ओलम्पिकमा जीवनरामको ताण्डव !

ओलम्पिकमा जीवनरामको ताण्डव !


‘फस्र्टलेडी’ जोशी पनि दादागिरीमा

Jivan-Ram-Shrestha

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एनओसीमा ताण्डव मच्चाएपछि अहिले कोलाहल मच्चिएको छ । एनओसीलाई आफ्नो बाउको बिर्ता सम्झँदै आएका श्रेष्ठले अझ आफूलाई ‘डन’को रूपमा प्रस्तुत गर्दै दादागिरी गरेपछि एनओसी अफिस हो कि श्रेष्ठको घर छुट्याउन गाह्रो भएको छ । त्यतिले मात्रै नपुगी एनओसीको खटनपटनका लागि श्रीमती प्रतिभा जोशी (श्रेष्ठ)ले ठाडो हस्तक्षेप गर्न थालेपछि उनलाई कहिलेदेखि ‘फस्र्टलेडी’को जिम्मेवारी श्रेष्ठले दिएका हुन् एनओसीका पदाधिकारीबीच कानेखुसी चल्न थालेको छ । प्राप्त जानकारीअनुसार ‘फस्र्टलेडी’ प्रतिभा जोशीलाई आफ्ना नातेदारलाई मात्र एनओसीमा राख्न र अन्यलाई मुग्लान कटाउन श्रेष्ठले जिम्मा दिएको पनि बुझिएको छ । स्वामीको आज्ञा र आफ्नो उद्देश्य पूर्तिका लागि नागिनको रूप धारण गरेकी प्रतिभाले अब कसलाई डस्ने हुन् त्यो हेर्न लायक भएको छ । श्रीमती जोशीले आफ्नो पहिलो सिकार सुजनलाल श्रेष्ठ र त्यसपछि राजन श्रेष्ठलाई बनाउन लागेकोसमेत खुलासा भएको छ । यसर्थमा यी दुुवै ओलम्पिक कमिटीमा महत्त्वपूर्ण पदमा विगत लामो समयदेखि आसीन छन् । ओलम्पिकमा हुने व्यापक भ्रष्टाचार र अनियमितताबारे यी दुवै ज्ञाता भएकाले गोप्यता राख्न उनीहरू श्रेष्ठको आँखाको कसिङ्गर बनेका हुन् । उनीहरूलाई बाटोको काँडा सम्भँmदै आएका श्रेष्ठले आफ्नो बलबुताले नपुगेपछि श्रीमतीलाई यसको जिम्मेवारी दिएको पनि थाहा भएको छ । जसको विकल्पको रूपमा उनले अहिले आयुस श्रेष्ठलाई अगाडि सारेकी छिन् । यति मात्रैले नपुगी भान्सादेखि क्यान्टिनसम्म र प्रशासनदेखि लेखासम्म आफ्नो पहुँच र अधिकार स्थापित गर्न श्रीमती जोशीले अध्यक्ष श्रेष्ठकै निर्देशन र इसारामा गोप्य रूपमा बढार्ने अभियान चलाएको रहस्यको समेत पर्दाफास भएको छ ।

