उपेन्द्रले दिए विद्रोहको चेतावनी, अनसनकारीलाई गुलाफको फूल

उपेन्द्रले दिए विद्रोहको चेतावनी, अनसनकारीलाई गुलाफको फूल


Rile Ansan

संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले जनताको धैर्यता टुटे विद्रोह हुने निश्चित रहेको चेतावनी दिएका छन् । उनले जनताको अधिकार सुनिश्चित हुनेगरि संविधान पुनर्लेखन नभए मुलुकमा विद्रोह हुने भन्दै सरकारलाई सचेत गराएका छन् । अन्तरिम संविधानले दिएको अधिकार पनि खोसिएको जिकिर गर्दै संयोजक यादवले जनताको धैर्यता टुटे विद्रोह निश्चित भएको चेतावनी दिए ।

खुलामञ्चमा रिले अनसनमा बसेका यादवले मुलुकको यो दुर्दशा हुनुमा सरकारको नश्लवादी चिन्तन मुख्य दोषी रहेको आरोप लगाए । संघीय गठबन्धनले खुला मञ्चमा मंगलबारदेखि थालेको रिले अनसन स्थलमा पत्रकारहरुसँग कुरा गर्दै यादवले उत्पीडित जनताको भावनासँग खेलवाड नगर्न सरकारलाई सुझाव दिए । ‘मुलुकमा लोकतन्त्र हराएको छ । सरकारमा तस्कर र भ्रष्टाचारी हावी छन् । देश यसरी चल्दैन,’– यादवले भने । प्रधानमन्त्री केपी ओलीको नश्लवादी चिन्तनले मुलुक ध्वस्त भइरहेको यादवको आरोप छ । ‘हामी मुलुकलाई जोड्न चाहन्छौं, यो आन्दोलन त्यसकै लागि हो,’ संघीय समाजवादी फोरम नेपालको अध्यक्ष समेत रहेका यादवले भने ।

अनसनकारीहरुलाई गुलाफको फुल
Ahiraj
यसैक्रममा नेपाली जनताको जनजीवन र मुलुकका अन्य कुनै गतिविधिलाई अवरोध उत्पन्न गरी संघीय गठबन्धनका नेताहरुले थालेको रिले अनसनप्रति समर्थन जनाउँदै मधेश मिडिया हाउसका अध्यक्ष डा. राजेश अहिराजले मंगलबार अनसनस्थलमा पुगी गठबन्धनको सो सत्याग्रह आन्दोलनलाई सराहना गर्दै समर्थन जनाएका हुन् । गुलाफको फुल दिएर अनसनकारीहरुको आन्दोलनप्रति समर्थन जनाएको उनले बताए । जायज मुद्दालाई उठान गर्न नेतृत्वपंक्तिले थाल्ने जुनसुकै सत्याग्रही आन्दोलनलाई सम्पूर्ण बौद्धिक जमातले सहयोग र समर्थन गर्नुपर्ने विचार राख्दै डा. अहिराजले भने, ‘बल्ल हाम्रा नेताहरु देश जनतालाई कष्ट नदिएर नयाँ किसिमको आन्दोलनको थालनी गरेका छन् । वास्तवमा नेताहरुले सत्याग्रह आन्दोलन, अवज्ञा आन्दोलन, अनसन र अन्य भद्र किसिमका दबाबपूर्ण आन्दोलनका कार्यक्रमहरु गर्दै जानुपर्छ ।’ नेतृत्वपंक्तिको यस्तो निर्णयले मुद्दा र नेताको उचाई बढाएको छ भने राज्यमाथि दबाब पनि उतिकै मात्रामा दिएको छ । नेपाललाई रंगभेद र विभेदबाट मुक्त गर्न थालिने जुनसुकै भद्र आन्दोलनलाई हामी सबै सरोकारवालाहरुले सद्भाव, समर्थन र सहयोग बढाउँदै जानुपर्छ ।