अम्बरको महाप्रस्थान

अम्बरको महाप्रस्थान


Ambar

नेपालको राष्ट्रिय गानका सङ्गीत–स्रष्टासमेत रहनुभएका वरिष्ठ सङीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन भएको छ । भोजन नली, मधुमेह, रक्तचापलगायत समस्याका कारण केही महिनायता अस्वस्थ रहनुभएका गुरुङको भारतको मेदान्त अस्पताल र पछिल्लो चरणमा काठमाडौंस्थित ग्रान्डी अस्पतालमा चलिरहेको थियो । उपचारकै क्रममा हिजो मङ्गलबार बिहान उहाँको देहावसान भएको हो ।

नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति गुरुङले करिब हजार गीतमा सङ्गीत भर्नुभएको छ भने ६/७ सय गीत उहाँकै शब्द र स्वरमा रहेका छन् । ‘नौ लाख तारा उदाए…, ‘म अम्बर हुँ, तिमी धर्ती…’ ‘रातो र चन्द्रसूर्य’ जस्ता कालजयी गीतका कारण अमर बन्नुभएका अम्बर गुरुङको जन्म वि.सं. १९९४ फागुन १४ गते भारतको दार्जलिङमा भएको थियो । उहाँको पुख्र्यौली थलो भने गोर्खा हो । प्रवासमा जन्मेर पनि नेपाल आई अम्बर गुरुङले नेपाली गीतसङ्गीतमा महान् योगदान गर्नुभयो । ०२४ सालमा नेपाल आउनुभएका गुरुङले ०२६ सालदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गर्नुभएको थियो । उहाँ ०२७ सालमा गोरखा दक्षिण बाहुले विभूषित हुनुभएको थियो । ‘मेरो देश’, ‘सपना कतिपय’, ‘मनको बाँध’, ‘जीवन रेखा’ आदि नेपाली चलचित्रमाका साथै उहाँले ‘फर्केर हेर्दा’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’लगायतमा पनि सङ्गीत प्रदान गर्नुभएको छ । उहाँ गीत, सङ्गीत र गायन तीनै विधामा पोख्त हुनुहुन्थ्यो । नेपाल सरकारले उहाँलाई नेपाली सेनाको मानार्थ महासेनानीबाट सम्मान गरेको थियो ।

स्वर्गीय अम्बर गुरुङको निधनमा शोक विज्ञप्ति प्रकाशित गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङको निधनबाट राष्ट्रले हजारौँ गीतका एक वरिष्ठ सङ्गीतकार गुमाएको, गीत–सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको र यो क्षेत्र अभिभावकविहीन बन्न पुगेको उल्लेख गर्नुभएको छ । यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि विज्ञप्तिमार्फत् शोक व्यक्त गर्नुभएको छ ।