इस्तानबुलको यात्रापछि…

इस्तानबुलको यात्रापछि…


babita basnet 13

– बबिता बस्नेत

‘महिलाले कपाल छोप्नुपर्छ र पुरुषले हाफपाइन्ट लगाएर भित्र जान पाइँदैन । यदि तपाईंहरूसँग कपाल ढाक्ने पछ्यौरा या पाइन्ट छैन भने यहाँ व्यवस्था गरिएको छ,’ ब्लु मस्कका नामले चर्चित इस्तनाबुलको सुल्तान अहमद मस्जिदको बाहिर लेखिएको यो बोर्ड हेरेपछि लाग्यो, हाम्रो पशुपतिनाथमा पनि आवश्यक संस्कार पूरा गरेर यसैगरी सबैलाई जाने व्यवस्था गरे विश्वका कति धेरै मानिसले विश्वको चर्चित हिन्दू मन्दिरको दर्शन गर्न पाउने थिए होला । नीलो मस्जिदमा अन्य धर्मावलम्बीहरूले प्रार्थना गरेझैँ हाम्रो पशुपतिनाथमा पनि अन्य धर्मावलम्बीहरूले नमस्कार गरेर समान आस्था प्रदर्शन गर्ने थिए होला ।

अहिले विश्वका धेरै मानिसको घुमघामको गन्तव्य बनेको इस्तानबुल टर्कीको ऐतिहासिक सहर हो । अभावदेखि वैभवसम्म, उकालो–ओरालोदेखि समुद्रसम्म, बुर्कादेखि मिनी हाफपाइन्टसम्मले स्थान पाएको इस्तानबुल जति गए पनि घुम्ने ठाउँ नसकिने अनुभव पटकपटक जानेहरूको छ । गत हप्ता वल्र्ड ह्युमानेटेरियन समिटमा भाग लिन गएका बेला यो पङ्क्तिकारको ‘सोसियल मिडिया स्टेटस’मा कमेन्ट गर्दै संयुक्त राष्ट्रसङ्घ न्युयोर्कमा रहेर धेरै राष्ट्रको आर्थिक नीति हेर्नुहुने डा. अंगराज तिमिल्सिनाले लेख्नुभएको थियो, ‘म एक दर्जनभन्दा धेरैपटक इस्तानबुल गइसकेँ, तर अहिले पनि घुम्न बाँकी धेरै ठाउँ छन् ।’ हुन पनि त्यहाँ निर्मित पुराना भवन, मस्जिद, चर्च सबै नै फर्किएर हेरूँहेरूँ परेका छन् । हेर्ने र घुम्ने ठाउँहरू धेरै थिए होला, तर समयाभावका कारण सबैतिर जान सकिएन । जति गइयो इतिहास बोकेका ठाउँहरूमा गइयो । राजनीतिक इतिहास बोकेको ताक्सिम स्क्वायरदेखि एसिया र युरोपलाई जोड्ने भोसफोरस नदी तथा पुल हुँदै धार्मिक इतिहास बोकेको सुल्तान अहमद मस्जिद (ब्लू मस्क) सम्मको घुमघाम अविष्मरणीय रह्यो ।

भौगोलिक रूपले आधा भागभन्दा बढी एसिया र बाँकी भाग युरोपमा रहेको टर्कीका बासिन्दा पनि युरोपियन र एसियनमा विभाजित छन् । भौगोलिक रूपले आधाभन्दा बढी एशिसयामा परे पनि राजनीतिक र आर्थिक रूपले युरोपसँग मिल्दोजुल्दो दाबी गर्दै टर्कीले युरोपियन युनियनको सदस्यता लिन खोजेको धेरै भयो । टर्कीलाई लिएर युरोपियन युनियनमा सन् १९९९ देखि चल्दै आएको विवाद अझै कायम छ । कतिले मुस्लिम देश भएकै कारणले टर्कीले ईयूको सदस्यता नपाएको प्रतिक्रिया दिँदै आएका भए पनि ईयूभित्र भने टर्कीको मानवअधिकारको अवस्थालाई लिएर पटकपटक छलफल हुने गरेको छ । टर्कीको ठूलो समस्या अहिले सिरियाली शरणार्थी पनि हुन् । सिरियामा द्वन्द्व बढ्दै गएपछि प्रत्येक दिनझैँ शरणार्थीहरू टर्कीका विभिन्न नाकाहरूबाट भित्रिने गरेका छन् । उनीहरूको व्यवस्थापन टर्की सरकारका लागि निकै चुनौतीको विषय बनेको छ ।

