लिन यूएनडीपीको सिफारिसमा उनी न्युयोर्क पुगेका थिए । नेपालको परिस्थिति त्यतिबेला विषम किसिमको भएको र घरायसी समस्याबाट पनि गुज्रिनुपरेकोले सुनौलो भविष्यको खोजीमा रहेका जल्दोबल्दो उमेरका मिहिनेती युवा हमाल अमेरिकामै अल्झिए । पछि परिवारसमेत उतै लगेपछि त स्थायी बसोबास नै उतै भयो । तर, अमेरिकाको चमकदमकमा रहे पनि आधामन हरदम नेपालतिरै रहने गरेको अभिव्यक्ति दिन्छन् उनी ।

आफूले नेपालमा गरिरहेको मानिसहरूको सेवा गर्ने कामकै प्रकृतिसँग मिल्ने काम अमेरिकामा पनि पाउनुलाई आफ्नो सौभाग्य सम्झिने हमाल विगत पन्ध्र वर्षदेखि न्युयोर्ककै टप फाइभमध्येको एक स्वास्थ्य बिमा कम्पनीको एजेन्टको रूपमा कार्यरत छन् । अमेरिकावासी नेपालीले आयोजना गर्ने विभिन्न कार्यक्रमका साथै राजनीतिक दलका कार्यक्रममा सहभागी हुने, सामाजिक काममा सरिक हुने, मर्दापर्दा सहयोगी बन्ने उनको थप दिनचर्या छ । सुरुदेखि नै एनआरएनका गतिविधिमा संलग्न रहँदै आएको र पछिल्लो अधिवेशनबाट एनआरएनएको बोर्ड अफ डाइरेक्टर्समा निर्वाचित भई एनआरएनएको अभियानमा सक्रिय उनी स्वदेशप्रति आफू अत्यन्त नतमस्तक रहेको अभिव्यक्ति दिन्छन् । अमेरिकावासी नेपाली वृद्ध अवस्थामा अमेरिकाको वृद्धाश्रममा नथन्किऊन्, फर्केर नेपालमै बसून् र पेन्सनबापत अमेरिकाबाट हासिल हुने रकम नेपालमै खर्च गरून् भन्ने धारणा राख्छन् उनी । आफू पनि कामबाट रिटायर्ड भएपछि स्वदेश फर्किएर यहीँ केही गर्ने योजनामा रहेको खुलासा गर्छन् हरिशचन्द्र हमाल ।

दार्चुलाको गोकुलेश्वरमा वि.सं. २०१८ मा जन्मेका हरिशचन्द्र हमालले किशोरवयमै पितृवात्सल्यबाट विमुख हुनुपर्‍यो । प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा उनका पिता रामचन्द्र हमाललाई ०३० सालमा तात्कालिक शासन–व्यवस्थाले सेन्ट्रल जेलभित्रै हत्या गराएको थियो । प्रजातान्त्रिक आन्दोलनमा आफ्ना पिताको ठूलो योगदान भएकै कारण हरिशचन्द्रको नसा–नसामा प्रजातन्त्रप्रति लगाव रहेको छ । अत्यन्त शालीन एवम् मृदुभाषी हरिशचन्द्र हमाल हालै केही दिनका लागि स्वदेश आउँदा ‘घटना र विचार’सँग भेटिए । प्रस्तुत छ, एनआरएन अभियन्ता हमालसँग गरिएको कुराकानी :

Harish C. Hamal

० तपाईंले २० वर्षअघि छोडेर गएको नेपाल र अहिलेको नेपालमा के–कति फरक पाउनुभयो ?
– जमिन–आसमानकै फरक पाएँ । पहिलेको तुलनामा विकास धेरै भएको छ नेपालमा । भवनहरू उल्लेख्य बनेका छन्, अस्पताल, स्कुल बनेका छन् । बैंक तथा वित्तीय संस्थाहरू निकै खुलेका छन् । गाउँ–गाउँमा पिचबाटो बनेका र भएका सडक फराकिला भएका छन् । यस्ता थुप्रै कुराले पहिलेको तुलनामा विकास देखिएको छ । तर, यी सकारात्मक कुराका बाबजुद बेरोजगारीले देश आक्रान्त भएको पाएँ । भलै नेपालबाट करिब २०–३० प्रतिशत युवाहरू बिदेसिएर पनि रोजगारीमा छन्, तथापि जो–जति युवा स्वदेशमा छन्, ती बेरोजगारीका कारण पीडित छन्, आक्रान्त छन् । उद्योगधन्दा छैन मुलुकमा । यो विडम्बनापूर्ण छ ।

