जापान–अमेरिका बनाउने भन्दै सिरिया–उत्तरकोरियाको बाटो

जापान–अमेरिका बनाउने भन्दै सिरिया–उत्तरकोरियाको बाटो


Laxmikanta Paudel

– लक्ष्मीकान्त पौडेल

जनताको चेतनास्तर बढेको छ । हुन नसक्नेजस्ता कुरा कि त सर्कस र जादुमा देखिन्छ कि चाहिँ ओलीबाट सुनिन्छ भन्ने थेगो चल्न थालेको छ । अब ओलीको पार्टी देशभरि राम्रा सङ्गठन भएको हास्यव्यङ्ग्य गरेर जनतालाई पीडामा पनि हाँसेर बाँच्नका लागि कमेडी सुनाउने पार्टी हो कि एमाले हो भन्नेबारे चर्चा हुन थाल्दा अब असम्भव कुरा गरेर भ्रम छर्ने काम नभए हुन्थ्यो । ओलीका कुरा सुनेर धेरै एमालेका विद्वान् र विवेकशील साथीहरूलाई नखाउँm दिनभरको सिकार खाऊँ कान्छाबाबुको अनुहारजस्तो पनि भएको होला ।

काङ्ग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउन चाह्यो, तर सकेन । प्रधानमन्त्री बन्न प्रचण्ड चाहेनन् र काङ्ग्रेसका नेता शेरबहादुर देउवाको योजना असफल भयो भन्ने हल्ला चल्यो । काङ्ग्रेस सभापतिलाई प्रधानमन्त्री बन्नु थिएन । प्रचण्डहरू एमालेका नेताहरूका व्यवहारले चिढिएका थिए । प्रचण्डहरूले काङ्ग्रेसको सहयोग मागे, काङ्ग्रेसले सहयोगको वचन दियो । फेरि रातारात प्रचण्ड–ओलीबीच गठजोड भयो, बोली बदल्दै प्रचण्डहरू पछि हटे । यसमा काङ्ग्रेसको कमजोरी देखिन्छ जस्तो लाग्दैन । काङ्ग्रेसको कमजोरी नै भएको रहेछ भने पनि मैले चोरी गर्न खोजेको थिएँ, पक्रन खोजेका थिए तर सकेनन्, मैले जितेँ भनेर कसैले गर्व गर्दछ भने त्यो समाजलाई दण्डहीनतामा लग्ने हतियार मात्र हो, काङ्ग्रेसको कमजोरी होइन ।

एमालेको नेतृत्वमा बनेको सरकारले भूकम्पपीडितहरूलाई केही गर्न सकेन वा चाहेन । त्यो पैसामध्ये धेरै भूकम्पपीडितमा पुग्न सक्ने वातावरण बनाउन सकिने थियो, तर पैसालाई एमालेले कार्यकर्ता भर्नामैत्री बनाउँदै छ । काङ्ग्रेसले सरकारले भूकम्पपीडितका लागि काम गरेन, जनतालाई अन्याय भयो, राज्य नै नभएजस्तो भयो भन्दा पनि सरकाले नमानेर बस्छ वा प्रचण्डले सरकारको लोभमा आँखा चिम्लन्छन् र त्यो सरकारको जित र काङ्ग्रेसको हार हो भने त्यो जनताको पनि हार हो ।

भूकम्पपीडितको हितका लागि काम गर्न लोकतन्त्रमा प्रक्रिया भद्दा हुँदा ढिलो भएको हो, तर हामी लोकतन्त्रको पक्षमा छौँ भनेर एमाले सचिव योगेश भट्टराईले एउटा सञ्चारमाध्यममार्फत भनेबाट धेरै अर्थ लगाउन सकिन्छ । एमालेले र माओवादीले पनि लोकतन्त्र भनेको गणितको खेल हो सत्तामा रहन सङ्ख्या पुगेपछि जे गरे पनि या भने पनि हुन्छ भन्ने मानसिकता लिएको उनको भनाइबाट प्रस्ट हुन्छ ।

