राष्ट्रिय सहमतिको सरकारका लागि तयार रहेको एमाले नेताहरुको दाबी

राष्ट्रिय सहमतिको सरकारका लागि तयार रहेको एमाले नेताहरुको दाबी


UML

राष्ट्रिय सहमतिको सरकारका लागि आफ्नो पार्टी सधैँ तयार रहेको सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (एमाले)का नेताहरुल बताएका छन् । पार्टीका विभाग गठनको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एमाले नेताहरुले राष्ट्रिय सहमति मुलुकको अहिलेको आवश्यकता हो भन्दै संविधान कार्यान्वयनका लागि प्रमुख दलबीच साझा समझदारी हुनुपर्नेमा जोड दिए ।

सहमतिमा बन्ने राष्ट्रिय सरकारप्रति आफ्नो पार्टीको सहमति हुने जानकारी दिँदै महासचिव ईश्वर पोखरेलले भने, “सहमति एमाओवादीका अध्यक्षका नाममा पनि हुन सक्छ वा कांग्रेसको तथा एमालेका नेताका नाममा पनि हुन सक्छ ।” सहमतिका लागि अघि बढ्न एमालेमा कुनै द्विविधा नभएकामा जोड दिँदै महासचिव पोखरेलले भद्र सहमतिका बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । “त्यो बैठकमा बस्ने साक्षी हामी पनि हौँ”– उनले भने । “सहमति हुनु मुख्य कुरा हो । कसले नेतृत्व गर्छ त्यो प्रमुख कुरा होइन । सहमतिको प्रयत्नलाई स्वीकार गरेर नयाँ खालको स्थिति आउँछ भने पनि त्यसका लागि छलफल गर्न हामी तयार छौँ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुक संविधान कार्यान्वयनको चरणमा रहेकाले प्रमुख दलकाबीच साझा सहमति आवश्यक रहेको बताए। शान्ति प्रक्रियादेखि संविधान निर्माण प्रक्रियासम्म प्रमुख दलबीच भएको सहमति र साझा समझदारी संविधान कार्यान्वयनमा हुनु आवश्यक रहेकामा जोड दिँदै नेता खनालले भने, “त्यस्तो सहमति हाम्राबीचमा भएकै हो । प्रमुख दल सत्तामा वा प्रतिपक्षमा बसे पनि साझा समझदारी चाहिन्छ ।”

यस्तै, नेकपा (एमाले)का उपाध्यक्ष तथा रक्षामन्त्री भीम रावलले सरकार परिवर्तनमा एमाले नडराउने बताएका छन् । एमाले सिन्धुलीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले एमाले सरकारमा रहेसम्म जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। शान्ति सुरक्षालाई मजबुद बनाउन अहिले सरकारले सुरक्षा नीति बनाएको बताउँदै रक्षामन्त्री रावलले नेपाली जनताले समृद्धि चाहेको र जनताको चाहना संस्थागत गर्न अहिलेको सरकार जोडदारका साथ लागिपरेको दाबी गरे ।

सिन्धुलीमा पीडित छुटेका र गैरभूकम्पपीडित घुसेकामा यसलाई छानबिन गर्ने जनाउँदै रक्षामन्त्री रावलले स्थानीय निकायको चुनाव मङ्सिरमा जसरी पनि हुने दाबी पनि गरे । उनले अरु दलले भनेजस्तो नेपाल र विदेशी राष्ट्रसँगको सम्बन्धमा कुनै कमी नआएकोसमेत बताए ।