० प्रजातन्त्र आएको तीन दशक पुग्न लाग्दा पनि मुलुकले समृद्धिको फड्को मार्नचाहिँ किन नसकेको होला जस्तो लाग्छ तपाईंलाई ?
– यो राजनीतिक अस्थिरताको कारणले हो । नेपाल सुरुदेखि नै राजनीतिक अस्थिरताको सिकार बन्यो । देशको अवस्था सधैँ सङ्क्रमणबाट गुज्रियो । हामी नागरिक आशा गरिरहेका छौँ कि अब त राम्रो होला, अब त पक्कै होला…, तर राजनीतिक स्थिरता कायम हुनै सकेन । मूलत: यसै कारणले देशले समृद्धिको बाटो पक्रनै पाएन ।

० यसरी राजनीतिक अस्थिरता कायम रहनुको कारण आन्तरिक या बाह्य कुनचाहिँ होला ?
– यसमा हाम्रै या आन्तरिक भूमिकाले नै काम गरेको छ भन्ने लाग्छ मलाई । नेपाली जनताकै कमजोरी हो । किनकि, जनताले चुनेर पठाएका मानिसले नै हामीलाई गभन्र्स गर्ने हो । पहिलो कमजोरी जनताको अनि जसलाई चुनेर पठाइयो तिनीहरू असक्षम हुनु दोस्रो कमजोरी हो । जनताले जुन अपेक्षा राखेर निर्वाचित गरेका हुन्, त्यसअनुसार प्रतिनिधिले काम नगरी निहित स्वार्थमा काम गर्ने व्यक्तिहरूको बाहुल्य भयो शासन–सत्तामा, तलको सुनुवाइ भएन । कुरा धेरै भए, तर काम भएन । यसले गर्दा मुलुक यथास्थितिमा रहेको हो । यस अवस्थाबाट छुटकारा पाउन बीपीले भन्नुभएजस्तो राजनीतिक क्रान्ति त भयो अब आर्थिक क्रान्तिमा एकोहोरो भएर लाग्नु अपरिहार्य छ । आर्थिक क्रान्तिका लागि सबै क्षेत्र र तह–तप्काबाट पहल हुनुपर्छ अब । सकारात्मक कामै नभएका भन्ने त होइन, तर मिसम्यानेजमेन्ट भएको छ, यसलाई सुधार्नुपर्छ, देशमा स्थिरता हुनुपर्छ ।

० तपाईंहरू अमेरिका बसेर देशको माया लागेको कुरा गर्नुहुन्छ, यो देखावटी माया हो कि हृदयदेखिकै हो ?
– स्वदेशबाट टाढा रहेकाले हाम्रो दुई नाउमा खुट्टा रहेको यथार्थ बताइरहनु नपर्ला । तथापि, जहाँसम्म मलाई स्वदेशको माया कति छ या छैन भन्ने सवाल छ, अरूको हकमा के–कसो हो भन्न सक्दिनँ, तर म बिहान उठ्नेबित्तिकै पहिला एक घन्टा न्युजपेपरमै केन्द्रित हुन्छु । अरूजस्तो योगा गर्ने, मर्निङवाकमा जाने नगरी म मुलुकप्रति चासो राखेर समाचार बुझ्न खोज्छु । अरू आवश्यक काम गरूँ या नगरूँ, योचाहिँ मैले गरेकै हुन्छु । अर्थात्, मेरो दैनिकी नै हो यो । दिनमा र बेलुका पनि अपडेट हुन्छु । मतलब पूरै नेपालकै चासो र चिन्ता छ मलाई । किनकि, मेरो रगतमै राजनीति छ । बच्चाकालको सम्झना हुन्छ मलाई कि अराष्ट्रिय तत्त्व भनेर हाम्रो परिवारको सर्वस्व हरण गरिएको थियो । भारत प्रवासमा बस्नुपर्‍यो हाम्रो परिवार । मेरो बाल्यकालको पढाइ भारतमै भएको हो । रगतमै देशको शासन व्यवस्थाप्रतिको चासो र चिन्ता भएकाले केही गरी त अब मेरो देशमा स्थिरता आउला, नेपाल र नेपालीले समृद्धि र सुखका दिन अब देख्न पाउलान् कि भनी हरदम–हरदम म ब्याकुल रहेको हुन्छु । देखावटी होइन किन हो किन मलाई मेरो देश नेपालको अत्यन्तै चासो र माया लाग्छ । कुनै भाग खोजेर होइन, यत्तिकै माया लागेर आउँछ । कसैले हस्तक्षेप नगरोस्, शान्त, सुन्दर र समृद्ध नेपाल अस्तित्वमा रहिरहोस् भन्ने मेरो अन्तस्करणको चाहना हो ।

