‘भद्र सहमति’ले डोर्‍याएको बाटो

‘भद्र सहमति’ले डोर्‍याएको बाटो


‘भद्र’ ढङ्गले कुनै सहमति भए पनि पालना गर्नेले ‘अभद्रता’ प्रकट गरिदिन्छ भने त्यस्तो सहमतिको कुनै तुक रहँदैन । ओलीजस्ता अवसरपरस्त एवम् कुटिल राजनीतिकर्मीका हकमा पनि यही मान्यता लागू हुनु अनौठो कुरा होइन । त्यसमाथि कथित सहमतिसँग जोडिएका दोस्रा प्रमुख पात्र पुष्पकमल नै यतिबेला हतप्रभ देखिएका छन् । नचाहेर पनि ओलीसँग गला जोड्नु उनको बाध्यता देखिन्छ । ‘ओलीसँग तोडौँ त कोसँग जोडौँ ?’ भन्ने मानसिकताबाट ग्रसित दाहाल नै ‘भद्र सहमति’को बोली प्रस्टसँग उच्चारण गर्न नसक्ने अवस्थामा देखिएबाट सहमतिको यो राग अब वैरागमा रूपान्तरण हुन पुगेको छ ।

निकै वर्षदेखि ‘भद्रगोल’ शैलीमा चलेको मुलुकको राजनीतिमा यतिबेला ‘भद्र सहमति’को चर्चा चुलिएको छ । एमाले अध्यक्ष खड्गप्रसाद ओलीको सरकार सञ्चालन गर्ने शैलीप्रति असन्तुष्ट भई सत्ता–साझेदार ‘एमाओवादी केन्द्र’का प्रमुख पुष्पकमल दाहालले नेपाली काङ्ग्रेसको समर्थन लिई आफैँ प्रधानमन्त्री बन्ने अग्रसरता देखाएपछि अत्तालिएका ओलीले कुर्सी बचाउनका लागि ‘बजेट सार्वजनिक गरेलगत्तै सत्ताको नेतृत्व हस्तान्तरण गर्ने’ भनी पुष्पकमल दाहालसँग गरेको कथित सहमतिलाई भद्र सहमतिको रूपमा प्रचारमा ल्याइएको हो । सहमतिबारे सुरुमा माओवादी नेतृत्वबाट सार्वजनिक गरिए पनि पछि आएर एमालेका वरिष्ठ नेताहरूले नै यसको बढ्ता वकालत गरेको पाइयो, जसले गर्दा भद्र सहमतिप्रति आमतहमा चासो र विश्वास बढ्न पुग्यो । त्यसो त, बजेटलगत्तै प्रधानमन्त्रीबाट राजीनामा दिने भनी प्रतिबद्धता जनाइएको स्वीकारोक्तिसहित लगातार सार्वजनिक अभिव्यक्ति दिने वरिष्ठ एमाले नेताका स्वर केही दिनयता मलिन बनेको अनुभूति गरिएको छ, तथापि अनौपचारिक अवसरमा भने ‘भद्र सहमति भएको र सोबमोजिम प्रधानमन्त्री ओलीले बोली पूरा गरी देखाउनुपर्ने’ आसय प्रकट गर्न ती चुक्दैनन् । ‘मन्त्री’को भूमिकामा रहेकाबाहेक माओवादी र एमालेकै पनि नेतृत्व तहका अधिकांशकै बोली मिलेको छ कि ओली सरकारले भूकम्पपछिको पुनर्निर्माण, तराई–मधेसमा देखिएको असन्तुष्टिको सम्बोधन, नाकाबन्दीका कारण असहज बनेको जनजीवनलाई सहज बनाउने तथा संविधान कार्यान्वयनको कार्यभार पूरा गर्न नसकेको हुँदा राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि ओलीले मार्ग प्रशस्त गरिदिनु उपयुक्त हुन्छ ।