जापानमा लोकतन्त्र छ, फिलिपिन्स र अमेरिकामा पनि लोकतन्त्र नै छ । त्यहाँ पनि भूकम्प जान्छ । तर, त्यहाँ भूकम्प गएको वा बाढी, हुरी आएको प्राय: सातदेखि १५ दिनभित्र जनतालाई सामान्य अवस्थामा ल्याउने काम हुन्छ । अन्य अवस्था सामान्य बनाउन प्राविधिक रूपमा कामले समय लाग्ने जति मात्र लाग्दछ । उदाहरणका लागि पक्की घर, बाटो बनाउनेजस्ता कार्य तिनमा पर्दछन् । त्यहाँ लोकतन्त्र किन भद्दा प्रक्रिया भएन र नेपालमा किन भयो ? योगेशहरूको भनाइबाट एकैचोटि दुईवटा अर्थ लगाउन सकिन्छ । प्रथमत: कम्युनिस्टहरू झुटा कुरा गरेर जनतालाई मूर्ख बनाउँछन् । आफ्नो गल्ती र कमजोरीको दोष अरूलाई मात्र दिन चाहन्छन् । राम्रो काम आफूले मात्र गरेको र हुन नसकेको जति प्रतिपक्षले नदिएर गर्न नसकेको भन्ने प्रचार गरेर जनतालाई मूर्ख बनाउने पनि सीमा हुन्छ होला । दोस्रो भनेको उनीहरू नराम्रो काम गर्नु नराम्रो होइन हार्नु मात्र नराम्रो हो भन्ने सन्देश दिन चाहन्छन् ।
सरकारका लागि बहुमत भए त्यो सरकार असल हुन्छ । त्यो सरकार नढलेकोले राम्रो हुन्छ भने गरिबहरूको बन्दुके देश भनेर चिनिएको कम्युनिस्ट उत्तर कोरिया विश्वको सबैभन्दा राम्रो देश मान्नुपर्दछ । जुन देशको स्थापनापछि अहिलेसम्म कुनै विद्रोह भएको छैन, जहाँ बन्दुकको भरमा सरकार चलेको छ र विद्रोह हुन सक्दैन, त्यो सबैभन्दा राम्रो व्यवस्था हो भन्न सकिन्छ । प्रजातन्त्र भद्दा हो र उत्तर कोरिया स्रुट हो भन्ने सन्देश जनतामा लग्ने एमालेको षड्यन्त्रले उनीहरू कम्युनिस्टहरू प्रतिरक्षाको अवस्थामा भएकोले मात्र लोकतन्त्र तथा बहुलवादको कुरा गर्न र सुन्न चाहेका हुन् भन्ने देखिन्छ ।

पहिला योजना बन्नुपर्दछ र मात्र काम हुन्छ भन्ने वर्तमान सरकारले झोलुङ्गे पुल बनाएर तुइन प्रतिस्थापन गर्ने भाषण गरेको ६ महिना बित्यो, के काम भयो ? भन्ने बताउन सक्नुपर्छ । विकास र निर्माणको काम के भएको छ ? त्यो बताउने कुनै आधार छैन । भारतसँग धेरैभन्दा धेरै बिजुली लिएर पेट्रोलियम पदार्थको भारतसँगको निर्भरता बढेर जलविद्युत्मा पनि सरेको छ । बाहिर भारतको विरोध गरेर राष्ट्रियताको कुरा गर्ने, तर आन्तरिक रूपमा कुनै पनि ऊर्जाको सम्बन्धमा काम नगरेर सरकार भाषण मात्र गरिरहेको छ । देशका सहरलाई विभिन्न विशेषतायुक्त बनाउने भनेर सरकारले एउटाको नाममा अर्कोलाई ओझेलमा पार्ने काम गरिरहेको छ । नेपालमा कुन सहर धार्मिक महत्त्वको छैन ? कुन सहर प्रकृतिक महत्त्वको छैन ? यस्ता सवाल धेरै छन् ।

ओलीले काङ्ग्रेसको कारण मन्त्रालय फुटाउन परेको बताएका छन् । यसको कारण के हो ? जनताले सोध्न आवश्यक भएको छ । उनले ६ जना उपप्रधानमन्त्री राख्नाको कारणसमेत बताउनुपर्छ । प्रधानमन्त्री कहिले काङ्ग्रेसको कारण मन्त्रालय फुटाउन परेको भन्छन्, कहिले दुई वर्षभित्रमा नेपाललाई चाहिने पेट्रोलियम पदार्थ देशमा नै उत्पादन गरेर आत्मनिर्भर बनाउने भन्छन्, कहिले पाइपबाट घर घरमा ग्यास पुर्‍याउने भन्छन् भने अहिले नेपालको झन्डा राखेको पानीजहाज लिने बताइरहेका छन् । आर्थिक वृद्धिदर एक प्रतिशतभन्दा कम रहेको यो देशमा अर्को वर्ष ६.५ प्रतिशत आर्थिक वृद्धिदर पुर्‍याउने कुरा गर्दछन् ।
लक्ष्य ठूलो त अवश्य पनि लिनुपर्छ, तर सामान्यत: पूरा हुन नसक्ने कुरा लक्ष्य हो कि जनता मूर्ख छन् भनेर सुनाइएको हो ? प्रस्ट हुनपर्ने अवस्था सिर्जना भएको छ । जनताको चेतनास्तर बढेको छ । हुन नसक्नेजस्ता कुरा कि त सर्कस र जादुमा देखिन्छ कि चाहिँ ओलीबाट सुनिन्छ भन्ने थेगो चल्न थालेको छ । अब ओलीको पार्टी देशभरि राम्रा सङ्गठन भएको हास्यव्यङ्ग्य गरेर जनतालाई पीडामा पनि हाँसेर बाँच्नका लागि कमेडी सुनाउने पार्टी हो कि एमाले हो भन्नेबारे चर्चा हुन थाल्दा अब असम्भव कुरा गरेर भ्रम छर्ने काम नभए हुन्थ्यो । ओलीका कुरा सुनेर धेरै एमालेका विद्वान् र विवेकशील साथीहरूलाई नखाउँm दिनभरको सिकार खाऊँ कान्छाबाबुको अनुहारजस्तो पनि भएको होला ।

