यस्ता पनि सांसद छन् !

यस्ता पनि सांसद छन् !


चन्द्रबहादुर कुँवर

नेपाली काङ्ग्रेसका एक सांसदले आफ्नो हैसियतको दुरुपयोग गरी सबैलाई न्याय दिने सम्मानित अदालतका एक न्यायाधीशको परिवारलाई समेत अन्याय गर्न लागेका छन् । लमजुङबाट प्राप्त समाचारअनुसार त्यसरी अन्यायी भूमिका निर्वाह गर्ने सांसद चन्द्रबहादुर कुँवर हुन् र उनले न्यायाधीश श्रीकृष्ण भट्टराईको परिवारलगायत पच्चीसभन्दा बढी परिवारले परापूर्वकालदेखि प्रयोग गरी आएको कुलो खोसेर आफ्नो खेतमा पानी लैजान सरकारी बजेट पारेपछि त्यसरी अन्याय हुने अवस्था पैदा भएको हो ।

समाचारमा जनाइएअनुसार लमजुङको सुन्दरनगर नगरपालिका वडा नं. ४ स्थित फेदीकुना भन्ने स्थानमा रहेको एक खोल्सीबाट बाँध बनाई २५ भन्दा बढी घरपरिवारले वर्षौं अघिदेखि आफ्ना खेतसम्म पानी पुर्‍याउँदै आएका थिए । खोल्सीमा पानी कम भएकोले करिब एक फिट चौडाइबराबरको कुलोबाट पानी लगेर २५ घरपरिवारले अन्नबाली लगाई जीवन गुजारा गर्दै आएका थिए । तर, उक्त कुलोको पानी सांसद कुँवरको खेतसम्म पुग्न सक्दैनथ्यो र नसक्नुको मूल कारण खोल्सीमा पानीको मात्रा कम हुनु थियो । यसपालि सांसद कुँवरले नक्कली उपभोक्ता समिति निर्माण गरेर अर्काको खेतमा लैजाने गरिएको पानी बेग्लै बाँध बनाएर आफ्नो निजी खेतमा पुर्‍याउन बजेटसमेत पारेको बुझिएको छ । २५ परिवारले परापूर्वकालदेखि प्रयोग गरिआएको कुलो मासेर सांसद कुँवरले आफू, आफ्नो काकाको छोरा बलबहादुर कुँवर र सन्तबहादुरसमेत गरी जम्मा तीन परिवारको खेतमा पानी पुर्‍याउन रु. दुई लाख ३५ हजार रुपैयाँबराबरको सरकारी बजेट पारेका हुन् ।

जनतालाई क्षति पुर्‍याएर आफ्नो निजी खेतमा पानी लैजान कुँवरले ‘भुतिया मुहान–कान्लेखेत’ सिँचाइको नाममा आफ्नो शक्तिको दुरुपयोग गरी बजेट पारेका हुन् । त्यसनिम्ति उनले निरक्षर लक्ष्मीकुमारी डौलियाको सभापतित्वमा भएको भेलाद्वारा गठित भनी एक उपभोक्ता समिति पनि सिँचाइ कार्यालयमा पेस गरेका थिए । जुन समितिमा कतारमा रहेको शत्रुघन डौलिया, प्रहरी सेवामा रही काठमाडौंमा ड्युटी गरिरहेका लक्ष्मण डौलियालगायतको नाम समावेश गरी उनीहरूको किर्ते दस्तखत गरिएको छ । कोषाध्यक्ष बनाइएकी सम्झना अधिकारीले आफ्नो इच्छाविपरीत कोषाध्यक्ष राखिएको भनी सिँचाइ कार्यालयलाई जानकारी गराउँदै समितिमा आफ्नो आबद्धता नरहेको स्पष्ट गरेकी छिन् । त्यस्तै, लक्ष्मी गौडियाले पनि आफ्नो अध्यक्षतामा कुनै समिति गठन नभएको जानकारी गराउँदै छोराहरूको नक्कली सही गर्नेमाथि कारबाहीको माग गरी सिँचाइ कार्यालयमा एक निवेदन दर्ता गराएकी छिन् ।

त्यस्तै सांसदपीडित किसानहरूले पनि सिँचाइ कार्यालयमा सामूहिक निवेदन दिई आफूहरूको जीवन गुजारामा सङ्कट पर्ने गरी मुहान र खेतमा क्षति नपुर्‍याइयोस् भनी माग गरेका छन् । सांसद कुँवरले भने गुण्डासमेत प्रयोग गरी किसानलाई धम्क्याउने गर्दै आएका छन् । न्यायाधीश भट्टराईका वृद्ध पितालाई त कुँवरका दाजु्भाइले हातपातसमेत गर्ने प्रयास गरेका बताइन्छ । जेठ ३० गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी स्वीकृत गराइएको ‘योजना’ किसानको विरोधका कारण निर्धारित मितिभित्र कार्यान्वयनमा आउन नसकेपछि स्वत: खारेज भएको छ । तथापि सांसद कुँवरले जिल्ला सिँचाइ कार्यालय र कोलेनिकालाई दबाब दिई ‘अठार नम्बर’बमोजिमको सम्झौता गर्ने प्रयास गरिरहेका छन् । काम नगरे पनि काम प्रारम्भ भई जारी भएको भन्ने कागज बनाएर अर्को वर्ष निर्माण सुरु गर्ने ध्येयले त्यसप्रकारको सम्झौता गर्न सांसदले दबाब दिन थालेको बुझिएको छ । आफ्नो निजी स्वार्थका लागि सर्वसाधारण जनताविरुद्ध जाने र न्यायमूर्तिलाई समेत बलको आडमा अन्याय गर्न खोज्ने व्यक्ति कसरी जनप्रतिनिधि हुनसके भनी लमजुङवासी यतिबेला चकित परेका छन् ।