टर्किस एयरको डाइरेक्ट फ्लाइट भए पनि सिट नपाएका कारण दोहा हुँदै टर्कीको इस्तानबुलस्थित साबिया एयरपोर्ट पुग्दा बिहानको साढे तीन बजेको थियो । होटेलसम्म कसरी पुग्ने होला भनेर ट्याक्सी या अन्य यातायातका साधनबारे कुरा गर्न खोज्दा एयरपोर्टका मानिसले ‘खै थाहा छैन’को जवाफ रुखो पाराले दिए । तिनको व्यवहारले यहाँका मानिसचाहिँ सहयोगी रहेनछन् जस्तो लागेको मात्रै के थियो, एकजना मानिसले होटेलको ठेगाना भएको कागज मेरो हातबाट लिँदै होटेलमा फोन गरेर ‘लोकेसन’ लिए । त्यसपछि उनैले ट्याक्सीलाई ठेगाना बताएर मलाई ट्याक्सी चढ्न भने । बिश्वभरिकै मानिसका प्रवृत्तिबारे यसै भन्न सकिन्न । मानिसैपिच्छे प्रवृत्तिहरू फरक हुने हुँदा केही मानिसको व्यवहार देखेर सबै यस्तै हुन् भनेर ‘जनरलाइज’ गर्न हुन्न भन्ने त्यहाँ पनि लाग्यो । तर, सहर घुम्दाको अनुभवमा पनि समग्रमा मानिस त्यति ‘फ्रेण्ड्ली’चाहिँ लागेन । पर्यटकहरूका लागि भाषाको भने त्यहाँ अलि समस्या नै रहेछ, अङ्ग्रेजी नबुझ्ने, टर्किस भाषा अरूलाई नआउने । भाषाकै कारण पनि कहिलेकाहीँ मानिस परपर झैँ हुन्छन्, तर त्यहाँचाहिँ भाषा या अरू नै कारणले हो यसै भन्न सकिएन ।