० अमेरिका बस्ने सबै नेपालीले नेपाललाई यस्तै माया गर्दा हुन्, के लाग्छ तपाईंलाई ?
– माया त सबैमा छ । तर, त्यसलाई कसरी दर्शाउने भन्ने कुरा मानिसको शिक्षा र सोचको स्तरले पनि निर्धारण गर्छ । मजस्तै स्वदेशको चासो र चिन्ता गर्ने अमेरिका बस्ने नेपालीमध्ये पचास प्रतिशत त होलान् नै । यसमा डेटुडे अपडेट भएर रहनेचाहिँ दश प्रतिशतजति मात्र होलान् । किनकि, भगवान्को कृपाले मैले पो सजिलो र राम्रो काम पाएको छु, त्यहाँ त १२–१४ घन्टा काममा लाग्नुपर्ने हुन्छ । त्यसले गर्दा चाहेर पनि तमाम अमेरिकावासी नेपाली दाजुभाइ–दिदीबहिनीहरूले आफ्नो देशका प्रति चासो–चिन्ता दर्शाउने समय नपाइरहेका हुन सक्छन् ।

० अमेरिका भनेको स्वर्गै हो, अनि त्यहाँ गएपछि त पैसाको खोलै बग्छ भन्ने ठान्छन् यहाँ, के यस्तै हो त ?
– यो एकदम गलत सोचाइ हो । अमेरिका पुगेपछि यत्तिकै पैसा वर्षन्छ भन्ने कसैले ठान्छ भने ऊ ठूलो भ्रममा परेको मान्नुपर्छ । जति मिहिनेत अमेरिकामा गरिन्छ त्यत्तिकै अनुशासित र इमानका साथ नेपालमा काम गर्ने हो भने यहाँ पनि केही न केही हुन्छ । पीएचडी नै गरिसकेका व्यक्ति किन नहुन्, नेपालबाट अमेरिका गएर बच्चाहरूको टेकिङ केयर गर्ने, फुड इन्डष्ट्रिजमा कामदार बन्नेलगायत यहाँको हेराइमा तल्लोस्तरको काम गरिरहेका हुन्छन् । त्यही काम नेपालमा गर्न ‘हेजिटेसन’ हुन्छ । तथापि, अमेरिकामा कुनै पनि कामको महत्त्व र इज्जत हुन्छ, यो आफ्नै ठाउँमा छ । म पनि त्यस्तै अवस्थाबाट गुज्रिएको व्यक्ति हुँ । जुन काम म यतिबेला गरिरहेको छु, यो त सत्रौँ जागिर हो मेरो । सुरुमा एक घन्टाको जम्मा दुई डलरमा काम गर्थें म, अहिले घन्टाकै ४० डलर छ । मैले काम गर्ने कम्पनी न्युयोर्ककै ठूला पाँचमध्येको एक कम्पनी हो । दुई डलर कमाउने हैसियतमा हुँदा साताको ८० घन्टा काम गर्थें भने अहिले ३५ घन्टा मात्र काम गर्न पाइने सीमामा बाँधिएको छु । सारमा बुझ्नुपर्दा मिहिनेत नगर्ने व्यक्तिका लागि अमेरिका उपयुक्त थलो होइन, बिनापरिश्रम अमेरिकमा त्यत्तिकै पैसा फल्दैन ।

