गैंडा बचेको खुशीमा विशेष कार्यक्रम

गैंडा बचेको खुशीमा विशेष कार्यक्रम


26 CNC

चितवन राष्ट्रिय निकुञ्जले गैंडा चोरी–सिकारको शून्य दुईवर्षे उपलब्धि एक विशेष कार्यक्रमसमेत आयोजना गरी मनाएको छ । कुनै बेला वर्षमै तीन दर्जनभन्दा बढी गैँडा सिकार हुने गरेकोमा पछिल्लो दुई वर्ष अवधिमा एउटै गैंडाको हत्या नभएको भन्दै निकुञ्जद्वारा खुशी मनाइएको हो ।
दुईवर्षे शून्य चोरी सिकारको ‘दुर्लभ उपलब्धि’ मनाउन निकुञ्जद्वारा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानसेनापति राजेन्द्र क्षत्रीसमेत गत आइतबार चितवन पुग्नुभएको थियो । सो अवसरमा उहाँले वन तथा वन्यजन्तु संरक्षणका लागि असरदार गतिविधि सञ्चालन गर्न चितवन राष्ट्रिय निकुञ्जमा स्थापित ‘संयुक्त संरक्षण कारबाही कक्ष’को समुद्घाटन गर्नुभयो । कार्यक्रमको क्रममा उहाँले केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिद्वारा प्रदर्शन गरिएको प्रकृति संरक्षणसम्बन्धी डकुमेन्ट्री एवम् नाटकको अवलोकन गर्नुका साथै प्रकृति संरक्षणमा विशेष योगदान पुर्‍याउनेरूलाई प्रमाणपत्र तथा कदरपत्र प्रदान गर्नुभएको थियो ।

प्रधानसेनापति क्षत्रीले वन्यजन्तुपीडित निकुञ्ज कर्मचारी तथा मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाका सन्ततिहरूलाई छात्रवृत्तिसमेत वितरण गर्नुभयो भने जीवनभर प्रकृति संरक्षणमा विशेष योगदान पुर्‍याउँदै आएका रामप्रित यादवलाई ‘लाइफ टाइम कन्जभेसन एचिभमेन्ट अवार्ड’द्वारा सुशोभित गर्नुभएको थियो । संरक्षण कार्यलाई थप असरदार बनाउन नेपाली सेनालाई प्रविधियुक्त गर्दै लगिने र नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जद्वारा स्थापित ‘संयुक्त संरक्षण कारबाही कक्ष’ वन तथा वन्यजन्तु संरक्षणका लागि असरदार गतिविधि सञ्चालन गर्न ज्यादै प्रभावकारी हुने उहाँको कथन थियो ।
यसअघि प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको छाउनीस्थित हवाई सुरक्षा निर्देशनालयअन्तर्गतका फौजद्वारा धनुषा जिल्लाको भिमानस्थित आर्टिलरी फायरिङ रेञ्ज इलाकामा सञ्चालन भइरहेको अभ्यास हवाईप्रतिरक्षा एक फिल्ड फायरिङको निरीक्षण गर्नुभएको थियो ।