श्रीमतीको हस्तक्षेप :
विगत दुई दशकदेखि नेपाल ओलम्पिक कमिटीको प्रशासन प्रमुखको रूपमा कार्यरत सुजनलाल श्रेष्ठको जागिर यतिबेला धरापमा परेको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठकी श्रीमती प्रतिभा जोशीले सुजनको विरुद्धमा सौता हाल्ने दुस्प्रयास गरेपछि यस्तो अवस्थाको सिर्जना भएको हो । अध्यक्ष श्रीमती जोशीले सुजनको कोठाको अगाडि उभिएर अब तिमी एनओसीको सबैभन्दा ठूलो कर्मचारी हौ भन्दै आयुष श्रेष्ठको काँध र पिठ्युँ थमथमाएपछि उक्त कुराको रहस्योद्घाटन भएको हो । आयुष अहिले अध्यक्ष श्रेष्ठकै निर्देशन, मार्गदर्शन र रणनीतिअनुरूप एनओसीको अन्तर्राष्ट्रिय समन्वय विभाग सम्हालिरहेका छन् । आयुषलाई केही महिना पहिले सुजनको विकल्पको रूपमा अध्यक्ष श्रेष्ठले ओलम्पिकमा भित्र्याएका हुन् । स्मरण रहोस्, आयुष अध्यक्ष श्रेष्ठका नातेदार पनि हुन् । यसरी एनओसीमा अध्यक्ष श्रेष्ठले ताण्डव मच्चाइराख्दा श्रीमती जोशीसमेत हस्तक्षेप गर्न पुगेपछि अहिले एनओसीका कर्मचारी र पदाधिकारीहरूमा सन्त्रास फैलिएको छ । छोरा सफलराम श्रेष्ठलाई स्की खेलको अन्तर्राष्ट्रिय खेलाडी बनाइसकेका अध्यक्ष श्रेष्ठले ओलम्पिकमा श्रीमतीलाई ठाडो हस्तक्षेप गर्न लगाएर के बनाउन खोजेका हुन् त्यो खोजी र रहस्यको विषय बनेको छ । त्यस्तै आजभोलि जीवनरामका कान्छा छोरा दिनभर ओलम्पिकमा बिताउन थालेपछि एनओसीका कर्मचारीका कान टाठा भएका छन् । कतै कान्छा छोरालाई पनि एनओसीको कुनै जिम्मेवारी दिइन लागेको त होइन ? चर्चा–परिचर्चा चल्न थालेको छ ।

‘सुजन पेन्डुलम’ :

हालै सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पश्चात् सुजनलाल श्रेष्ठ कार्यविहीन अर्थात् पेन्डुलम बनेका छन् । सुजनले सम्हाल्दै आएको अन्तर्राष्ट्रिय समन्वयको जिम्मेवारी अध्यक्ष जीवनराम श्रेष्ठले आफ्ना नातेदार आयुष श्रेष्ठलाई सुम्पिएपछि उनी कार्यविहीन बनेका हुन् । श्रेष्ठले सुजनलाई पूर्व ओलम्पिक कमिटीका अध्यक्ष रुक्मशमशेर राणाको मान्छे भएको आरोप लगाउँदै आएका छन् । यहाँको कुरा उता पुर्‍याउने आरोप खेप्दै आएका सुजनलाई केही महिना अघि रुक्मशमशेर राणाको ८०औँ जन्म दिनको अवसरमा आयोजित पार्टीमा सुजनलाई देखेका थिए । सो पार्टीमा पूर्वएनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधान र बर्तमान अध्यक्ष जीवनराम श्रेष्ठको पनि उपस्थिति रहेको थियो । यसपछि आँखाको कसिङ्गर बनेका सुजनलाई ठेगाना लगाउन अध्यक्ष श्रेष्ठले सुजनको विकल्पको रूपमा आफ्नै नातेदार आयुष श्रेष्ठलाई ओलम्पिकमा भित्र्याउँदै अन्तर्राष्ट्रिय समन्वय गर्ने जिम्मेवारी दिएका थिए । तसर्थ अहिले एउटै पदमा दुईजना भएकाले सुजन पेन्डुलम बनेका हुन् । त्यस्तै एनओसीमा ड्राइभरदेखि भान्सामा काम गर्नेसमेत अध्यक्ष श्रेष्ठले आफ्नै नातेदार नियुक्ति गरेका छन् । ड्राइभरमा सञ्जीव श्रेष्ठ, पीएमा नीरज श्रेष्ठ, प्लम्बरमा र इलेक्ट्ेरसियनमा समेत आफ्ना नातेदारलाई नियुक्ति गरेका छन् । यसैगरी सप्लायर, कम्प्युटर, इन्भर्टर र सोलारमा समेत आफ्ना मान्छे नियुक्ति गरेर श्रेष्ठले नौलो कीर्तिमान कायम गरेका छन् । आफ्ना मान्छे र नातेदारलाई नियुक्ति गर्दा आर्थिक अनियमिततालगायतका कार्य गर्न सहज हुने भएकाले उनीहरूलाई नियुक्ति गरिएको हो भन्दा अतिशयोक्ति नहोला । तर, अध्यक्ष श्रेष्ठले यस्तो हर्कत गर्दासमेत अनदेखी र अनसुनी गर्ने ओलम्पिकका पदाधिकारीले किन मौनता साँधेका हुन् त्यो खोजीको विषय बनेको छ ।

