बक्सिङमा मेरो उपस्थिति केही लिन नभई दिनका लागि हो

बक्सिङमा मेरो उपस्थिति केही लिन नभई दिनका लागि हो


Ram Awale 2

राम अवाले (पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी)

त्यतिबेला उनको नाम चर्चाको शिखरमा थियो, जुनबेला उनले काठमाडौंमा सम्पन्न पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा रजत पदक जितेका थिए । यही उत्कृष्ट प्रदर्शनका कारण तत्कालीन राखेपका सदस्यसचिव शरदचन्द्र शाहले समेत उनको खुलेर प्रशंसा गरेका थिए । तत्कालीन समयमा शाहले उनलाई बक्सिङको उज्ज्वल भविष्यको रूपमा समेत चित्रित गरेका थिए । होचो कद, तर फुर्तिला उनले बक्सिङ खेलाडीको रूपमा पाँच वर्ष मात्रै मुलुकका लागि खेल्ने अवसर पाए पनि आफ्नो तौल–समूहमा सधैँ अब्बल रहेका थिए । छोटो समयमा लामो फड्को मारेर नेपालआमाको छातीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक झुन्ड्याउन सफल भएका उनी हुन्– राम अवाले । उनै अवाले अहिले नेपाल बक्सिङ सङ्घको अध्यक्षमा उठ्ने घोषणा गरेर चर्चामा आएका छन् । विगतमा नेपाल बक्सिङ सङ्घको कोषाध्यक्षको जिम्मेवारी कुशलताका साथ निर्वाह गरिसकेका उनै चर्चित बक्सिङ खेलाडी राम अवालेसँग बक्सिङको समसामयिक विषयमा केन्द्रित रहेर घटना र विचारका लागि श्रीविक्रम भण्डारीले गरेको विशेष कुराकानी :

० बक्सिङमा हराएको मान्छे एक्कासि ललितपुर जिल्ला बक्सिङ सङ्घको अध्यक्ष बनेर झुल्किनुभो, यसको रहस्य के होला ?
– म बक्सिङको पूर्वखेलाडी भएको नाताले यस क्षेत्रमा हराउने भन्ने कुरै आउँदैन । नेतृत्व लिने विषयमा पहिले आठ वर्ष मैले नेतृत्व लिएर बीचमा साथीहरूको सल्लाहअनुसार हस्तान्तरण गरेको हो । अहिले साथीहरूकै अनुरोधलाई मानेर म ललितपुर जिल्ला बक्सिङ सङ्घको नेतृत्वमा आएको हुँ । म नेतृत्वमा रहँदा वा नरहँदा पनि सधैँ खेल र खेलाडीको हितमा औपचारिक तथा अनौपचारिक रूपमा कार्यरत नै थिएँ ।

० तपाईं ललितपुर जिल्लाको अध्यक्ष बन्नासाथ बक्सिङमा ठूलो हलचल आएको छ नि, स्वीकार गर्नुहुन्छ ?
– म आफू सक्रिय रहने क्षेत्रमा नियमसङ्गत र सकारात्मक रूपमा विकास भएको देख्न चाहने व्यक्ति हुँ । त्यसैले मबाट केही अपेक्षा गरिनु स्वाभाविकै हो । अपेक्षा पूरा गर्न अधिक सक्रियता रहनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति भएकै कारण गलत प्रवृत्ति र खेल विकासमा अवरोध चाहनेहरूका लागि मेरो उपस्थिति अवश्य नै हलचलपूर्ण रहन्छ र रहनेछ ।

० तपार्इंको कार्यसमितिलाई अवैधानिक र पैसा खुवाएर गठन गरेको सङ्घ भनेर आरोप लागेको छ, यसमा तपार्इंको राय के छ ?
– वैधानिक र अवैधानिक भन्ने विषय तपाईं, म अथवा कुनै एक व्यक्तिको सनकपनमा आधारित तथ्य होइन । नेपाल बक्सिङ सङ्घको विधानले निर्दिष्ट गरेको व्यवस्थाअनुरूप म नेतृत्वमा आएको हुँ । आर्थिक चलखेलको कुरा जसरी बजारमा आएको छ त्यो सत्य होइन । सबै बजारमा आएका अनर्गल हल्लाको पछाडि म हिँड्न आवश्यक ठान्दिनँ । सङ्घको विधानको परिच्छेद दुई ९–६ धाराबाट सङ्घ गठन भएको हो ।

० तपाईं अध्यक्ष रहेको सङ्घलाई बक्सिङ सङ्घले मान्यता दिएको छैन । यस्तो अवस्थामा कार्य सञ्चालन गर्न त गाह्रो भइरहेको होला नि ?