उनीहरूले दलमा योगदान पनि गरेकाहरू छन्, राजनीति गरेपछि पदको आशा पनि हुन्छ । तर, ओलीको गोली खेर जाने र मूर्ख किसिमले चलेकाले धेरै साथीलाई अप्ठ्यारो महसुस भएको होला । पक्कै पनि एमालेका कुनै पनि साथी र नेताहरूले छिट्टै घरमा ग्यासपाइप आउने भयो भनेर त्यसलाई चाहिने समानको जोहो गर्न थाल्नुभएको छैन, दुई वर्षभित्र आउने पेट्रोलका लागि लाइसेन्ससमेत लिन लाग्नुभएको छैन । विश्वास भए अब लाइसेन्सका लागि काम सुरु गर्नुपर्ने हुन्छ किनभने योगेशले भनेकै छन् कि लोकतन्त्र भद्दा प्रक्रिया हो । यद्यपि यो भद्दा प्रक्रिया आफ्नो गल्ती छिपाउन हो भने फरक विषय हो । लोकतन्त्र र बहुलवादलाई भद्दा भन्नेहरूले नै लोकतन्त्र त बहुलवादलाई संरक्षण गर्ने जिम्मा लिएपछि यसलाई भद्दा, कुरूप जे पनि बनाउन सकिन्छ । दूध बिरालोबाट बच्न सक्दैन । जनताले यो सोच्न थालेका पनि छन् । राम्रो काम नगरेर भाषणको भरमा जनताबीच लोकप्रिय हुन खोज्ने र गणितको भरमा लोकतन्त्रलाई बद्नाम गर्ने कार्य अहिले भइरहेको छ ।

सरकारमा रहँदा पनि र विपक्षमा रहँदा पनि आफूले पनि काम नगर्ने र अरूलाई पनि काम गर्न नदिने एमालेको सोचबाट एमालेकै इमानदार साथीहरू पनि सजग रहे राम्रो नै हुन्छ । अहिले एमाले सत्तामा छ र भारतका लागि नेपाली राजदूतलाई राजनीतिक पूर्वाग्रहको कारण मात्र फिर्ता बोलाइएको छ । राष्ट्र बैंकमा एमालेनिकट कर्मचारीले गभर्नर हटाउन केही दिन पहिला आन्दोलन गरेका थिए । काङ्ग्रेसको ०४६ को आन्दोलनपछिको पहिलो सरकार हुँदा पनि एमालेले कर्मचारीलाई सरकारविरुद्ध आन्दोलनमा उतारेको थियो । पछि त्यो रियलाइज गरिएको पनि थियो । कर्मचारीलाई एमालेले नै त्यस समयमा पार्टीकरणजस्तो गरेकाले देशमा दलअनुसारका कर्मचारी सङ्गठन बन्ने बाध्यता बन्यो र कर्मचारीतन्त्र निकम्मा बन्न थाल्यो भन्ने सुनिन्छ ।
यी बेथितिहरू नै र लोकतन्त्र तथा प्रतिपक्षमाथिको आक्रमण नै एमालेको लक्ष्य हो भने सबै सजग रहनुपर्छ । अन्यथा जनताका लागि काम गर्ने र प्रतिपक्षको पनि कुरा सुन्ने हो भने सरकारले सोच बदल्नुपर्छ । त्यसपछि मात्र नेपाललाई जापान, अमेरिकाको बाटोमा लग्न सकिएला, होइन भने घोषित वा अघोषित रूपमा बाटो त उत्तर कोरिया वा सिरियातिरै उन्मुख हुन सक्दछ ।