सीईओमा गर्लफ्रेन्डकी बहिनी सिफारिस :
केही महिना पहिले नेपाल ओलम्पिक कमिटीमा सीईओ राख्ने चर्चा चलेको थियो । यसका लागि प्राय:जसो एनओसीका पदाधिकारीहरू सकारात्मक रूपमा प्रस्तुतसमेत भएका थिए । कार्य गर्न सहज हुने भन्दै उनीहरूले सीईओ राख्दा राम्रो हुने अध्यक्ष श्रेष्ठलाई सुझाएका थिए । सो कुरा छलफलमै सीमित रहेको र कुनै निर्णय नभएको अवस्थामा एकजना पदाधिकारीले आफूसँग सीईओका लागि उपयुक्त महिला भएको र उनलाई राख्न अध्यक्ष श्रेष्ठलाई दबाब दिएका थिए । तर, पछि खोजतलाज गर्दै जाँदा ती महिला एनओसीका एक प्रभावशाली पदमा आसीन पदाधिकारीकी गर्लफ्रेन्डकी बहिनी भएको पत्ता लागेको थियो । महिलादेखि अलि परै बस्न रुचाउने अध्यक्ष श्रेष्ठले यो कुराको चाल पाएपछि ओलम्पिकलाई ‘लभर प्वाइन्ट’ हुनबाट जोगाएका थिए । यसरी आफ्नी गर्लफ्रेन्डको बहिनीलाई एनओसीको सीईओ बनाउन अध्यक्ष श्रेष्ठले नमानेपछि उनीहरूको सम्बन्धमा समेत धाँजा परेको छ । त्यस्तै अहिले उनी श्रेष्ठलाई सराप्दै अब आफ्नै श्रीमतीलाई सीईओ बनाउने त होला नि भन्दै हिँड्ने गरेको जानकारीमा आएको छ ।

इन्दिरा पनि दबाबमा :
नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधानकी सहायक अर्थात् (पीए) इन्दिरा मल्लको जागिरी पनि अन्योलमा परेको छ । वर्तमान अध्यक्ष जीवनलाल श्रेष्ठले इन्दिरालाई पीएको स्थानबाट हटाएर रिसेप्सन राख्ने तयारी गरेपछि उनको जागिर धरापमा परेको हो । आफूलाई तल रिसेप्सनमा राख्ने तयारी भएको चाल पाएपछि पूर्वअध्यक्ष प्रधानलाई जानकारी गराएकी मल्लले त्यसो गरे आफू ओलम्पिकमा नबस्ने बताएकी थिइन् । त्यसपछि प्रधानले श्रेष्ठलाई मल्ललाई यथास्थानमा राख्न दबाब दिएपछि अहिले मल्लको स्थानान्तरण रोकिएको स्रोतले बताएको छ । र पनि, एक न एक दिन आफूलाई रिसेप्सनमा पठाउने कुरामा ढुक्क मल्ल अहिले दबाबमा परेकी छिन् । उनलाई अर्को व्यवस्था नहुन्जेल श्रेष्ठको थिचोमिचो सहनुपर्ने बाध्यता आइलागेको छ । त्यस्तै हिजोसम्म जीवनरामका विरुद्ध जंग छेड्ने तयारी गरेका आर्थिक विभागका प्रमुख राजन श्रेष्ठको मौनता आफैँमा रहस्यमय बनेको छ । केही महिना पहिले राजनले अध्यक्ष श्रेष्ठको प्रतिवाद गर्दै जागिर छोड्ने धम्कीसमेत दिएका थिए । तर, अहिले उनीहरूको दोस्ती हेर्दा कहिल्यै केही नभएकोजस्तो देखिन्छ । यी दुईबीच के कारणले दोस्ती बढ्यो त्यो आफ्नो ठाउँमा भए पनि आर्थिक कारोबार नै प्रमुख कारण हो भन्नेहरूको भने कमी छैन । प्राप्त जानकारीअनुसार दुवैले दुवैका विगतका आर्थिक कुराको पर्दाफास गर्ने भनेपछि दोस्ती भएको सुनिनमा आए पनि सत्य के हो कि भगवान् जानुन् कि उनीहरू आफैँ जानुन् ।

