भारतसँगको सम्बन्ध अतुलनीय रहेको थापाको भनाई

भारतसँगको सम्बन्ध अतुलनीय रहेको थापाको भनाई


Sushma-Kamal Thapa

नेपाल र भारतबीचको सम्बन्ध सुदृढ हुँदै गएको उपप्रधानमन्त्री कमल थापाले बताएका छन् । नेपाल र भारतबीचको सम्बन्ध अत्यन्तै विशिष्ट खालको भएकोले अरुसँग तुलना गर्न नसकिने परराष्ट्रमन्त्रीसमेत रहेका थापाको भनाई छ । दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिएर भारतको नयाँदिल्लीबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री थापाले नेपाल र भारतबीचको सम्बन्ध सुदृढ हुन थालेको दाबी गरे ।

दुई देशबीचको सम्बन्धमा तिक्तता र असमझदारी छ भनेर चर्चा र आशङ्का गरिए पनि यथार्थमा त्यो सही होइन होइन भन्दै परराष्ट्रमन्त्रीले दुई देशबीचको सम्बन्धमा कहीँ कतै अवरोध नदेखिएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो भारत भ्रमणपछि सबै असमझदारी हटेर आपूर्ति व्यवस्थामा सहज भएको, सम्बन्धमा अत्यन्त हार्दिकता दृष्टिकोण कायम भएको तथा भ्रमणको आदानप्रदान भइरहेको उनको भनाइ थियो ।

नेपालको संविधानमा सबैको स्वामित्व कायम हुन सकोस्, नेपालमा शान्ति, स्थायित्व र प्रजातन्त्र बलियो हुन सकोस् भन्ने भारतीय पक्षको चासो र चिन्ता रहेको बताउँदै परराष्ट्रमन्त्री थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षमा समीक्षा भएको जानकारी दिए। उनले भने – “अहिले दुवै देशबीचको सम्बन्ध सुमधुर ढङ्गबाट अघि बढेकामा दुबै पक्षबाट सन्तोष व्यक्त गरिएको छ ।”

नेपालले संविधान निर्माणपछि आर्थिक विकासमा जोड दिएकाले भारतसँगको सम्बन्धलाई अझ विशेष महत्व दिइएको बताउँदै उपप्रधानमन्त्री थापाले नेपालले आफ्नो विकास र समृद्धिको लक्ष्य हासिल गर्न दुवै छिमेकीसँग असल सम्बन्ध कायम राख्दै छिमेकीले गरेको तीव्र आर्थिक विकासबाट फाइदा लिने रणनीतिका साथ सम्बन्ध विस्तार गर्न खोजेको छ भने । नेपाल र भारतबीच आगामी जुलाइभित्र १३ वटा द्विपक्षीय बैठक तथा आगामी अक्टोबरमा संयुक्त संयन्त्रको अर्को बैठक बस्ने तयारी गरिएको मन्त्री थापाले जानकारी दिए ।

यसैक्रममा उच्चस्तरमा हुने भ्रमणको महत्वलाई दृष्टिगत गरी अझ सामीप्यता कायम गर्न दुवै मुलुकका राष्ट्रपतिको भ्रमणको तयारी कूटनीतिक माध्यमबाट उपयुक्त समयमा मिलाइने सहमति भएको पनि उनले जानकारी दिए नयाँ दिल्लीमा रहँदा मन्त्री थापा र भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच पनि भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धको वर्तमान अवस्थाका बारेमा छलफल भएको थियो ।