को हो संसारको मोस्ट वान्टेड म्यान अब ?

को हो संसारको मोस्ट वान्टेड म्यान अब ?


लण्डन । ‘ओसामा विन लादेन’ वास्तवमा नै भन्ने भए अहिलेसम्मको इतिहासमा संसारको सबैभन्दा चिनिएको, बोलिएको अनि सुनिएको र करोडौं धन तथा श्रोतहरुको खर्च गरिएर खोजिएको ‘कुख्यात अपराधी वा आतंककारी’ भनेर मानिएका छन् । खासगरी २००१ सेप्टेम्बर ११ मा न्युयोर्कस्थित ‘ट्वीन टावर’लाई अमेरिकी हवाइजहाजहरुको प्रयोग गरेर ध्वस्त बनाउने योजनालाई कार्यान्वयन गराउन सफल भएका ‘ओसामा’लाई लगातार १० वर्षसम्म अमेरिकीलगायतका संसारभरका विविध जासुसी संस्था अनि अन्तर्राष्ट्रिय सेनाहरुको प्रयोगमा खर्च गरिएका अजस्र साधन तथा श्रोतहरु ‘मानव-इतिहास’मा ‘असाधारण’ मानिएको हो । त्यति ठूलो परिमाणमा करोडौं डलर खर्च गरी मारिएका ओसामा इतिहासमा मेटिने नाम होइनन् ।

तर अब, जब ‘ओसामा विन लादेन’को मृत्यु भइसकेको सन्दर्भमा को वा कसले संसारको ‘मोस्ट वान्टेड म्यान’को ‘टाइटल’का लागि ‘ओसामा’को नामलाई प्रतिस्थापन गर्लान् वा गरेकाछन् त भन्ने अर्को स्वाभाविक चासो जगाउने खालको प्रश्न सर्वत्र उठेका छन्, जसलाई अमेरिकी मिडिया कम्पनी ‘फोर्ब्स’ले हरेक वर्ष, ‘यूएस ल इन्फोर्स्मेन्ट एजेन्सी’लगायतका जासुस एसेन्सीहरुका सौजन्यताबाट प्राप्त जानकारीहरु प्रमुख दशको शीर्षक राखी प्रकाशित गर्ने गर्दछ । अपराधिक जगतमा कुख्याती कमाएका र संसारका विभिन्न कानूनहरुको दायराहरुबाट भाग्दै तथा लुक्दै गरेका अपराधीहरुका ‘टप-टेन’को लिस्टमा गत हप्तासम्म शिखरमा ओसामा ‘विन लादेन’ रहेक थिए र उनको अन्त्येष्टिको लगत्तै त्यो लिस्टमा अहिले प्रमुख रुपमा पाँच नाम अगाडि आएका छन् । ती हुन् –

१) जोक्विन गजम्यान लोएरा
मेक्सिकन ड्रग लर्डको टाइटलबाट जानिएका ‘गजम्यान’ अहिले ‘मोस्ट वान्टेड म्यान’को लिस्टमा शिखरमा आएका छन् । पाँच फुट छ फिटका ‘गजम्यान’ जसलाई ‘एल च्यापो’ अर्थात् ‘पुड्के’ भन्ने उपनामले बोलाइन्छ, ले मेक्सिकोको कुख्यात सिनालोआ कार्टेल नामको संगठनलाई चलाउँछन् । यस ‘कार्टेल’ले ‘कोकिन’हरुलाई अमेरिकामा आयात गर्ने गर्दछ र जसलाई रोक्न लागिपरेका मेक्सिकनलगायत अमेरिकन सुरक्षा अधिकारीहरु अनि अन्य विरोधी संगठनका हजारौं सदस्यहरुलाई ‘शिरोच्छेदन’ गरी या गोली हानी हत्या गरेको छ । सन् २००३ मा गल्फ कार्टेलका विरोधी शत्रु ‘ओसिएल कार्डेनास’को गिरफ्तारीपछि ‘गजम्यान’ मेक्सिकोको सबैभन्दा शक्तिशाली ‘ड्रगको नाइके’ भएका थिए । त्यसको लगत्तै अन्य शत्रु ‘कार्टेल’लगायत अमेरिकी तथा मेक्सिकन सुरक्षा अधिकारीहरुका हजारौंका हत्यामा ‘गजम्यान’को संलग्नता रहेको बताइएको छ । खासगरी पैसाको अत्यधिक प्रयोग गरेर मेक्सिकन उच्च अधिकारीहरुलाई आफ्नो पक्षमा मिलाउन सफल भएका गजम्यान ‘मेक्सिकन पावर हाउस’को रुपमा स्थापित हुँदैछन् । सन् १९९३ मा ‘ड्रग’हरुको सप्लाइ गरिएको र घुसहरु खुवाएको आरोपमा मेक्सिकन कानूनबाट समातिएकागजम्यानलाई मेक्सिकन सरकारले अमेरिकालाई बुझाउन अस्वीकार गरेको थियो । केहीपछि जेलका सुरक्षा गार्डहरुलाई घुस ख्वाएर आफूलगायत अन्य सत्तरीजना कैदीहरुलाई भगाउन ‘गजम्यान’ सफल रहेका थिए । ‘इन्टपोल’, अमेरिकी सरकार तथा मेक्सिकोलगायत छिमेकी देशहरुले प्रशस्तै धन र श्रोतको प्रयोग गरेर ‘गजम्यान’को खोजी गरिरहेका छन्, जसको टाउकोको मोल पचास लाख अमेरिकी डलर कायम गरिएको छ । ‘फोर्ब्स’कै एक सर्वेक्षणमा प्रकाशित गरिएको जानकारीमा ‘गजम्यान’ संसारको साठीऔं ‘मोस्ट पावरफुल पर्सन’ मानिएका छन् जसको सम्पत्ती दश करोड यूएस डलर रहेको छ ।