० अमेरिकामा आमनेपालीको अवस्था कस्तो छ, बताउन मिल्ला ?
– लगभग एक हजारजति डाक्टर, पाँच–सात हजार इन्जिनियर अमेरिका पुगेका होलान् । तिनीहरूको तलब राम्रो छ । यसरी जसले प्रोफेसनल जव पाएका छन्, तिनको अवस्था राम्रो छ । तर, सबैको हकमा त्यस्तो छैन । अमेरिकामा हरेक कामका लागि लाइसेन्स लिनुपर्छ । त्यसरी लाइसेन्स नलिएकाहरूले नेपालमा सानातिना या तल्लो तहका मानिने काम नै गर्नुपर्ने हुन्छ त्यहाँ । अहिले अमेरिकामा कैयन नेपालीले ड्राइभिङ गरेर (ट्याक्सीचालक भएर) आम्दानी गरिरहेका छन्, रेस्टुरेन्टमा काम गर्ने पनि निकै छन्, आजकाल धेरै फस्टाएको अर्को काम छ ब्युटी सलोन । यस्तै, चाइल्ड केयर गर्ने महिला पनि प्रशस्तै छन् ।

० अमेरिकाप्रति मानिसमा जुन आकर्षण छ, यो केले गर्दा होला भन्ने लाग्छ तपाईंलाई ?
– मेरो बुझाइमा त्यहाँको एजुकेसन राम्रो छ, त्यहाँको रुल एण्ड रेगुलेसन तारिफलायक छ, विश्वकै वेस्ट ट्रिटमेन्ट छ त्यहाँ, अमेरिकी करेन्सीको भ्यालु बढी छ, अनि हरेक कामको इज्जत छ अमेरिकामा । कसैले कसैलाई कामको स्तरका आधारमा अपहेलित गर्न पाउँदैन । मुख्य कुरा केही मिहिनेती छ भने उसलाई ‘टप’मा पुग्ने अवसर अमेरिकामा प्रशस्तै छ । सायद यिनै कारणले अमेरिकाप्रति मानिसमा बढ्ता आकर्षण छ ।

० अमेरिका जान मरिहत्ते गर्नेहरूलाई तपाईं के सुझाब दिनुहुन्छ नि ?
– यसरी अन्धाधुन्द रूपमा अमेरिका प्रवेश गर्दा आफैँलाई धोका हुन सक्छ । अमेरिका जानुभन्दा अगाडि आफूसँग कुनै स्किल छ कि छैन, भाषाको ज्ञान के–कति छ भन्ने कुरा एकदम मनन गर्नुपर्छ । बिनापेपर त्यहाँ जाँदा या त काम नै पाइन्न या लुकेर काम गर्नुपर्ने हुन्छ, त्यसरी काम गर्दा अन्डरपेड हुन्छ र शोषणमा परिन्छ । डीभी परेरै जानेले पनि काम सिकेर जानुपर्छ । ड्राइभिङ सिकेर लाइसेन्स लिएर जानु अपरिहार्यजस्तै छ । कुनै न कुनै कामको यहीँ तालिम लिएर जानु अत्यन्त हितकर हुन्छ, नत्र दु:ख पाइन्छ ।

० सामान्य रोजगारीका लागि नेपालबाट दिनहुँ हजार–पन्ध्र सय युवाहरू बिदेसिने गरेका छन्, यसलाई रोक्न के गर्नुपर्ला, कुनै सुझाब छ तपाईंसँग ?
– यो ट्रेन्ड रोक्नु अत्यन्त जरुरी छ । यसका लागि नेपालमा रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । उद्योगधन्दा खोल्न विशेष पहलकदमी लिनुपर्छ सरकारले । अवसर सिर्जना नगरी यसरी बाहिर पठाएर रेमिट्यान्स ल्याउने र काम चलाउने सोच यदि सरकारले राख्छ भने यसले मुलुकलाई अन्तत: बर्बाद तुल्याउँछ । देशभित्रै अवसर सिर्जना गर्नुपर्ने हुन्छ ।

० अमेरिका पुगेर पनि नेपाली राजनीतिक क्रियाकलापमा संलग्न रहने गरेका छन्, किन होला ?
– हो, यो प्रवृत्ति अमेरिकावासी नेपालीमा अत्यन्तै चर्को रूपमा देखिन्छ । अमेरिकाभरमा नेपालीले जातिका नाममा, क्षेत्रका नाममा, पार्टीका भ्रातृ सङ्गठनको रूपलगायत यस्तै विभिन्न ब्यानरमा खोलेका सङ्घ–सङ्गठनको सङ्ख्या नै ६ सयभन्दा बढी छ । न्युयोर्कमा मात्रै सयभन्दा बढी छन् । यो एउटा विकृति नै हो भन्छु म । किनकि, यसरी सङ्गठन खोलेर अनावश्यक टेन्सन, झमेला र झगडा व्यहोरेका छन् नेपालीले । यस्ता क्रियाकलापमा लागेर उनीहरूले व्यावसायिक जीवनमा घाटा नै व्यहोरिरहेका छन् र पनि संलग्नता छोडेका छैनन् ।

० अमेरिकामा पनि यसरी सङ्गठन खोल्नुपर्ने के बाध्यता होला नेपालीलाई ?

