कांग्रेस संसदीय दलको यस्ता छन् निर्णय

कांग्रेस संसदीय दलको यस्ता छन् निर्णय


नेपाली कांग्रेस संसदीय दलको

जेठ ३२ का दिन सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बंठकले संसदीय दलको सदस्य सचिवमा ध्रुव वाग्ले र कोषाध्यक्षमा मिनाक्षी झालाई चयन गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय जस्ताके तस्तै :

निर्णयहरु :
१. नेपाली कांग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन सहित, २०७२ को धारा १२ को उपधारा (८) बमोजिम सदस्य सचिवमा माननीय ध्रुव वाग्ले र कोषाध्यक्षमा माननीय मिनाक्षी झालाई चयन गर्ने निर्णय गरियो ।

२. भूकम्पपीडित जनताहरुको पुनर्निर्माणको आवश्यकता प्रति यो सरकारको उदासिनता र राजनीतिकरण प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । भूकम्प पिडित जनताका पुनर्निर्माणका आवश्यकता प्रति सरकार केन्द्रीत हुनुको सट्टा गैरसरकारी संस्थाहरु र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई समेत कार्यकर्ता नियुक्तिको अवसरको रुपमा प्रयोग गरिएको छ । भूकम्प पिडितहरुको नामावली समेत राजनीतिक आस्थाका आधारमा हटाउने र राख्ने जस्ता असंवेदनशील काम भएको समेत भूकम्प पिडित जिल्लाहरुबाट सूचना आइरहेको छ ।

सुर्खेत लगायतका विभिन्न ठाउँहरुमा दुई वर्ष अघि गएको बाढिपहिरोबाट पिडित जनताहरुलाई समेत यो सरकारले कुनै सुनुवाई गरेको छैन ।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले भूकम्प पिडितहरुलाई दुई लाख रुपैया अनुदान दिने गरेको निर्णयलाई यो सरकारले अझै कार्यान्वयन गरेको छैन ।
काठमाडौं उपत्यकाका तीन जिल्लाहरु भूकम्पबाट अति प्रभावित जिल्लाहरुमा पर्दछन् । यसका बावजुद यी उपत्यकाका जिल्लाहरुमा भूकम्प पिडितहरुको नामावलीको प्रमाणिकरण समेत भएको छैन ।

पुरातात्विक महत्वका ऐतिहासिक संरचना, स्कुलहरु तथा अन्य सार्वजनिक सेवासँग सम्बन्धित भवनको पुननिर्माण अगाडि बढ्न सकेको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रमुख प्रतिपक्ष दलका नेता उपाध्यक्ष रहने व्यवस्था छ । त्यसका बावजुद प्राधिकरणको नीतिगत निर्णय प्रकृयामा विपक्षी दलको सहभागिता गराइएको छैन । यसरी प्राधिकरणलाई समेत एकलौटी ढंगबाट पार्टीगत स्वार्थका लागि प्रयोग गर्ने काम यो सरकारले गरेको छ ।
यस परिप्रेक्षमा नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति भूकम्प पिडित जनताका सम्बन्धमा संसदीय दलमा छलफल गरी निर्णय गर्न निम्न लिखित प्रस्ताव समेत गर्दछ ।

क) नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले भूकम्प पिडित प्रत्येक परिवारहरुलाई दुई लाख अनुदान दिने निर्णय गरे बमोजिम उक्त अनुदान एकमुष्ठ रुपमा तत्काल उपलब्ध गराउन माग गर्दछ । साथै नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले भूकम्प पिडितहरुलाई सहुलियत ऋण दिने निर्णयलाई समेत तत्काल कार्यान्वयन गर्न माग गर्दछ ।

ख) भूकम्प पिडितहरुको यथार्थ तथ्याङ्कको आधारमा छुटेकाहरुका नामावली तत्काल समावेश गर्न माग गर्दछ ।

ग) राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरसरकारी संस्थाहरुलाई कार्यकर्ता भर्ती गर्ने केन्द्रको रुपमा प्रयोग नगर्न माग गर्दछ ।

घ) उपत्यकाका तीन जिल्लाका भूकम्प पिडितहरुको प्रमाणिकरण तत्काल सम्पन्न गरी पुननिर्माणका आवश्यकताहरु तत्काल पुरा गर्न समेत हामी माग गर्दछौं ।

ङ) पुरातात्विक महत्वका ऐतिहासिक सम्पदा, स्कुलहरु तथा अन्य सार्वजनिक सेवासँग सम्बन्धित संरचनाको पुननिर्माण कार्य तत्काल आगाडि बढाउन माग गर्दछ ।

च) सुर्खेत लगायतका विभिन्न ठाउँहरुमा गएको बाढीपहिरोबाट पिडित जनाहरुलाई पुनर्वास र पुनर्निर्माणको आवश्यकता तत्काल पुरा गर्न समेत हामी सरकारको ध्यानाकर्षण गर्दछौं ।

छ) माथि उल्लेखि भूकम्प पिडित जनताहरुको माग र आवश्यकताहरु पुरा गर्न प्रमुख प्रतिपक्षको हैसियतले संसदमा सशक्त रुपमा प्रस्तुत हुने निर्णय गर्दछ ।