सञ्चारकर्मी पनि रुष्ट :
सञ्चारकर्मीलाई हात लिन र विरोधका सम्पूर्ण ढोका बन्द गर्नका लागि नेपाल ओलम्पिक कमिटीले चौमासिक रूपमा ओलम्पिक नेपाल भन्ने म्यागजिन प्रकाशित गर्दै आएको थियो । जसको जिम्मेवारी निरञ्जन राजवंशीले पाएका थिए । पूर्वअध्यक्ष ध्रव प्रधानको पालादेखि शुभारम्भ भएको उक्त पत्रिकाका चार संस्करण प्रकाशित भइसकेका छन् । पाँचौँ संस्करण १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागभन्दा पहिले प्रकाशित गर्नुपर्ने भए पनि अध्यक्ष श्रेष्ठले विभिन्न बहाना बनाउँदै पत्रिका प्रकाशन गर्नमा आलटाल गरिरहेको बुझिएको छ । प्राप्त जानकारीअनुसार निरञ्जनसँग सम्झौता भङ्ग गरेर आफ्नो नातेदारलाई त्यसको जिम्मेवारी दिन श्रेष्ठले यस्तो चाल चलेको स्रोतले बताएको छ । सो चौमासिक बुलेटिन प्रकाशित गरेबापत राजवंशीले एक इस्युको दुई लाख रुपैयाँ र त्यही नै बराबरको रकम विज्ञापनबाट उठाउँदै आएको पनि स्रोतले बताएको छ । अहिले जीवनरामले उक्त बुलेटिनको प्रकाशनमा रोक लगाएपछि ओलम्पिकको समाचारमा अङ्कुश लागेको एक ओलम्पिक पदाधिकारीले बताएका छन् ।