– मेरो विचारमा यो ‘आइडेन्टिटी क्राइसिस’का कारण हो । त्यहाँ पहिचानको समस्याका कारण यसरी सङ्गठन बनाएर आफ्नो परिचय बनाउन खोजेका होलान् भन्ने लाग्छ मलाई । अमेरिकालाई ‘ल्यान्ड अफ अपर्चुनिटी’ पनि भनिन्छ । मिहिनेत गरेर पैसा कमाएपछि पहिचान खोज्न थाल्छ व्यक्ति, सोसल प्रेस्टिज खोज्ने त मानवीय स्वभाव नै हो । आफूलाई चिनाउन एउटा ‘छाता’ बनाउने, आफैँ अध्यक्ष बन्ने, अनि सकभर कहिल्यै त्यो ओहोदा नछोड्ने । यस्तै छ अमेरिकामा एकथरी नेपालीको रवैया ।

० पार्टी–पार्टीबीच यहाँजस्तै अस्वस्थ व्यवहार या फरक पार्टीका व्यक्तिसँग पानीबाराबार गर्ने प्रवृत्ति अमेरिकामा पनि छ कि ?
– आश्चर्यको कुरा छ कि फरक पार्टीका व्यक्तिसँग त बरु मेलमिलाप या राम्रो व्यवहार गरेका देखिन्छन्, तर आफ्नै पार्टीभित्रचाहिँ मारामारको अवस्था रहेको देख्छु म । एउटा काङ्ग्रेसी अर्को काङ्ग्रेसीप्रति द्वेष पालिरहेको हुन्छ, एमाले र राप्रपाभित्र पनि यस्तै रोग देखिन्छ । यस्तो बढी विकृतिचाहिँ काङ्ग्रेस पार्टीभित्र छ ।

० तपाईं एनआरएनएको नेतृत्वदायी स्थानमा हुनुहुन्छ, उक्त संस्थामा तपाईंको संलग्नताचाहिँ केका लागि नि ?

– मैले त भनिहालेँ, मेरो रगतमै राजनीति घोलिएको छ । तर, व्यक्तिगत स्वार्थसिद्धिका लागि नभएर सेवाभावबाटै म प्रेरित छु । मुलुकको राम्रो होस्, नेपालीले सुख–शान्ति पाऊन् भन्ने भावनाबाट म ओतप्रोत छु । हो, यही भावनालाई व्यवहारमा प्रयोग गर्नका लागि एनआरएनए एउटा उपयुक्त माध्यम हो । यतिबेला म एनआरएनएको बोर्ड अफ डाइरेक्टर छु र आफूसक्दो कर्म गरिरहेको छु । नेपालीले विदेशमा रहेर कमाएको धन नेपालको उन्नतिमा प्रयोग होस् भन्ने उद्देश्य यो संस्थाले राखेको छ । वास्तवमा यो संस्था आफ्नो उद्देश्यअनुसार प्रभावकारी भूमिकामा देखिएको पनि छ । सरकार नपुग्ने ठाउँमा पनि एनआरएनए पुगेको छ । त्यसैले एकपटकको नेपाली सधैँका लागि नेपाली भन्ने हाम्रो स्लोगनलाई नेपाल सरकारले पनि आत्मसात् गरोस् भन्ने माग छ हाम्रो ।

० अन्त्यमा ?
– म के भन्न चाहन्छु भने प्रजातान्त्रिक आन्दोलन या प्रजातन्त्र पुनस्र्थापनाको अभियानका क्रममा सहिद भएका कैयनलाई अझै सहिद घोषणा गरिदिएको छैन सरकारले । देशमा प्रजातन्त्र आयो, मुलुकमा यत्रो परिवर्तन भयो, तर जसले साँचो अर्थमा आफ्नो बलिदान गरेका थिए, राष्ट्रले तिनको सही मूल्याङ्कन गर्न सकेको छैन । यस कुरामा सरकार संवेदनशील बन्नुपर्छ र वास्तविक सहिदलाई सहिद घोषणा गरिनुपर्छ ।

प्रस्तुति : जयप्रकाश त्रिपाठी