धुम्रपान नियन्त्रण गरेको थापा सम्मानित

धुम्रपान नियन्त्रण गरेको थापा सम्मानित


26 Bikram

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विक्रमसिंह थापा राजधानीमा आयोजित एक विशेष कार्यक्रममा सम्मानित भएका छन् । धुम्रपान नियन्त्रणमा प्रशंसनीय कार्य गरेको भन्दै एसएसपी थापालाई स्वास्थ्यमन्त्री रामजनम चौधरीले सम्मानपत्र प्रदान गरेका हुन् । विश्व धुम्रपानरहित दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्थाले एसएसपी थापालाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री चौधरीले अख्तियारप्राप्त व्यक्तिले इमानदारीसाथ प्रयत्न गर्‍यो भने जस्तोसुकै नियम पनि कार्यान्वयन गराउन सक्छ भन्ने उदाहरण एसएसपी विक्रमसिंह थापाले दर्शाएको बताए । सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेधको व्यवस्था गरेअनुसार एसएसपी थापाले अभियान चलाएको मन्त्री चौधरीले जानकारी दिए । सोही अवसरमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रदीप वैद्यले धुम्रपानका कारण क्यान्सर लागेर वर्षेनी सयौँ मानिसको मृत्यु भएको र त्यही हाराहारीमा अस्पतालका ढोका चहार्नेको सङ्ख्या बढेकाले राज्यले कडा कानुन बनाएर धुम्रपानविरोधी अभियान चलाउनुपर्ने धारणा राखे । डा. वैद्यले पनि विक्रमसिंह थापाको प्रशंसा गर्दै उनलाई एक जिम्मेवार नागरिक र कर्तव्यपालक राष्ट्रसेवकको उपाधि दिए । यसैगरी, डा. राजेन्द्र बरालले प्रहरीले शान्तिसुरक्षाको मात्र होइन स्वास्थ्यसुरक्षाको पनि काम गर्छ भन्ने सूचना एसएसपी थापाले प्रवाह गरेको बताए भने सम्मानित भएका थापाले कापीकलम समाउने कलिला बालबालिकाको हातमा चुरोट देखेको र त्यसबाट सुरु भएको उसको जीवन पछि लागुऔषध सेवनकर्तामा परिणत भई तहसनहस भएको आफूले कर्तव्य निर्वाहका क्रममा पाएबाट कुनै पनि युवा कुलतमा युवा नफसुन् भनेर आफूले अभियान चलाएको प्रस्ट्याए ।

नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा एसएसपी थापालाई दिइएको सम्मानपत्रमा ‘सुर्तीजन्य पदार्थ नियन्त्रण, नियमन ऐनको कार्यान्वयन गराउन सार्वजनिक स्थलमा अटेर गरी सेवन गर्नेहरूलाई जरिवाना गरी सुर्तीजन्य पदार्थमुक्त सार्वजनिक स्थल बनाउन पुर्‍याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको’ जनाइएको छ ।