क्यान्टिन रेस्टुरेन्टभन्दा महङ्गो :
cantin

नेपाल ओलम्पिक कमिटीको क्यान्टिन रेस्टुरेन्टभन्दा महङ्गो भएको त्यहाँका कर्मचारी र पदाधिकारीले गुनासो गरेका छन् । क्यान्टिन एक वर्षअघि तयार भए पनि तीन साताअघि मात्र सञ्चालनमा आएको हो । उक्त क्यान्टिन ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठका स्कुलले साथीले सञ्चालन गरेका हुन् । प्राप्त जानकारीअनुसार क्यान्टिनमा पानी, बिजुली, कोठा भाडा तिर्नु नपर्ने भए पनि खानाको मूल्य भने एकदमै चर्को अथवा क्यान्टिनको जस्तो सर्वसुलभ नभएको बुझिएको छ । अध्यक्षका साथीले कुर्सी मात्र राखेर एनओसीमा क्यान्टिन खोल्ने अधिकार पाए पनि कर्मचारीले भने त्यस्तो सुविधा पाउनबाट वञ्चित छन् । कर्मचारी र पदाधिकारीले क्यान्टिनमा खानाका लागि कुपन अनिवार्य व्यवस्था गरिएको छ । तसर्थ उनीहरूले कुपनमा व्यवस्था गरिएको र तोकिएकोभन्दा बढी खाना खान नपाउने व्यवस्था छ । कुपन लागू भएपछि एकजनाले एक प्लेट मम, एक प्लेट चाउमिन र दुईवटा समोसामध्ये जुन मन लाग्यो त्यही मात्र खान पाउँछन् । यति खानाले कर्मचारी र पदाधिकारीका लागि पर्याप्त नभएको ज्यादै महङ्गो भएको एक पदाधिकारीले जनाएका छन् । चर्को मूल्य तिरेर पेटभरि खान पनि नपाउने भएपछि अहिले क्यान्टिनको मूल्यप्रति सबैले आलोचना गर्न थालेका छन् । एक कर्मचारी भन्दै थिए, ‘क्यान्टिन भनेपछि प्राय: बाहिरकोभन्दा सस्तो हुनुपर्छ, तर एनओसीको क्यान्टिन भने ज्यादै महङ्गो छ, यो कर्मचारीका लागि उपयुक्त छैन ।’ थुप्रै व्यक्तिले सर्वसुलभ तरिकाले क्यान्टिन सञ्चालनका लागि एनओसीसँग सम्पर्क गरे पनि अध्यक्ष श्रेष्ठले बिनाटेन्डर आफ्नो साथीलाई क्यान्टिन सञ्चालनको अख्तियारी दिएका थिए । क्यान्टिनमा चर्को मूल्य तिर्नुपरेपछि गुनासो पोख्दै आएका कर्मचारीले टेन्डर आह्वानबिना कसरी व्यक्तिगत रूपमा संस्थाको सम्पत्ति स्वेच्छाले दिन मिल्छ भनी प्रश्न गरेका थिए ।

सुरक्षाविहीन एनओसी :
विगत दुई सातादेखि नेपाल ओलम्पिक कमिटी सुरक्षाविहीन बनेको छ । एनओसीले सेक्युरिटीका लागि मासिक अठार हजार रुपैयाँ ठेकेदार अर्थात् कम्पनीलाई दिँदै आएको थियो । तर, उक्त कम्पनीले सुरक्षाकर्मीलाई मासिक १० हजार मात्र दिएर अन्य रकम आफूले कुम्ल्याउँदै आएको चाल पाएपछि सुरक्षाकर्मीले एनओसीमा सुरक्षा दिन छाडेका हुन् । यसरी लाखौँ रुपैयाँको भौतिक पूर्वाधार भएको ठाउँ दुई सातादेखि सुरक्षाविहीन बन्न पुगेको छ । यदि यो समयमा कुनै अप्रिय घटना घट्यो भने त्यसको जिम्मेवारी कसले लिने– त्यो अहिले अहम् विषय बनेको छ । स्मरणीय छ, समयसमयमा एनओसीको कार्यालयबाट नगद र सामान हराउँदै आएका छन् । एकपटक एक व्यक्तिले दिउँसै एनओसीबाट कम्प्युटरको मोनिटर लगेर सनसनी फैलाइदिएका थिए । त्यस्तै, ओलम्पिकजस्तो अन्तर्राष्ट्रिय संस्था बेथितिसँग चलेको जानकारीमा आएको छ । प्राप्त जानकारीअनुसार कार्यालय संस्थागत रूपमा चल्नुको साटो व्यक्तिगत रूपमा चलेको छ । सर्वप्रथम एनओसीमा कर्मचारीको हाजिरीकिताब छैन, जसले गर्दा कर्मचारी आफ्नो मनखुसीले आउने र जाने गरेका छन् । कसैले कसैलाई सोध्नुपर्ने आवश्यकता छैन । त्यस्तै, पदीय बाँडफाँड पनि गरिएको छैन । अझ नियमसम्मत गरिनुपर्ने टेन्डर र सम्झौतापत्रमा व्यक्तिगत हालिमुहाली कायम छ । अझ नियसम्मत गरिनुपर्ने टेन्डर र सम्झौतापत्रमा व्यक्तिगत हालिमुहाली कायम छ । जसले गर्दा नेपाल ओलम्पिक कमिटी एउटा संस्था हो वा अध्यक्ष श्रेष्ठको पेवा हो त्यो खुट्याउन गाह्रो भएको छ ।