२) दाउद इब्राहिम
‘दाउद’, ‘डी-कम्पनी’ का मालिक वा नाइके वा सञ्चालक वा बोस हुन्, जसले मुम्बईमा अपराधि सञ्जाल विछ्याएको छ । लागु औषधीहरु, हतियारहरुको ओसार-पसारलगायत विभिन्न हत्याहरुमा संलग्नता राख्ने दाउदलाई बताइएअनुसार अलकाइदासँग कार्यगत सम्वद्ध रहेको मानिएको छ । सन् १९९३ को मुम्बई(बम्बई) ‘बमकाण्ड’ जसबाट २५७ जना मानिसहरु मारिएका थिए को ‘मास्टरमाइण्ड’ दाउदले नै गरेका थिए । एक हल्लाअनुसार, उनी यसघडी पाकिस्तानमा प्लास्टिक सर्जरी गरी अर्कै नाम र रुपमा रहेका छन् भने अर्को हल्लाअनुसार, उनी अहिले दुबईमा छन् र त्यहाँबाटै माफिया सञ्जाल चलाइरहेका छन् ।

३) सेमिवन मोगिलेभिच
केही देशका सुरक्षा अधिकारीहरुअनुसार मोगिलेभिच संसारभरमा फैलिएका रसियन हरेक ‘क्राइम सेन्डिकेट’हरुका बोसहरुका पनि बोस हुन् । ‘मोगिलेभिच’ ‘फोर्ब्स’मा राखिएको प्रकाशनअनुसार, अमेरिकामा एकसय पचास मिलियन यूएस डलरको घपलाको निम्ति, एफ.बी.आई.को ‘मोस्ट वान्टेड’को लिस्टमा दशौं स्थानमा छन् ।

४) माट्टेव मेस्सिना डेनारो
सन् २००६ मा ‘बर्नार्डो प्रोभेनाजानो’को गिरफ्तारीपछि ‘कोसा नोस्ट्रा’को ‘हेड’ भएका ‘सिलिकन माफिया बोस’ हुन् ‘डेनारो’ । ‘रेबन्स’ चस्माको पागलपनकै हदको प्रेमीको रुपमा हेरिएका चिरपरिचित ‘प्लेबोए’ ‘डेनारो’ सन् २००३ देखि कानूनहरुसँग बच्दै भाग्दै हिँडेका छन् ।

५) अलिम्ज्हान टोख्टाखोउनोभ
‘उज्बेग मोब्स्टर टोख्टाखोउनोभ’ ‘फोर्ब्स’को लिस्टमा पाँचौं स्थानमा छन् । उज्बेगलगायत वरपरका विशाल अपराधिक गतिविधिहरुलाई आफ्नो नियन्त्रणमा राख्ने ‘टोख्टाखोउनोभ’माथि, सन् २००२ को ‘विन्टर ओलम्पिक्स’मा ‘रसियन स्केटिङ टिम’लाई जिताउनका लागि निर्णायकहरुलाई किनेको भन्ने प्रसिद्ध आरोप अद्यावधि साम्य भएको छैन । सो खेलमा ‘क्यानाडियन’ जोडीले ‘गोल्ड मेडल’ जितेको दर्शकलगायत सबैलाई स्पष्ट थियो ।

अपराधीहरु संसारमा एक जान्छन् अनि त्यसको तुरुन्तै अर्को आउँछन् । सामाजिक स्वरुपमा नै यसले सम्पूर्ण व्यवस्थामा जरो गाडेको हुन्छ । अपराधको उन्मुलन गर्न सकेमात्र अपराधीहरुको सफाया हुने वास्तविकता रहे तापनि कुनै एक ‘मोस्ट वान्टेड’को गिरफ्तारीपछि या मृत्युपछि सम्वद्ध संकाय तथा निकायहरुमा खुशी मनाइने परम्परा आम रुपमा सर्वत्र व्याप्त छ । अहिले चुनावको सन्दर्भमा, अमेरिकी आम रुपको चर्चा भएको छ ओसामा विन लादेनको मृत्यु तर त्यही हालातमा विश्वव्यापी सञ्जाल बनाएर फराकिएको ‘अलकाइदा’को सम्भावित आक्रमण तथा बदलालाई गौण रुपमा हेरिएको लाग्दछ । हुन त भर्खरै ‘अलकाइदा’ले ‘अनवर अल आवलाकी’लाई अर्को नेता चुनिसकेको छ र उक्त नेतृत्वले बदलाको विगुल पनि फुकिसकेका छन् । आस्थामा स्थापित अतिवादबाट संक्रमित समूहहरुलाई साधारणतया अन्य अपराधिक समूहसँग तुलना गर्न पक्कै सकिँदैन । आतंक फैलाउनप्रति प्रतिवद्ध रहने यी अतिवादी समूहलाई मात्र एक मौकामा मात्र ‘लक्की’ (भाग्यमानी) हुन काफी हुन्छ भने आम जिन्दगी बाँच्ने सर्वसाधारणहरुलाई सयौंपटक नै ‘लक्की’ (भाग्यमानी) हुन जरुरी पर्दछ बाँच्नको लागि । ओसामा विन लादेनको मृत्युले पक्कै पनि संसार पहिलेभन्दा सुरक्षित नभएको पक्का छ । अमेरिकालगायत बेलायतमा जनमानस सशंकित रहेका छन् । खासगरी भीडभाडदेखि टाढै बस्नु यो सन्दर्भमा समयसापेक्ष सावधानी हो ।
-श्रोतः नेट, प्रकाश के.सी., वूडग्रीन, लण्डन