राजदूतद्वारा क्याम्पस भवन शिलान्यास

राजदूतद्वारा क्याम्पस भवन शिलान्यास


Ranjeet Ray 3

स्याङ्जा बयरघारीस्थित श्री भूपू सैनिक सामुदायिक एकेडेमीको विद्यालयका लागि निर्माण हुने भवन र पुतलीबजारस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको नयाँ भवनको शिलान्यास गरिएको छ । मित्रराष्ट्र भारतको सहयोगमा निर्माण हुने दुबै भवनको शिलान्यास नेपालका लागि भारतीय राजदूत रणजित रायले गर्नुभएको हो । उल्लेखित दुई नयाँ भवन निर्माणका लागि भारत सरकारबाट आठ करोड ६० लाखभन्दा बढी आर्थिक सहयोग हासिल हुने सम्झौता भएको छ । भूपू सैनिक सामुदायिक एकेडेमीका लागि चार करोड २० लाख र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको निम्ति चार करोड ४० लाख आर्थिक अनुदान प्राप्त हुने बुझिएको छ ।

भूपू सैनिक एकेडेमी हालसम्म भाडाको घरमा रहँदै आएकाले विभिन्न असुविधा रहेको र आफ्नै नयाँ भवन निर्माणपछि एकेडेमीका सम्पूर्ण क्रियाकलाप सहज हुने सम्बद्ध पक्षले जनाएको छ । यस्तै, सन् १९८० मा स्थापित पोखरा–सुनौली राजमार्गमा अवस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको नयाँ बन्ने भवनले अध्ययन–अध्यापन कार्यमा व्यापक गुणस्तर हासिल हुने अपेक्षा गरिएको छ ।

यसैगरी चार करोड ८८ लाखको भारतीय सहयोगमा निर्माण हुने काठमाडौं, कोटेश्वरस्थित कोटेश्वर बहुमुखी क्याम्पसको समेत राजदूत रायले गत सोमबार विधिविधान (पूजाआजा)सहित शिलान्यास गर्नुभएको छ । सन् १९९० मा स्थापित सो गैरनाफामूलक सामुदायिक क्याम्पसमा करिब दुई हजार छात्रछात्रा अध्ययनरत छन् । भारतको सहयोगमा निर्माण हुने नयाँ क्याम्पस भवनले राम्रो शैक्षिक वातावरण निर्माण हुनेमा सम्बन्धित सबै विश्वस्त छन् ।

333