– बक्सिङ सङ्घले मान्यता नदिएको होइन, उनीहरूले भनेबमोजिम भएन भन्ने मात्र हो । हामीसँग सङ्घको अफिसियल कार्यहरू भइरहेको आधारमा वैधानिक र अवैधानिक विषय टुङ्गिसकेको भन्ने मलाई लाग्छ । हामीले गरेको पत्राचारको जवाफ सङ्घले ललितपुर जिल्ला बक्सिङ सङ्घलाई दिएकाले हाल स्वीकार गरिसकेको अवस्था हो ।

० बक्सिङ सङ्घको अध्यक्ष बन्नकै लागि तपार्इं जिल्लामा आएको चर्चा छ नि, के यो साँचो हो ?
– बक्सिङसँग सम्बन्धित र यसको विकास चाहने व्यक्तिहरूको अनुरोधमा म जिल्लामा आएको हुँ । उहाँहरूले केन्द्रको नेतृत्वसमेत गर्नुपर्छ भन्ने अवस्था सिर्जना भए र गरेमा म केन्द्रीय अध्यक्ष हुन सक्ने हो । मेरो व्यक्तिगत चाहनाले मात्रै केही हुँदैन । यो सबैको साझा चाहनाले हुने विषय हो ।

० तपाईंले गर्दा बक्सिङमा विवाद आयो, निर्वाचनलगायत पदाधिकारीहरू पनि विभाजित भए भन्छन्, आखिर सत्य के हो ?
– बक्सिङ मेरो कारणले विवादमा आएको होइन । कसको कारणले विवाद भइरहेको हो त्यो सबैको जानकारीमा छ । जहाँसम्म मेरो उपस्थितिले बक्सिङको चुनाव हुने–नहुने विषय होइन । लोकतान्त्रिक परिपाटीमा चुनाव गर्नुपर्छ भन्ने मेरो धारणा छ । अर्को कुरा मेरो कारण पदाधिकारीमा विभाजन आएको नभई त्यो बक्सिङ सङ्घका पदाधिकारीहरूप्रतिको असन्तुष्टि हो जस्तो मलाई लाग्छ ।

० अहिले बक्सिङ सङ्घले जेठ २२ गते निर्वाचनको मिति तोकेको छ, यसको जानकारी तपाईंलाई होला नि ?
– यो विषयमा मैले आधिकारिक जानकारी प्राप्त गरेको छैन । हल्ला सुनेको छु, वास्तविकता के हो ? त्यो भविष्यमा अवश्य थाहा भइहाल्छ ।

० तपाईं बक्सिङ सङ्घको अध्यक्षमा उठ्ने व्यापक चर्चा छ, तर सङ्घले तपाईंको सङ्घलाई मान्यता नदिएको अवस्था छ, यस्तोमा कसरी निर्वाचनमा उठ्नुहुन्छ त ? विकल्प केही सोच्नुभएको छ ?
– म बक्सिङ सङ्घको अध्यक्षमा दाबेदारी पेस गर्ने कुरा सत्य हो । यो कुरा तपाईंले ठीक सुुन्नुभएको हो । कुरा सङ्घको अध्यक्षमा उठ्ने र चुनाव जित्ने मात्र होइन, कुरा सङ्घ कसरी चलाउने भन्ने हो । सङ्घको अध्यक्षमा उठ्ने म एउटाको मात्र चाहना होइन, यो नेपाली बक्सिङलाई माया गर्ने र विकास चाहने सम्पूर्ण नेपाली जनताको हो । उहाँहरूकै प्रेरणा र उत्साहले मात्र बक्सिङ विकासका लागि अघि सरेको हुँ । अर्को कुरा म अध्यक्ष भएको ललितपुर जिल्ला बक्सिङ सङ्घको मान्यताको सम्बन्धमा बक्सिङ सङ्घको विधानको परिच्छेद २ को धारा ९ को उपधारा ६ बमोजिम गठन भएको सङ्घलाई मान्यता नदिने भन्ने कुरै आउँदैन, यो हास्यास्पद कुरा मात्रै हो । सङ्घको कार्यसमितिले आउँदो अधिवेशनका लागि सङ्घको तर्फबाट मलाई प्रतिनिधि पठाउनेसमेत निर्णयसमेत गरिसकेको छ ।

