क–कसले पाए नयाँ शक्तिको निम्ता ?

क–कसले पाए नयाँ शक्तिको निम्ता ?


Purna Mishra

नयाँशक्ति नेपालले जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा हुने पार्टी घोषणामा देश तथा विदेशबाट नयाँ शक्तिका संस्थापक र अतिथिहरु सहभागी हुने भएका छन् । एक लाखभन्दा बढी पार्टी सदस्यलाई संस्थापक सदस्य बनाएर घोषणा गर्न लागेको नेपालमा यो पहिलो पार्टी भएको दाबी गरिएको छ ।

नयाँ शक्ति नेपालका प्रवक्ता एवं प्रचार–प्रसार उपसमितिका संयोजक खिमलाल देवकोटाले दिएको जानकारीअनुसार पार्टी घोषणामा देश तथा विदेशका नयाँ शक्तिका संस्थापकहरु सहभागी हुने छन् । देशका ७५ जिल्ला र विदेशका २४ देशमा नयाँ शक्तिको अन्तरिम पार्टी कमिटी छ । घोषणासभामा विदेशका सबै कमिटीबाट सहभागिता रहने प्रवक्ता देवकोटाको बताए ।

देवकोटाका अनुसार पार्टी स्थापना तथा घोषणासभामा नयाँशक्तिले विभिन्न २५ देशका राजदूत तथा कुटनीतिक नियोगलाई निम्ता पठाएइको छ । त्यसैगरी देशका सबै राजनीतिक पार्टीका प्रमुख नेता र सांसदलाई समेत निम्ता गरिएको बताइएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपासहित सबै मधेसी दललाई निम्ता पठाइसकिएको नयाँशक्तिले जनाएको छ । यसैगरी पत्रकार, मानवअधिकारवादी, नागरिक समाजलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई पनि निम्ता गरिएको छ ।

रंगशालामा आयोजना हुने पार्टी घोषणा कार्यक्रममा सहभागी हुन काठमाडौंका ४ मुख्य ठाउँबाट सहभागीलाई रंगशाला पठाउने व्यवस्था समेत सो पार्टीले मिलाएको छ । जसअनुसार कुपण्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट झाँकीसहितको जुलुस रंगशाला प्रवेश गर्नेछ । राजधानीबाहिरबाट आउने सहभागीले आफैं गाडीको व्यवस्था गरेर आएको खण्डमा ती बसहरु जुलुस सुरु हुने स्थानसम्म जान दिनेगरी ट्राफिक प्रहरीसँग समन्वय भैरहेको पनि उक्त पार्टीले जनाएको छ । त्यसका लागि ट्राफिक प्रहरीलाई सहयोग गर्न नयाँशक्तिले आफैं सडकमा खटिने युवा स्वयंसेवी तयार पारेको छ ।

प्रवक्ता देवकोटाकाअनुसार नयाँशक्तिको पार्टी घोषणामा मञ्चमा बस्ने व्यवस्था पाँच सय जनालाई मिलाइएको छ । तर शुभकामना भने प्रतिनिधिमुलक ढंगले लिइने जनाइएको छ । कार्यक्रमको प्रचारप्रसारको लागि देश तथा विदेशका सञ्चारमाध्यममा आवद्ध तीन सयभन्दा बढी सञ्चारकर्मीलाई पासको व्यवस्था मिलाइएको र छिटो समाचार पठाउन आवश्यकलाई ध्यानमा राखेर मिडिया सेण्टरसमेत रहने प्रचार–प्रसार उपसमितिले जनाएको छ ।

१५ सय प्रतिनिधिलाई बिर्यानी खुवाउने नयाँ शक्तिको तयारी
नयाँ शक्ति नेपालले पार्टी घोषणा राष्ट्रिय भेलामा सहभागी हुनआउने प्रतिनिधिहरुलाई बिरयानी खुवाउने भएको छ । राष्ट्रिय भेलाको लागि गठित प्रतिनिधि आवास व्यवस्थापन उपसमितिकी संयोजक बलावती शर्माका अनुसार छलफल सत्रका करिब १ हजार ५ सय प्रतिनिधिलाई नयाँ परिकार बिर्यानी खुवाउने तयारी गरिएको छ । पार्टीको दुई दिने छलफल सभामा सहभागी प्रतिनिधिलाई स्वास्थ्य र ताजा खानासहित उचित आवासको व्यवस्था गरिएको शर्माले स्पष्ट पारिन् ।

‘करीब सात सय प्रतिनिधिलाई ३०, ३१ र ३२ गते तीन दिनको लागि उपत्यकाका विभिन्न क्षेत्रमा स्वच्छ र सफा आवासको व्यवस्था छ,’ शर्माले भनिन् । पार्टी स्थापना राष्ट्रिय भेला घोषणासभा जेठ ३० गते दशरथ रंगशालामा हुनेछ र नेपाल प्रज्ञा प्रतिष्ठानमा जेठ ३१ र ३२ गते नयाँशक्ति नेपालको दुई दिनसम्म छलफल सत्र चल्नेछ । घोषणासभामा पर्यवेक्षक नरहने शर्माले बताइन् ।