विप्लव माओवादीद्वारा आगजनी

विप्लव माओवादीद्वारा आगजनी


biplob-

भूकम्पपछिको प्रतिकार्यका लागि नुवाकोट आएको वल्र्ड भिजन इन्टरनेसनल नेपालको जिल्ला कार्यालयमा शनिबार राति आगजनी भएको छ । गएराति १२ः३० बजे तीन जनाको समूहले विदुर नगरपालिका वडा नं ४ बट्टारमा रहेको वल्र्ड भिजनको कार्यालय परिसरमा रहेको गाडीमा आगो लगाएका थिए । आगजनीको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको छ ।

प्रत्यक्षदर्शी संस्थाका सुरक्षाकर्मी तुलबहादुर प्याकुरेललाई उद्धृत गर्दै राससले जनाएअनुसार गेटपट्टिबाटै भित्र छिरेका तीन जनाले उनलाई धम्याएर गाडीमा आगो लगाई गेटै खोलेर भागेका थिए । आफूहरु विप्लव माओवादीको कार्यकर्ता भएको बताउनेहरुले गाडीमा आगो सल्काएपछि हल्ला गरेमा मार्ने धम्की दिएको प्याकुरेलले बताएका छन् ।

गाडीमा करिब ४५ मिनेट आगो लागेपछि मात्रै नियन्त्रणमा लिइएको छिमेकी शिवप्रसाद अधिकारीको कथन छ । बलिरहेको गाडीको आगोको राप घरको तेस्रो तलामा पुगेपछि उनीहरुले पछाडिको भागमा डोरी लगाएर बलिरहेको गाडी गेटबाट बाहिर पु¥याएका थिए । त्यसपछि घटनास्थलमा पुगेको दमकलले गाडी र घरमा लागेको आगो नियन्त्रणमा लिएको थियो ।

गाडीमा लागेको आगो घरमा सल्किँदा झ्याल तथा घरको बाहिरी भाग जलेको छ । कार्यालयको कागजात र सामग्री सुरक्षित रहेको वल्र्ड भिजनका देवेन्द्रप्रसाद गुरुङले बताए ।

दोस्रो तथा तेस्रो तलामा रहेका मानिसलाई छतमा भ¥याङ राखेर प्रहरी र छिमेकीले अर्को घरको छतमा निकालेर उद्धार गरेका थिए । घरधनी कृष्णप्रसाद अधिकारीका अनुसार तल्लो तलामा गाडीबाट आगो घरमा सल्किएपछि माथि रहेका परिवारका सदस्यलाई एक घन्टापछि मात्रै उद्धार गर्न सकिएको थियो ।

आइतबार बिहान सञ्चारमाध्यमसँग सम्पर्कमा आएका विप्लव नेतृत्वको नेकपा माओवादी नुवाकोटका एक नेताले उक्त आक्रमणको जिम्मेवारी आफ्नो पार्टीले लिएको तर कारणका बारेमा भने केही नभनिएको बताइएको छ ।