० जुँगाको लडाइँले गर्दा तपाईं बक्सिङ सङ्घको अध्यक्षमा उठ्न लागेको भन्छन् नि, आखिर सत्य के हो ?
यो सत्य होइन, मेरो कसैसँग जुँगाको लडाइँ छैन र गर्ने मेरो उद्देश्य पनि छैन । राजीव श्रेष्ठ मेरो भाइ हो व्यक्तिगत रूपमा ऊसँग मेरो कुनै दुश्मनी छैन । मेरो लडाइँ जुुँगाको होइन नीतिको हो । जसरी भए पनि देशमा बक्सिङको विकासलाई फरक ढङ्गले अघि बढाउने हो ।

० कतै रहरकै भरमा अध्यक्ष उठ्न खोज्नुभएको त होइन ? लडाइँको मैदानमा उत्रिँदा विजय प्राप्त गर्न सहयोगीको खाँचो पर्छ । खै तपाईं त एक्लो वृहस्पतिजस्तै देखिनुहुन्छ ?
– अध्यक्षमा उठ्न खोजेको मेरो रहर पक्कै होइन । र, एक्लोले कदापि विजय हासिल गर्न सक्तैन भन्ने कुराको मलाई राम्रो ज्ञान छ । तपाईंले मलाई एक्लो वृहस्पति भन्नु भो, सत्यता भने त्यस्तो होइन । मेरा पछाडि सम्पूर्ण जिल्ला, खेलाडी, प्रशिक्षक र पदाधिकारीहरू छन् ।

० चर्चाका लागि अध्यक्षमा उठेर मात्रै केही हुँदैन, औचित्य पुष्टि गर्न पनि सक्नुपर्छ, के यसका लागि तपार्इं तयार हुनुहुन्छ ?

– म चर्चामा आउन कदापि उठ्न लागेको होइन । एउटा अन्तर्राष्ट्रिय खेलाडी, कुसल पदाधिकारी र समाजसेवीको रूपमा मलाई सबैले चिन्छन् । औचित्य पुष्टि गर्नका लागि नै मलाई बक्सिङप्रेमी साथीहरूले साथ दिएका हुन् । बक्सिङमा हाल देखिएको दरार म एउटा खेलाडीको नाताले ‘क्रिस्टल क्लियर’को रूपमा देखिएको छु । जुन दरार र कमजोरीलाई हालको सङ्घले आत्मसात् गर्न नसेकाले बक्सिङ अधोगतितर्फ लागेको हो । हालै सम्पन्न १२औँ सागमा बक्सिङको प्रदर्शन यसको उदारहण हो ।

० अहिले के देखेर तपाईंले बक्सिङलाई हाँक्ने सोच बनाउनुभएको हो, यो तपाईंको व्यक्तिगत सोच हो कि कसैको षड्यन्त्र हो ? अलिकति राजनीतिक गन्ध पनि देखिन्छ नि ?
– म कसैको षड्यन्त्रमा चल्ने व्यक्ति होइन, न कि कुनै राजनीतिक उद्देश्यले यसमा लागेको हुँ । कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने मान्छे म होइन । मेरो आधा उमेर बक्सिङमा नै बितेकोले बक्सिङप्रति मेरो लगाव छ । मैले बक्सिङमा रगत–पसिना बगाएको छु । त्यसैले म बक्सिङमा केही पाउन नभई केही दिन सक्छु भनेर बक्सिङलाई हाँक्ने आँट गरेको हुँ ।

० निर्वाचनमा सबै विजयकै लागि उत्रिन्छन्, त्यसमा तपाईं आफूलाई कहाँ पाउनुहुन्छ ? के राम अवाले बक्सिङको मैदानमा उत्रिँदा खहरेमा आएको बाढीझैँ लहर आउने कुरामा विश्वस्त हुनुहुन्छ ?