‘महिलाले कपाल छोप्नुपर्छ र पुरुषले हाफपाइन्ट लगाएर भित्र जान पाइँदैन । यदि तपाईंहरूसँग कपाल ढाक्ने पछ्यौरा या पाइन्ट छैन भने यहाँ व्यवस्था गरिएको छ,’ ब्लु मस्कका नामले चर्चित इस्तनाबुलको सुल्तान अहमद मस्जिदको बाहिर लेखिएको यो बोर्ड हेरेपछि लाग्यो, हाम्रो पशुपतिनाथमा पनि आवश्यक संस्कार पूरा गरेर यसैगरी सबैलाई जाने व्यवस्था गरे विश्वका कति धेरै मानिसले विश्वको चर्चित हिन्दू मन्दिरको दर्शन गर्न पाउने थिए होला । नीलो मस्जिदमा अन्य धर्मावलम्बीहरूले प्रार्थना गरेझैँ हाम्रो पशुपतिनाथमा पनि अन्य धर्मावलम्बीहरूले नमस्कार गरेर समान आस्था प्रदर्शन गर्ने थिए होला । मन्दिर जानेहरूले रातो टीका लगाउनैपर्ने या यस्तै केही संस्कारगत कुरा राख्न पाए राम्रै हुन्थ्यो होलाजस्तो लाग्यो । तर, हामीकहाँ त हिन्दू धर्मावलम्बीहरूलाई मात्र खुला गरिएको छ, जसका कारण अरू कोही छिर्नै पाउँदैन । धर्मनिरपेक्ष राष्ट्र टर्कीको इस्तानबुलस्थित यो मस्जिदमा केहीबेर बस्दा विभिन्न देशका महिला–पुरुषले त्यहाँको निश्चित नियम पूरा गर्दै भित्र गएर प्रार्थना गरेको देखियो । जो मुस्लिम होइनन्, मुस्लिम हुने रहर बोकेर त्यहाँ पुगेका पनि होइनन्, तर बाहिरबाट गएका पर्यटकहरूका लागि आफ्नो धर्म–संस्कार बुझाउन त्यो उपयुक्त स्थान बन्यो, बनिरहेको छ । यस्ता धेरै स्थल होलान् जसले आफ्नो धर्म, संस्कृति प्रचारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुँदा हुन् । त्यहाँ शिरमा कपाल ढाक्ने पछ्यौरा नहुनेहरूले या पर्यटकका रूपमा हाफपाइन्ट लगाएर पुगेकाहरूले भित्र पस्नबाट वञ्चित हुनुनपरोस् भनेर कपडाको व्यवस्था गरिएको रहेछ, जसको शुल्क तिर्नुपर्दैन । सन् १६०९ मा सुरु गरेर आठ वर्षमा पूरा गरिएको उक्त चर्चित मस्जिद सुल्तान अहमदले १४ वर्षको उमेरमा बनाएका रहेछन् । अहिलेका १४ वर्षे किशोरकिशोरीलाई अल्लारेको संज्ञा दिँदै कुनै कुरामा उत्तरदायी नभए पनि खासै फरक नपर्ने र जे गरे पनि ‘उमेरै यस्तो’ भन्ने हामीहरूका लागि यो पनि गतिलै पाठ हो ।

ताक्सिम स्क्वायर इस्तानबुलको चर्चित स्थल हो जसको इतिहास राजनीतिसँग जोडिएको छ । सन् १९६९ को फेब्रुवरी १ मा वाम र प्रजातन्त्रवादीबीच झडप हुँदा धेरै मानिस रगताम्य भएर घाइते भएका थिए । आइतबारको दिन परेको उक्त घटना ‘ब्लडी सन्डे’का नामले चर्चित छ । पछि सन् १९७७ को मजदुर दिवसका दिन सोही स्थानमा झडप हुँदा ३६ जनाको मृत्यु भएको थियो । अहिले पनि राजनीतिक प्रदर्शनहरू सोही स्थानमा हुने गर्छन् । विभिन्न स्थानमा जानका लागि सार्वजनिक यातायातका साधन यही स्थानबाट चल्ने गर्छन् । कुनै पनि देशलाई बुझ्नका लागि सार्वजनिक यातायात चढ्नुपर्छ भनिन्छ । टर्कीका सार्वजनिक यातायात व्यवस्थित भए पनि जाम भने त्यहाँ पनि त्यत्तिकै हुनेरहेछ । प्राय: युरोपियन मुलुकहरूमा जाम नहुने हुँदा तोकिएको समयमै यातायातका साधनहरू टुप्लुक्क आइपुग्छन् । तर, इस्तानबुलमा त्यस्तो देखिएन । यात्रामा अनेक अनुभव हुन्छन् । छोटो समयका लागि बस चढेको बेला आफ्नो पछाडि उभिएकी एउटी युवती एक्कासि डङ्ग्रङ्ग लडिन् । गुडिरहेको बसभित्रका अन्य यात्रुले उनलाई उठाए, एम्बुलेन्सलाई फोन गरे र अर्को स्टपमा केही अपरिचित यात्रुहरूले तिनलाई बोकेर झारे । शायद एम्बुलेन्स त्यहीँ आयो होला । एक्लै यात्रा गरिरहेका बेला उक्त घटनाले झसङ्ग बनायो । ‘उनको ठाउँमा आफू भएको भए ?’ प्रश्नले दिनभरि मनमा ठाउँ लिइरह्यो । जिन्दगी र यात्रा शायद दुवै उस्तै हुन्, कुनै पनि बेला जे पनि हुन सक्छ ।