तर, यस्ता तर्क या अभिव्यक्तिभित्र शतप्रतिशत अर्घेल्याइँले बास गरेको दाबी गर्छन् प्रधानमन्त्री ओली । आफू नेपाली जनतामा निकै लोकप्रिय रहेको, जनतालाई समृद्धिको सपना देखाउन अभूतपूर्व रूपमा आफू सफल भएको र यसैबाट अत्तालिएर विरोधीले ‘भद्र सहमति’को चर्चा चुल्याएको उनको तर्क छ । झट्ट सुन्दा यसमा केही ‘दम’ पनि छ । किनकि, सर्वसाधारणदेखि सचेत नागरिकको एउटा खास तप्का प्रधानमन्त्री ओलीको ‘फण्डा’प्रति बत्तीमा पुतलीजत्तिकै आकर्षित देखिएको छ । खड्ग ओलीद्वारा छद्म शैलीमा छरिएको उग्र राष्ट्रवादको गर्जनमा भ्रमित जनसाधारणले स्वावलम्बन, देशभक्ति र उज्यालो भविष्यको साक्षात् दर्शन पाएका छन् । नागरिक तप्कामा पैदा भएको यही भ्रमको पर्खालमा आड लिएर ओलीले छताछुल्ल पेट्रोल र ग्यास बाँडेका छन्, लोडसेडिङमुक्त बिजुलीको उज्यालो चम्काएका छन्, रेल र पानीजहाजमा नेपाली जनतालाई सुखद सयर गराएका छन् । भ्रम बाँड्ने उनको शैली यस्तो छ कि गरिबी, असुरक्षा, अभाव र महँगीजस्ता दुरावस्थाको बोझले थिचिएका नागरिक सबै कष्ट बिर्सेर ‘स्वप्न गगन विचरण’मै निमग्न रहन पुगेका छन् । यही विडम्बनाकारी परिवेशले ओलीलाई रोमाञ्चित तुल्याएको छ । उखानतुक्काकै भरमा अझै एक–डेढ वर्ष धानिने विश्वास उनमा यसैले जगाएको महसुस गर्न सकिन्छ ।

यस परिवेशमा कथित भद्र सहमतिलाई जति महत्त्व दिएर उछालिँदै छ, यो निरर्थक रहेकोमा अब सन्देह गरिरहनु आवश्यक छैन । किनकि, यदि ‘भद्र’ ढङ्गले कुनै सहमति भए पनि पालना गर्नेले ‘अभद्रता’ प्रकट गरिदिन्छ भने त्यस्तो सहमतिको कुनै तुक रहँदैन । ओलीजस्ता अवसरपरस्त एवम् कुटिल राजनीतिकर्मीका हकमा पनि यही मान्यता लागू हुनु अनौठो कुरा होइन । त्यसमाथि कथित सहमतिसँग जोडिएका दोस्रा प्रमुख पात्र पुष्पकमल नै यतिबेला हतप्रभ देखिएका छन् । नचाहेर पनि ओलीसँग गला जोड्नु उनको बाध्यता देखिन्छ । ‘ओलीसँग तोडौँ त कोसँग जोडौँ ?’ भन्ने मानसिकताबाट ग्रसित दाहाल नै ‘भद्र सहमति’को बोली प्रस्टसँग उच्चारण गर्न नसक्ने अवस्थामा देखिएबाट सहमतिको यो राग अब वैरागमा रूपान्तरण हुन पुगेको छ । सबै जान्दछन् र मान्दछन् पनि कि मुलुक जुन खालको अप्ठ्यारोमा फसेको छ, यसबाट उम्कने सार्थक प्रयत्नका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक छ । यो पनि प्रस्टिसकेकै छ कि खड्गप्रसाद ओलीको अगुवाइमा त्यस्तो सहमति जुट्नेवाला छैन । तर, सहमतिको सरकार निर्माण गरिदेखाउने सुस्पष्ट ल्याकत पनि तत्काल कसैसँग देखिँदैन । यस हिसाबले मुलुक ‘भद्र सहमति’को कोकोहोलो गर्दै अझै भद्रगोल दिशातर्फ उन्मुख रहन अभिशप्त देखिँदै छ । कामले सिन्को नभाँची गफैले स्वर्ग देखाइदिने ‘नेतृत्व’सँगै लठ्ठिएर सुखी, समृद्ध र सुन्दर भविष्य भेट्न तमाम नेपालीजन घिस्रिरहनु यतिबेलाको नियति बन्न पुगेको छ ।

ghatana