– हो, दौडमा सबैले भाग लिन्छन्, तर विजयी एउटा मात्र हुन्छ । म हावामा मुक्का हान्ने खेलाडी परिनँ, विजय कसरी प्राप्त गर्न सकिन्छ त्यसको बाह्रखरी मैले पनि पढेको छु । अझ अहिले मलाई सबैको साथ र सहयोग प्राप्त भएकाले खहरेमा जस्तै मेरो उपस्थितिमा लहर आएको छ । म विजयी हुने कुरामा विश्वस्त छु ।

० बक्सिङ सङ्घले आफैँले निर्वाचनको मिति तोकिसकेपछि यसपटकको निर्वाचन पनि विवादमा पर्ने सङ्केत दखिएको छ । यदि विगतको वर्षको झैँ निर्वाचन भयो भने स्वीकार गर्नुहुन्छ ?
– नेपाल बक्सिङ सङ्घले आफैँले निर्वाचनको मिति तोकेर निर्वाचन गरेको इतिहास हाम्रोमा छैन । तसर्थ यो कुरामा राखेप मूकदर्शक भएर बस्न मिल्दैन । यसमा राखेपले आवश्यक कदम चाल्ने कुरामा म विश्वस्त छु । सुनिनमा आएअनुसार २०६४ को विधान संशोधन भएको छ, तर विगत चार वर्षमा एकपटक पनि सङ्घको साधारणसभा बसेको छैन । अनि साधारणसभा नै नबसी कसरी विधान संशोधन हुन्छ ? तसर्थ विधानविपरीत गरिएको कार्यलाई सम्बन्धित निकाय राखेपले नै अङ्कुश लगाउनु जरुरी छ ।

० बक्सिङ सङ्घले राखेपको स्वीकृतिबेगर निर्वाचन गर्‍यो भने त्यसमा तपाईंको सहभागिता रहन्छ कि रहँदैन ?

– राखेपको स्वीकृतिबेगर गरिने निर्वाचन आफैँमा औचित्यहीन हुन्छ । यस्तो औचित्यहीन निर्वाचनमा सहभागिताको पनि औचित्य हुँदैन ।

० वर्तमान बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठसँग हालै तपार्इंले भेट गरेको सुनिनमा आएको छ, त्यसबेला तपाईंहरूबीच के कुरामा छलफल भएको थियो ? निर्वाचनसम्बन्धी पनि कुरा गर्नुभएको थियो कि ? मिलेर जाने सम्भावना छ कि छैन ?
– हो, सङ्घका अध्यक्ष राजीव श्रेष्ठसँग भेट भएको पक्का हो । उक्त भेटमा स्वयम् श्रेष्ठले बक्सिङको निर्वाचन आगामी साउनमा गर्ने भनेका थिए । तर, अहिले उनले छेपारोको जस्तो रङ्ग फेरेर जेठको २२ गते गर्ने भन्ने हल्ला सुनिनमा आएको छ । यसरीमा मुखमा एकथरी र व्यवहारमा अर्को कुरा गर्नेलाई कसरी विश्वास गर्ने ? आगामी निर्वाचनमा झुटको खेती गर्नेले त्यसको परिणाम पनि भोग्नुपर्नेछ ।

० त्यसो भए एक्कासि बक्सिङ सङ्घले निर्वाचनको मिति घोषणा गर्नुको पछाडि के रहस्य छ त ?
– यहाँ ठूलो षड्यन्त्र र चलखेल भइरहेको मैले महसुस गरेको छु । निर्वाचन परिणामलाई आफ्नो अनुकूल बनाउन यस्तो षड्यन्त्र गरिएको हो । जुन खेलकुदको ऐन–नियमविपरीत छ ।

० आगामी निर्वाचनमा तपार्इंले नेतृत्व पाएको खण्डमा समग्र बक्सिङ खेलको विकासमा तपार्इंको योजना के छ ?
– प्रश्नका लागि धन्यवाद । यदि आगामी निर्वाचनपछि मलाई नेतृत्व सम्हाल्ने अवसर प्राप्त भयो भने बक्सिङलाई योजनाबद्ध र दूरदर्शी तरिकाले अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु । यसका लागि सर्वप्रथम समाजमा बक्सिङप्रतिको नकारात्मक सोचलाई बदल्ने प्रयास गर्नेछु । त्यसपछि राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा बक्सिङको माहोल बनाउँदै यसको विकास र विस्तारमा अहम् भूमिका निर्वाह गर्नेछु ।

Ram Awale